पद्मावती उर्फ विवाद

काठमाडौं — चौधौं शताब्दीकी एक काल्पनिक रानी पद्मिनीको प्रेमकथाले यतिबेला भारत तरंगित बनेको छ । सुफी कवि मलिक मोहम्मद जयसीले सन् १५४० मा लेखेको महाकाव्य पद्मावतमा आधारित रही निर्देशक सञ्जयलीला भन्सालीले फिल्म बनाए, पद्मावती ।

पौराणिक पात्र रानी पद्मिनी र राजा रतन सेनको प्रेम गाथामा टुर्को–अफगान मुस्लिम शासक अलाउद्दिन खिल्जीको प्रवेशले जसै महाकाव्य रसिलो बन्यो, त्यही प्लट यतिबेला भन्सालीका लागि टाउको दुखाई बनेको छ ।
हिन्दु राजपूत समर्थकले पद्मिनी र खिल्जीलाई फिल्ममा जबर्जस्ती भेटाइएको र प्रेमभाव दर्शाएर आफ्नी रानीको अपमान गरेको, राजपूत इतिहास तोडमोड गरेको र तानाशाह खिल्जीलाई असल प्रेमी र बहादुर योद्धाका रूपमा वर्णन गरेको आरोप लगाउँदै फिल्मको प्रदर्शन रोक्न सडक तताएका छन् । सोही कारण फिल्मको रिलिज सरेर माघ २६ पुगेको छ । तर निर्बाध प्रदर्शनमा संशय भने अझै बाँकी नै छ ।
फिल्म हेरेका केही समीक्षकले भने राजपूत सेनले आरोप लगाएअनुसार पद्मावती नरहेको जिकिर गरेका छन् । तैपनि राजपूतको बाहुल्य रहेको गुजरातमा आन्दोलन रोकिएको छैन । धेरैले फिल्मको आडमा राजनीतिक अभीष्ट पूरा गर्न दंगा भड्काइएको आशंका गर्न थालेका छन् । ६ प्रतिशत राजपूत रहेको गुजरातमा भारतीय सत्तापक्ष चुनावका बेला उनीहरूविरुद्ध बोलेर भोट बैंक गुमाउने अवस्थामा छैन । प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं गुजरातका हुनुले उक्त प्रदेश भारतीय जनता पार्टीको साखसँग पनि गाँसिएको छ । सन् २०१९ मा हुने राष्ट्रिय निर्वाचनका लागि भाजपाले पद्मावती मुद्दालाई हिन्दु राष्ट्रवादीहरूको भोट तान्ने अस्त्रका रूपमा मौका हेरिरहेको टिप्पणी गर्न थालिएको छ ।
कंग्रेस नेतृत्वको गुजरात सरकारले पनि भन्सालीको फिल्मलाई प्रदर्शनमा रोक लगाइदिएको छ । यसले गर्दा पनि पद्मावती फिल्म गुजरात राजनीतिको कोपभाजनमा परेको प्रस्टिँदै छ । भाजपाका नेता अखिलेश खन्डेलवालाले आफ्नो फेसबुक स्टाटसमार्फत नै सञ्जयलीला भन्सालीलाई जसले जुत्ता हान्छ, त्यसलाई पुरस्कार दिने विवादास्पद अभिव्यक्त नै दिए । विपक्षी दलले त्यसको विरोधस्वरूप अखिलेशलाई कारबाही गर्न माग गरे पनि मोदी सरकारले मौनता साध्नुमा नै भोट जोगाउने उपाय ठान्यो ।
राजपूतका लडाकुहरूले फिल्मको छायांकनदेखि नै निहुँ खोज्न थालेका थिए । त्यसैबेला पनि रानीको दरबारका रूपमा बनाइएको सेटमा सजाइएको ५० वर्ष पुरानो ऐनालाई उनीहरूले फुटाएका थिए । फिल्ममा उक्त ऐनामा खिल्जीले रानी पद्मिनीलाई देख्ने दृश्य थियो । तर राजपूतहरूले उक्त समयमा ऐना नै हुन नसक्ने जिकिर गर्दै फुटाइदिएका थिए । त्यसैगरी कोहलपुरमा रातिको सुट भइरहँदा पनि २०–३० जनाको पेट्रोल बम र लट्ठी बोकेको झुन्डले फिल्मको कस्ट्युमलगायत बहुमूल्य सामान नष्ट गरिदिएको थियो । उक्त समय राजपूतको त्यो झुन्डले रानी पद्मिनी र खिल्जीबीच अन्तरंग सम्बन्धका दृश्य खिचिरहेको गलत सूचना पाएपछि उत्तेजित भई पुगेका थिए ।
बीबीसीको एक समाचारमा त उल्लेख नै गरिएको पनि छ, ‘जो राजपूत इतिहासलाई तोडमोड गरेको आरोप लगाउँदै फिल्म ब्यान्डका लागि मरिमेटेर लागेका छन्, उनीहरू एक काल्पनिक रानीको सम्मान रक्षार्थ सही कुरा सुन्नसमेत तयार छैनन् ।’ भीडलाई उक्साउनेमा स्वयं जिम्मेवार नेताहरू नै अगाडि देखिएका छन् । भाजपाकै अर्का नेता राज के पुरोहितले रानीलाई बिनाघुंघट नृत्य गराइएको हुनाले फिल्म प्रतिबन्ध लगाउनुपर्ने दाबी गरेका थिए । गत महिना मात्रै उनले भनेका थिए, ‘एउटी राजपूत रानी कसरी घुंघट नलगाई नाच्न सक्छे ? यो त सीधै राजपूत संस्कृति र स्वाभिमानविरुद्ध हो । यस्तोमा कुनै पनि समुदाय चुप लागेर बस्न सक्दैन ।’
भारत क्षत्रीय समाज नामको अर्को जातीय संगठनले त निर्देशक भन्साली र रानी पद्मावतीको भूमिका निर्वाह गरेकी नायिका दीपिका पादुकोणको टाउकोको मूल्य नै तोक्यो । उनीहरूको टाउको काटेर ल्याउनेलाई भारु ५ करोड इनाम घोषणा गरेपछि प्रहरीले विशेष सुरक्षा नै दिइरहेको छ । घटनाक्रम यतिसम्म उत्तेजक बन्दै भइरहेको छ कि हरियाणाका भाजपा मिडिया प्रमुख सुरज पाल अमुले अझ अघि बढ्दै भन्साली र पादुकोणको टाउको ल्याउनेलाई आफूले भारु १० करोड दिने खुलेआम बोले । अमुले त खिल्जीको भूमिकामा रहेका नायक रनवीर
सिंहको समेत खुट्टा भाँच्ने धम्की दिए । गम्भीर धम्कीका बाबजुद पनि अहिलेसम्म कसैलाई सरकारले कारबाही नचलाउनुले सबै प्रपञ्च राजनीतिक संरक्षणमा भइरहेको खुल्दै गइरहेको छ । भोट गुम्ने डरमा दलको नेतृत्व यतिबेला आँखा चिम्लेर मूकदर्शक बनिदिएपछि फिल्म प्रतिबन्धसँगै यसका कलाकारले समेत धम्कीको सामना गर्नु परिरहेको छ । माघ २६ मा फिल्म प्रदर्शन गर्ने हलमा आगो लगाइदिने हल्ला पनि फैलाइएको छ ।
–एजेन्सीको सहयोगमा