१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नारायणगढमा राज्जा रानी

चितवन — यति बेला नायक नाजिर हुसेन र नायिका केकी अधिकारीलाई आफू अभिनीत फिल्मको प्रमोसन गर्न भ्याईनभ्याई छ । पुस २१ बाट देशभर प्रर्दशनमा आउन लागेको ‘राज्जा रानी’ फिल्मका यी दुई मुख्य पात्र देश दौडाहामा छन् । विराटनगर, जनकपुर, सर्लाही हुँदै टोली शुक्रबार नारायणगढ आइपुग्यो । दुवैले चितवनको खुलेर प्रशंसा गरे ।

नारायणगढमा राज्जा रानी

‘फिल्म क्षेत्रसँग सम्बन्धितहरूका लागि यो जिल्ला दोस्रो घर हो,’ नायिका केकीले भनिन्, ‘त्यही भएर प्रमोसनल टुरमा यो जिल्लालाई छुटाउन हुँदैन ।’ उनले फिल्ममा रानीको पात्रको रूपमा आफूले अभिनय गरेको बताइन् ।

फिल्ममा रानी मायामा समर्पित पात्र हुन्छिन् । ‘मधेस मूलको पात्रको रूपमा छु, जुन च्यालेन्जिङ क्यारेक्टर थियो,’ उनले भनिन्, ‘यसअघि अभिनय गरेका फिल्ममा भन्दा फरक भूमिकामा देखा पर्दै छु ।’

उनका अनुसार बालविवाह र दाइजो प्रथाको कुरालाई फिल्ममा उठान गरिएको छ । फिल्म नेपाली र मैथिली दुवै भाषामा निर्माण गरिएको छ । छांयाकन नेपालगन्जमा गरिएको हो ।

‘मुस्लिम समुदायमा घटेको घटनालाई फिल्मको कथा बनाइएको छ,’ नायक हुसेनले भने, ‘त्यसैले फिल्ममा देखेको, भोगेको र सुनेको कुरालाई कथा बनाएर देखाउन खोजिएको छ ।’ उनका अनुसार फिल्म राम्रो बनेको छ । उनी राज्जाको भूमिकामा देखा परेका छन् ।

‘फिल्ममा दु:खेको जस्तो एक्टिङ गर्नुपरे पनि अभिनयको क्रममा साँच्चैको दुखाइ हुन्थ्यो,’ केकीले सुटिङको क्षण सम्झँदै भनिन्, ‘अहिले सबै कुरा बिर्सियो तर फिल्ममा उठान गरिएको कथा अझै दैनिक लाइफमा भोग्नेहरू छन् ।’

फिल्ममा दीपक क्षेत्री, कामेश्वर चौरसिया, अरुण रेग्मीको पनि अभिनय छ । फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने लगानीकर्ता रमेश एमके पौडेल रहेका छन् । ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत रहेको फिल्ममा कोरियोग्राफीको पाटो भने विक्रम स्वाँरले सम्हालेका छन् ।

पत्रकार भेटमा केकी, हुसेन मात्र उपस्थित थिएनन्, ‘चिपक चिपक...’ गीतका गायक नरहरि प्रेमी र गायिका सुमिना लो समेत थिए । दुवैले गीत गाए । यही गीत गायिका अञ्जु यादवले मैथिली भाषामा गाएर सुनाइन् । केकी र हुसेनले फिल्ममा जुन पात्रको रूपमा देखा परेका छन्, त्यही अभिनय गरेर देखाए ।

केकीलाई भेट्न आएका प्रशंसकले फिल्मको सफलताको कामना गर्दै केकसमेत काटे । नारायणगढकी सुस्मिता गैरे, सीता शर्मा र अनिता भुसाल केक बोकेर भेट्न पुगेका थिए । पत्रकार भेटमै केक काटेर केकीलाई हुसेनले र हुसेनलाई केकीले खुवाइदिए । बालविवाह एवं दाइजो प्रथाविरुद्ध देशव्यापी जागरण अभियानका संयोजक राजकुमार महतोको पनि कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित : पुस ८, २०७४ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?