बलिउडका पुनर्मिलन

काठमाडौँ — अभिनेताद्वय अमिताभ बच्चन र शत्रुघ्न सिन्हाबीचको वैमनस्य बलिउडका लागि कुनै बेला नयाँ समाचार पटक्कै थिएन । ‘काला पत्थर’, ‘शान’ जस्ता फिल्ममा एकसाथ काम गरेका उनीहरू ‘दोस्ताना’ निर्माणताका एक–अर्काका वैरी बने । अमिताभले शत्रुघ्नसँग काम नगर्ने घोषणा गरिदिए । त्यसअघि पनि केही फिल्ममा उनीहरूले एक–अर्काको मुखै नहेरी छायांकन गरेका थिए ।

बलिउडका पुनर्मिलन

सन् १९८०/९० को दशकमा पानी बाराबार भएको तिनको सम्बन्ध सधंै तीतो रहेन । बिस्तारै उनीहरूले पुरानो शत्रुता बिर्सिए । सुरुवाती दिनमा झैं अहिले यी ‘दोस्ताना’ जोडी पुन: दोस्त भइसकेका छन् । शत्रुघ्नले आफ्नो बायोपिकमा अमिताभसँगको ‘कोल्ड वार’ बारे बेलीविस्तार लगाएका छन् । ‘त्यो बेला हामी जवान थियौं,’ पुस्तकमा भनिएको छ, ‘स्टारडमले मुग्ध थियौं । हामी साथी थियौं । त्यसैले झगडा गर्ने वा फरक मत राख्ने अधिकार हामीलाई थियो ।’

अभिनेत्री जया प्रदा र श्रीदेवी पनि एकताका दुश्मन बनिवरी पुन: साथीको साइनो गाँसेका जोडी हुन् । आफ्नो जमानाका यी टप हिरोइनबीच २५ वर्षसम्म बोलचाल भएन । फिल्म सेटमा क्यामेरा बन्द हुनासाथ उनीहरू आ–आफ्नो बाटो लाग्थे । राजेश खन्ना र जितेन्द्रले उनीहरूलाई मिलाउन अनेक उपाय अपनाए पनि उनीहरू मरेकाटे बोलेनन् । तर, जयाप्रदाका राजनीतिक मित्र अमर सिंहले आयोजना गरेको पार्टीमा भने दुईबीच बोलचाल भयो ।

निर्माता करण जौहर र काजोलको लडाइँ समाप्त गर्ने जस करणका जुम्ल्याहा सन्तानलाई दिनुपर्छ । उनले ‘सरोगेसी’ का माध्यमले जन्माएका ती बच्चाको तस्बिरमा काजोलले लाइक्स गरेपछि उनीहरूको विवाद अन्त्य भएको बुझियो । उनीहरू २५ वर्षदेखिका साथी थिए । तर, करणको ‘ए दिल है मुश्किल’ र काजोलका पति अजय देवगणको ‘शिवाय’ बीचको बक्स–अफिस भिडन्तले करण–काजोल दुश्मन बन्न पुगे । तर, दुश्मनी लामो रहेन ।

सन् १९९५ को ‘करण अर्जुन’ मा स्क्रिन सेयर गरेका सलमान र शाहरूख खानको सम्बन्ध २००८ मा आएर नराम्ररी बिग्रियो । कट्रिना कैफको बर्थडे पार्टीमा झगडा गरेका उनीहरू करिब चार वर्ष एक–अर्कासँग रिसाए । पछिल्लो समय उनीहरूको ब्रोमान्स फेरि सुचारु भएको छ । दुवै एकसाथ देखिनु सामान्य भइसक्यो भने एक–अर्काका फिल्मको प्रमोसनमा समेत उनीहरू व्यस्त हुन थालेका छन् ।

अस्तिसम्म ‘भाइ–भतिजावाद काण्ड’ लाई लिएर भनाभन गरिरहेका करण जौहर र कंगना रनावत अहिले आफूहरूबीच केही पनि नभएझैं गर्न थालेका छन् । उनीहरू एउटा रियालिटी सोको स्पेसल एपिसोडका लागि एकसाथ छायांकनमा गएको खबर हालै सार्वजनिक भयो । कंगनाले करणकै कार्यक्रममा उनले भाइ–भतिजवादलाई प्रश्रय दिएको बताएपछि उनीहरूको सम्बन्ध आगोको फिलिङगो बनेको थियो । निकै समय त्यसले माहोल ततायो ।

जुही चावला र आमिर खान पनि ‘दोस्त टन्र्ड दुश्मन’ हुँदै पुन: दोस्त बनेका जोडी हुन् । खासमा उनीहरू कट्टर दुश्मनचाहिँ कहिल्यै थिएनन् । आमिरको प्रांकले हैरान भएपछि जुही सुटिङमा गइनन् । उनी सुटिङमा नआएपछि आमिर रिसाए । अनि दुईबीचको बोलचाल यत्तिकैमा टुंगियो । ‘पाँच–छ वर्ष बोलेनौं’, जुहीले एउटा अन्तर्वार्तामा भनेकी छन्, ‘एक दिन म आफैं बोल्न गएँ । आमिरलाई लागेछ म पो रिसाएँ । ऊ त कहिल्यै रिसाएकै थिएन रे ।’

प्रकाशित : माघ १, २०७४ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?