कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युटयुबमा देउसी–भैलो

संगीत
कान्तिपुर संवाददाता

काठमाडौं — सदाझैं यसपालि पनि तिहार विशेष गीत प्रशस्त निस्केका छन् । युट्युबमा ‘तिहार सङ २०७४’ टाइप गर्नासाथ गीतहरू हुरुरु स्क्रिनमा आउँछन् । छानी–छानी हेर्न/सुन्न सकिन्छ ।

युटयुबमा देउसी–भैलो

हरिदेवी कोइराला, विष्णु माझी, पशुपति शर्मा, टीका पुन, देवी घर्ती लगायत गायकगायिकाले देउसी–भैलो गीत बजारमा ल्याएका छन् । पप र आधुनिक विधाका आर्टिस्टले पनि देउसीमाथि केही नयाँ प्रयोग गरेको सुनिन्छ । 

मञ्जु गौतम, उमा श्रेष्ठ, खुमन अधिकारी र अृमता लुंगेली मगरको गीत ‘फूल–माला उनी...’ यो साता ट्ेरन्डिङमा पर्‍यो । बुधबार दिउँसोसम्म २३ औं स्थानमा रहेको गीतमा खुमनकै शब्द र संगीत समाविष्ट छ । यसको भिडियोमा ७ लाखभन्दा बढी भ्युज थिए भने करिब तीन सय कमेन्ट्स देख्न सकिन्थ्यो । तीमध्ये सविन श्रेष्ठले लेखेका थिए, ‘देउसी त आजभोलि गीतमा मात्रै सीमित हुन आँट्यो । गाउँ–घरमा देउसी खेल्ने युवायुवती सबै बिदेसिएका छन्, क्यार्नु ।’


गायिका हरिदेवी कोइरालाले पनि ‘तिहारै आयो, भैलिनी...’ बोलको भाका श्रोतासमक्ष प्रस्तुत गरेकी छन् । म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतमा कोइरालालाई लक्ष्मी गिरीको साथ दिएको देख्न सकिन्छ । पशुपति शर्माले ‘तिहारैमा देउसीरे...’ गीत आफैं लेखिवरि संगीत पनि आफैं भरेर गाएका छन् । यसमा उनलाई टीका पुनले सघाएकी छन् । ‘यो भिडियो हेर्दा साँच्चै तिहार आएजस्तो भयो,’ राई प्रमिलाले एक साताअघि यस्तो प्रतिक्रिया दिएकी रहिछन्, ‘विदेशमा भए पनि आफ्नै देशमा भएको महसुस गरेँ ।’

भानु वलीले आफ्नो ‘देउसीरे भन...’ गीतमा सेक्युरिटी गार्डहरूलाई फिचर गराएका छन् । यसमा केशव आचार्यको शब्द समेटिएको छ भने संगीत र स्वर दुवै वलीको हो । चन्द्रा चलाउने, लीला कुँवर र यज्ञ विकको स्वर रहेको ‘दिदी बहिनी...’ बोलको म्युजिक भिडियोमा बुधबारसम्म झन्डै पाँच लाख भ्युज थियो । तिलक बस्नेत र मनीषा राईले ‘देउसीरे, भैली राम...’ बोलको गीत निकालेका छन् । यसमा लामो समयपछि भेटिएका दिदी–भाइको उमंग समेटिएको छ । 


सुजाता केसी, मुना थापा, तेजस रेग्मी, सन्ध्या बूढा, माधव दाहाल, गन्धर्वराज पौडेल, यमुना नेपाल, मीना नेपाल, रेशम सापकोटा, शोभा त्रिपाठीलगायत गायकगायिकाले पनि तिहार गीत तयार पारेका छन् । लोक लयमा आधारित उनीहरूको गीतको भिडियो युट्युबमा उपलब्ध छन् । यद्यपि, ती गीत यो साता ट्रेन्डिङमा परेनन् । बरु, स्वप्न सुमन र अनुज प्रधानले तिहार स्पेसल भन्दै निकालेको म्यासअप भिडियो बुधबार टप २६ मा देखापर्‍यो । उनीहरूले ‘लौ न मायालुको देशमा...’ र ‘पानी पर्‍यो सरर...’ गीत एकमुष्ट गाएका छन् । 

गायक सर्दिल खतिवडा, सविन लिम्बू, हाउडे, विमल बराललगायतले भने अलि फरक खालको तिहार गीत लन्च गरेका छन् । सर्दिलले गिटार र ड्रम्सको तालमा ‘दसैंतिहार...’ बोलको गीत निकालेका छन् भने विमल बरालले डान्सिङ पार्टनरको ‘रातो माटो...’ गीत बजारमा ल्याएका छन् । हरेक साल नयाँ–नयाँ गीतहरू बनिरहे पनि ती तिहार सम्झाउने गीत बन्न सकेका छन् । ‘स्वर्ग’ फिल्मको ‘तिहारै आयो लौ झिलिमिलि...’, ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ जस्ता गीतले नै तिहार–गीतको गरिमा कायम गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?