कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायक हिक्मतको सम्झना

काठमाडौं — हिक्मत मालीले धेरै गीत गाएनन् । गाएका सबै गीत हिट हुने कुरा भएन । तैपनि उनलाई सम्झिन कर लाग्छ । उनी सम्झन लायक छन् ।

गायक हिक्मतको सम्झना

संगीतकर्मीहरू उनलाई आदरसाथ स्मरण गर्छन् भने श्रोतालाई उनको स्वर प्रिय छ । उनले गाएको ‘कुन देशकी चरी हौ तिमी...’ निकै रुचाइएको गीतमध्येमा पर्छ । यसलाई पछि रिमिक्स पनि गरियो । 

हिक्मतले ‘म्हिग बहनी...’, ‘मेजु ए मेजु...’ गरी आधा दर्जन नेपालभाषाका गीत गाएका छन् । नेपाली भाषाका गीतहरू पनि त्यस्तै आधा दर्जन नै होलान् । नेवार समुदायमा उनका गीतहरू लोकप्रिय छन् । मेनस्ट्रिम म्युजिकमा भने ‘कुन देशकी चरी...’, ‘तिम्रो प्रेमको विम्ब...’ जस्ता सीमित गीत सुन्नमा आए । थोरै गाएर धेरै नाम कमाएका गायकका रूपमा उनलाई लिने गरिन्छ । 

‘हिक्मत र म नजिकका साथी थियौं,’ गीतकार डा. कृष्णहरि बरालले भने, ‘उनी संगीतलाई आदर गर्थे । यसलाई व्यवसाय बनाउन चाहेनन् । त्यसैले थोरै गाए ।’ हिक्मतको फेमस गीत ‘कुन देशकी चरी...’ का रचनाकार समेत रहेका बराल बुधबार आफ्नो मित्रलाई सम्झिएर भावुक बने । त्यसमाथि उनलाई मालीकै नाममा स्थापना गरिएको ‘हिक्मतबहादुर माली मेमोरियल म्युजिक अवार्ड’ प्रदान गरियो । उनी स्मृतिमा फर्किए ।

‘विसं. २०३८/३९ तिरको कुरा हो,’ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बरालले भने, ‘द्वारिकालाल जोशीले मेरा शब्दमा संगीतमा भरेका थिए । त्यो गीत उनले हिक्मतलाई गाउन दिएछन् । मेरै गीत गाएर हिक्मतले रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेको कुरा मलाई निकै पछि थाहा भयो ।’ हिक्मत भने बराललाई चिन्थे । एक दिन उनीहरूको भेट भएछ । भेट्नासाथ हिक्मतले भनेछन्, ‘रुन्चे गीत धेरै भयो । रोमान्टिक खालको गीत लेख । म गाउँछु ।’

बरालले त्यसपछि ‘कुन देशकी चरी...’ का शब्द फुराए । यसमा गायक राम थापाले संगीत भरिदिए । योसहित आफ्ना तीन वटा रचना हिक्मतले गाएको बरालले बताए । ‘ऊ अचम्म खालको मान्छे थियो,’ बरालले भने, ‘कोठाभरि मोहम्मद रफीको तस्बिर टाँसेको थियो । रफीलाई गुरु मान्थ्यो ।’ संगीतलाई व्यवसाय बनाउन नचाहने उनले कालिमाटीमा माली आयल स्टोर खोलेको बरालले अवगत गराए । उक्त पेट्रोल पम्प अझै पनि छँदै छ । 

होटल ग्रान्ड नेपालमा बुधबार आयोजित रोटरी क्लब अफ काठमाडौं वेस्टको १७ औं च्याप्टर डे प्रोग्राममा बराललाई अवार्ड प्रदान गरिएको थियो । क्लबकी डीजी जया राज्यलक्ष्मी शाह र अध्यक्ष उदय गड्तौलाले उनलाई २५ हजार रुपैयाँ र कदरपत्र हस्तान्तरण गरे । रोटरी क्लबमा आबद्ध माली वास्तवमै परोपकारी र त्यागी भावका रहेको बरालले बताए । 

‘उनी क्लबमा आबद्ध छन् भन्ने थाहा थिएन,’ डा. बरालले भने, ‘उनको तौरतरिकामा चाहिँ सेवाभाव झल्किन्थ्यो ।’ मालीलाई एकदम हँसिलो र फूर्तिलो खालको मान्छेका रूपमा बुझेको क्लबकी डीजी शाहले बताइन् । ‘हाँस्नुपर्ने, गाउनुपर्ने खालको स्वभाव थियो,’ उनले भनिन्, ‘उहाँलाई सम्झिरहनेछौं ।’ यसअघि गायिका तारा थापालाई ‘हिक्मत माली अवार्ड...’ दिइएको थियो । गायक माली भने दुई वर्षअघि दिवंगत भएका थिए ।

प्रकाशित : असार १७, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?