‘पार्किन्सन्सलाई जित्न हाँसेर काम गर्नुस्’

काठमाडौँ — हाल छायांकन भइरहेको फिल्म ‘शत्रु गते’ मा हास्यकलाकार हरिवंश आचार्यले मदनकृष्णलाई अनौठो भूमिका दिएका छन् । मदनकृष्णले युवतीको कम्मर समाएर नाच्नुपर्ने दृश्य छ । यस्तो अभिनय गर्न मदनकृष्णलाई असहज लाग्छ । तर, हरिवंशले यस्तै रोल दिए ।

‘पार्किन्सन्सलाई जित्न हाँसेर काम गर्नुस्’

पार्किन्सन्सका बिरामी मदनकृष्णसित मुहारमा हाँसो नहुँदा पनि हाँसो निकालेर उमंगका साथ सुटिङ पूरा गरेको अनुभव छ । शरीर कमजोर हुने, अनुहार डाउन हुने, खुसी हराउने पार्किन्सन्स रोगको संकेत हो । ‘पार्किन्सनले हाँस्न दिँदैन,’ एउटा डकुमेन्ट्रीमा उनले भनेका छन्, ‘म चाहिँ हाँसेरै काम गरिरहेको छु ।’

राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा बिहीबार पार्किन्सन्स बिरामीसम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो, जसमा विभिन्न बिरामीमध्ये मदनकृष्णले रोगसम्बन्धी दिएको अनुुभूति संवेदनशील थियो । वनिता खनालले बनाएको ‘लिभिङ विथ पार्किन्सन डिजिज’ डकुमेन्ट्रीलाई सचेतनाका लागि इन्फ्ल्युएन्सर्स नेपालले प्रदर्शन गरेको हो ।

डकुमेन्ट्रीमा पार्किन्सन्सका साहसी बिरामीहरूको अनुभव समेटिएको छ । मदनकृष्णले आफूलाई रोग लागेको सुरुवातदेखि अप्रेसन गरेको अवस्थासम्मका कथाव्यथा सुनाएका छन् । उनले पार्किन्सन्सका बिरामीलाई चिन्तित नभई आत्मविश्वासका साथ काममा सक्रिय हुन सुझाएका पनि छन् । अप्रेसनपछि नै उनले आत्मकथा ‘महको म’ प्रकाशन गरेको र कार्यक्रमका लागि युरोप, अमेरिका लगायत डुलेको अनुभव अर्थपूर्ण लाग्छ । पार्किन्सन्सले कमजोर अनुभूति गराए पनि आफू चाहिँ आत्मविश्वास बढाएर काममा निरन्तर लागेको उनले अनुभव थियो ।

पार्किन्सन्सका प्रेरक बिरामीमध्ये तिलकबहादुर सापकोटा पनि हुन् । छ वर्षदेखि रोगले ग्रस्त उनी होटल म्यानेजमेन्ट पढाउँछन् । उनी दैनिक एक घण्टा बिहानबेलुका व्यायाम गर्छन् । जसरी हुन्छ, आफूलाई काममा व्यस्त राख्छन् । उनको त्यही आत्मविश्वासका कारण स्कुटर चलाएर यात्रासमेत गर्न सक्ने डकुमेन्ट्रीमा खुलाइएको छ । पार्किन्सन्सका रोगीलाई सहानुभूति नभई सहायताको खाँचो रहेको उनले डकुमेन्ट्रीमा बताएका छन् ।

डकुमेन्ट्रीमा पार्किन्सन्स रोग लागेपछि कसरी बलियो बन्ने, समाजमा कसरी स्थापित हुने र डाक्टरको सल्लाहलाई कसरी शिरोपर गर्ने जस्ता महत्त्वपूर्ण सन्दर्भ समेटिएको छ । डकुमेन्ट्रीमा न्युरोलजिस्ट डा. बाबुराम पोखरेलले ६० वर्षभन्दा बढी उमेरका एक प्रतिशत मान्छेलाई पार्किन्सन्स रोग लाग्न सक्ने सम्भावना उल्लेख गरेका छन् ।

प्रकाशित : पुस १४, २०७४ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?