कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राज्जा रानी शुक्रबारदेखि देशभर 

काठमाडौँ — तराईमा विद्यमान दाइजो प्रथा र त्यसका आडमा महिलामाथि हुने गरेको हिंसालाई मुख्य विषय बनाइएको फिल्म ‘राज्जा रानी’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । यम थापाले पहिलो पटक निर्देशकीय पारी सम्हालेको फिल्ममा नाजिर हुसैन र केकी अधिकारी केन्द्रीय भूमिकामा रहेका छन् । पटकथा पनि थापाकै हो ।

राज्जा रानी शुक्रबारदेखि देशभर 

आर्यन फिल्मस्को ब्यानरमा रमेश एमके पौडेलको निर्माण रहेको ‘राज्जा रानी’ ले रिलिजको एक दिन अगावै बुधबार राजधानीको क्युज सिनेमामा प्रिमियर सोसमेत गरेको छ । पूर्वमन्त्री लालबाबु पण्डितसहित फिल्मकर्मी र मिडियाकर्मीलाई आमन्त्रण गरिएको प्रिमियरमा फिल्म हेरेपछि अधिकांशले ‘राज्जा रानी’ टिमलाई बधाइसँगै सफलताको कामना गरेका थिए ।


पूर्वमन्त्री पण्डिले फिल्मले उठान गरेको विषयवस्तु ठीक भएको जिकिर गर्दै भने, ‘परिवर्तनको दिशामा यो फिल्मले सकारात्मक भूमिका खेल्छ भन्ने मैले विश्वास लिएको छु । र, मेरो मान्यता पनि अपराधीहरू दण्डित हुनुपर्छ भन्ने हो ।’ उनले फिल्मका कलाकारको अभिनय पनि मन परेको सुनाए । फिल्मले राजनीतिको आडमा महिलामाथि हुने विभेदको पटाक्षेप गर्ने प्रयास गरेको छ ।


केकी र नाजिरसहित कामेश्वर चौरासिया, संगीता नापित, अनुज पाण्डे, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, सरिता राजोपाध्यायलगायतको अभिनय रहेको फिल्मलाई नेपालीसहित मैथिली भाषामा समेत डबिङ गरेर शुक्रबार नै रिलिज गरिएको छ । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका हुन् । राजेन्द्र थापाको गीतमा दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक...’ बोलको गीत यसअघि नै हिट भइसकेको छ । नरहरि प्रेमी र सुमिना लोको गायन रहेको उक्त गीत युटयुबमा मात्रै झन्डै १३ लाख भ्युज भएको छ ।

प्रकाशित : पुस २१, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?