१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सीमामा बलिउड फिल्म सुटिङ

खगेन्द्र अवस्थी

बैतडी — नेपाल–भारत सीमा झुलाघाटमा बलिउड फिल्म ‘सन्दीप और पिंकी फरार’ छायांकनको क्रममा छ । सीमापारिको भारतीय बजार झुलाघाट क्षेत्रमा गत साता सुटिङमा पुगेको टोली आउँदो शुक्रबार (डिसेम्बर २२) मा झुलाघाट पुलमा सुटिङ गर्न आउने तालिका छ ।

सीमामा बलिउड फिल्म सुटिङ

यशराज फिल्म्सको ब्यानरमा दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म नेपाल र भारतको पश्चिमी सीमामा पहिलो पटक सुटिङ हुन लागेको हो । सुटिङ युनिटले पिथौरागढ, झुलाघाट लगायतका क्षेत्रमा एक साता बिताएर सुटिङ गरेको छ । यसअघि फिल्म छायांकनका लागि युनिटले एक महिनासम्म यहाँको भौगोलिक अध्ययन गरेको थियो । दुई सातादेखि उत्तराखण्डका पिथौरागढ र झुलाघाट आसपासमा फिल्म छायांकन हुँदै आएको छ ।


अर्जुन कपुर र परिणीति चोपडा अभिनीत फिल्मको पहिलो सेडयुलको छायांकन दिल्लीमा सकेर गत साता अर्जुन र परिणीतिसहितको टोलीले पिथौरागढ र झुलाघाटमा छायांकन गरेको छ । झुलाघाटको महाकाली नदी किनार क्षेत्र, पिथौरागढका सिमलगैर बजार, मेघना कम्प्लेक्स, चन्डाक, केएनबीएन गेस्ट हाउस र अन्य क्षेत्रमा छायांकन गरिएको छ । सीमा बजार झुलाघाटमा चार दिन दुई घरमा छायांकन गरिएको छ । फिल्मको अन्तिम दृश्य यहाँका पुराना घर, झुलाघाट बजार, महाकाली नदी र सीमामा रहेको झन्डै डेढ सय वर्ष पुरानो झोलुंगे पुलको दृश्य समावेश गरिने फिल्म युनिटले जनाएको छ । फिल्ममा सन्दीपको रूपमा अर्जुन र पिंकीको भूमिकामा परिणीति देखिनेछन् ।


पहिलो पटक हिन्दी चलचित्र छायांकन हुने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । यहाँको संस्कृति, परिवेश रहनसहन र भौगोलिक अवस्था झल्कने र ग्रामीण अवस्था विश्वसामु चिनाउन फिल्मले सहयोग गर्ने स्थानीय बताउँछन् । पञ्चेश्वर बाँध निर्माणपछि डुबानमा झुलाघाट क्षेत्र फिल्ममा सीमित हुनेछ । मध्यपहाडी लोकमार्गको पश्चिमी विन्दु तथा महाकाली नदीको सुन्दर तटीय क्षेत्रले फिल्ममा स्थान पाउँदा यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन् । प्राकृतिक सुन्दरता र पुरातात्त्विक महत्त्वका संरचनाका कारण यो क्षेत्र सुटिङ स्थलका रूपमा छनोट हुन थालेको हो ।

प्रकाशित : पुस १०, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?