श्रुति र सम्बन्ध
काठमाडौँ — भारतीय नायिका/गायिका श्रुति हासनको लभ अफेयरबारे प्रशस्तै हल्ला चल्ने गर्छ । उनको नाम धेरै जनासँग जोडिइसकेको छ । तर, जति गाइँगुइँ भए पनि उनी यसबारे ढुंगा बोल्छ, मान्छे बोल्दैनको स्थितिमा बसिदिन्छिन् ।
अहिले पनि कुरा उस्तै छ । आइतबार ३२ औं जन्मदिन मनाएकी उनी बेलायती अभिनेता माइकल कोर्सेलसँग सम्बन्धमा रहेको बताइन्छ । यद्यपि, उनले हो/होइन बताएकी छैनन् ।
यसपालिको सम्बन्धबारे भारतीय सञ्चारमाध्यमले अलि बढी निश्चितता देखाएका छन् । तिनले श्रुति र माइकलको सेल्फी फेला पार्नुका साथै उनीहरूलाई मुम्बईमा सँगै भेट्टाएका थिए । यति भएपछि के चाहियो, मिडियाले उनीहरूबीच खिचडी पाकेकै हो भनी ठोकुवा गर्न थालेका छन् । माइकल स्वास्थ्योपचारका लागि भारत आएका बेला उनीहरूको घनिष्ठता बढेको थियो । दुईका परिवारले समेत उनीहरूको सम्बन्ध स्विकारेको खबर छ ।
यसअघि श्रुतिलाई अभिनेता सिद्धार्थ, धनुष, विद्युत जामवाल, नागा चैतन्य, गिरीश कुमार र क्रिकेटर सुरेश रैनासँग निकट देखिएको थियो । सुरेशले टवीटरमार्फत त्यो कुरा झुटो भएको बताए पनि उनी मैदानमा
छँदा श्रुतिलाई समर्थकका रूपमा स्टेडियम पुगेको देखिन्थ्यो । रजनीकान्तका ज्वाइँसमेत रहेका धनुषसँग श्रुति नजिकिएपछि लफडा आइलागेको थियो । धनुषले आफूहरूबीच त्यस्तो केही नभएको भन्दै वक्तव्य नै जारी गरे ।
सिद्धार्थसँग त उनी एकताका लिभ–इन रिलेसनसिपमै थिइन् । उनीहरू डेढ वर्ष सँगै बसे । पछि श्रुतिले अर्का अभिनेता नागासँग विवाह गर्ने हल्ला सुनियो । उनीसँग पनि ब्रेकअप भएपछि श्रुति ‘रमैया–वस्तावैया’ एक्टर गिरीशसँग सम्बन्धमा रहेको गाइँगुइँ चल्यो । तर, गिरीशसँगको हल्ला फिल्मको प्रचारका लागि मात्र भएको बताइयो । यत्तिका हल्लाखल्लापछि माइकलसँग चाहिँ श्रुति गम्भीर भएको अड्कल गरिएको छ ।
-एजेन्सी
प्रकाशित : माघ १५, २०७४ ०७:५६