१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नयाँ दिल्लीमा सुरसुधा

काठमाडौं — केही साताअघि मात्रै सुरसुधा ब्यान्ड उत्तरपूर्वी चीनको सेङयाङ सहरमा थियो । उत्तर कोरियासँग सिमाना जोडिएको यो सहरमा उसले नेपाली लोक धुन प्रस्तुत गरेबापत प्रशंसा बटुलेको थियो । यसपटक यस्तै प्रशंसा मिल्यो भारतको नयाँ दिल्लीमा ।

नयाँ दिल्लीमा सुरसुधा

बीपी कोइराला नेपाल–भारत फाउन्डेसन र भारतस्थित नेपाली दूतावासको निम्तोमा नयाँ दिल्ली पुगेको सुरसुधा टोली सांगीतिक प्रस्तुति दिएर हालै मुलुक फर्केको छ । 

‘चीनमा नेपाली संगीत नयाँ थियो, प्रस्तुतिपछि दर्शकले उठेर ताली बजाउँथे र कार्यक्रमपछि चासो दिएर सोधीखोजी गर्नेहरू भेटिन्थे,’ ब्यान्डका संयोजक सुरेन्द्र श्रेष्ठले अनुभव बाँडे, ‘भारतमा दर्शक/श्रोताको मनोदशा फरक पायौं, किनभने दुई देशको संगीतको स्वादमा खासै ठूलो अन्तर छैन ।’

चीनमा संस्कृतिप्रति बढी चासो राख्ने दर्शक/श्रोता भेटिएको तर भारतमा चाहिँ संगीतको गहिराइमा डुब्न खोज्नेहरू भेटिएको उनले सुनाए ।

सुरसुधाले नयाँ दिल्ली आईसीसीआर (इन्डियन काउन्सिल फर कल्चरल रिलेसन)को अडिटोरियम हलमा प्रस्तुति दिएको थियो । सुरेन्द्रका अनुसार ब्यान्डले तराईको थारू समुदायमा प्रचलित स्लो मेलोडीको कल्चरल कम्पोजिसन, गिटार र सितारको जुगलबन्दीदेखि ‘रेशम फिरिरि...’ सम्मको प्रस्तुति दिएको थियो । विकाश सिंहको गिटार, राजीव श्रेष्ठको सितार, प्रेम औतारीको बाँसुरी र सुरेन्द्र स्वयंको तबलाको फ्युजन कम्पोजिसन अर्को आकर्षण रहेको थियो । 

‘यो फ्युजन कम्पोजिसनमार्फत दुई देशको समाजलाई जोड्यौं,’ उनले भने, ‘कृष्णको चरित्रलाई थिम बनाएका थियौं यो प्रस्तुतिमा ।’ संगीतकै माधुर्यमार्फत कृष्णलीला पस्किएको प्रस्तुतिले दुइटै समाजको साझा विशेषतालाई प्रस्तुत गरेको उनले दाबी गरे ।

यसपछि सुरेन्द्रले ‘रेशम फिरिरि...’ गाए भने ब्यान्डकै गायिका सरस्वती खत्रीले ‘उकाली ओरालीहरू...’ गाइन् । ‘म्युजिकल इभनिङ विद सुरसुधा’ नाम दिइएको प्रस्तुतिपछि मुम्बई र दिल्लीकै अर्को थलोका लागि निम्तो मिलेको सुरेन्द्रले बताए ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषदसँगको सहकार्यमा सम्पन्न सांगीतिक कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाली संस्कृतिको प्रवद्र्धनमा सुरसुधाजस्ता समूहको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रशंसा गरेको सुरेन्द्रले बताए । सुरसुधासँगै भारतीय नृत्यांगना पुलामी गुहाले पनि प्रस्तुति दिएको उनले जनाए । 

प्रकाशित : असार २, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?