१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सौराहामा सुन्दरी

विमल खतिवडा

सौराहा — ‘मिस नेपाल २०१७’ की प्रतिस्पर्धीमध्ये एक हुन्– विराटनगरकी २२ वर्षीया वर्षा पोखरेल । श्रीराम कलेज अफ कमर्स, दिल्ली युनिभर्सिटीकी ग्रयाजुएट हुन् उनी ।

सौराहामा सुन्दरी

१९ प्रतिस्पर्धीसँगै सोमबार सौराहामा भेटिएकी उनले पहिलो पटक चितवन आएको सुनाउँदै थिइन् । ‘पहिलादेखि नै यहाँ आउन मन थियो,’ उनले भनिन्, ‘त्यो चाहना मिस नेपालमा सहभागी भएपछि पूरा भयो ।’

उनलाई वरिपरिका दृश्यले लोभ्याए । साथीसँग हात्ती सफारी, जंगल सफारी गरेर रमाइन् । त्यति मात्र होइन, संरक्षणका बारेमा थाहा नपाएको कुरा थाहा पाइन् । ‘दुर्लभ वन्यजन्तुको संरक्षण कसरी गरिन्छ भनेर राम्रोसँग थाहा थिएन,’ उनले भनिन्, ‘जुन कुरा यहाँ आएपछि थाहा पाएँ, त्यो पनि संरक्षणको क्षेत्रमा लागेका विज्ञमार्फत ।’

धादिङकी अनुशा लम्साल भने फरेस्ट्रीमा ब्याचलर गरेकाले चितवन निकुञ्ज घुम्न पाउँदा झन् दंग थिइन् । ‘जे पढेकी थिएँ, त्यहीसँग सम्बन्धित विषयका बारेमा यहाँ आएर बुझ्न पाएँ,’ उनले भनिन्, ‘पहिला पनि आएकी थिएँ तर निकुञ्जको वास्तविक सौन्दर्य बल्ल अहिले देख्न पाएँ । डुंगा सयर गरेर आसपासका दृश्य नियाल्न पाएँ ।’

‘मिस नेपाल भनेको ग्ल्यामर मात्र होइन, रेस्पेक्टेड प्याजेन्ट पनि हो,’ उनले थपिन्, ‘आज मिस नेपालमै सहभागिता जनाएकाले विश्वमै दुर्लभ मानिएको वन्यजन्तुलाई यहाँ आएर हेर्न पाइयो ।’

सहभागी सबैलाई राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको हलमा राखेर वन, वन्यजन्तुका बारेमा तालिम दिइयो । यसको महत्त्व र संरक्षणका बारेमा जानकारी गराइयो । बाघमारा मध्यवर्ती सामुदायिक वनमा लगेर सामुदायिक वनको महत्त्व र आवश्यकताबारे बुझाइयो ।

‘पहिला निकुञ्ज घुमे पनि नेचरलाई नजिकबाट बुझ्न सकेकी थिइनँ,’ चितवनकी २२ वर्षीया उरुषा अधिकारीले भनिन्, ‘पहिलो पटक नेचरसँग क्लोज भएर कन्टयाक्ट गर्न पाएँ ।’ कलेज अफ मेडिकल साइन्सेस, भरतपुरबाट बीएससी नर्सिङ सकेकी उनी अहिले मिस नेपालको ताज जित्ने होडमा छिन् ।

‘किताबमा चितवन निकुञ्जबारे पढेको थिएँ,’ काठमाडौंकी २३ वर्षीया रुबिना श्रेष्ठले सोमबार काठमाडौँ फर्किनुअघि भनिन्, ‘किताबमा पढेभन्दा सुन्दर रहेछ । तीन दिन बितेको पत्तै पाइनँ ।’

सहभागीलाई डुंगा सयर गराइयो, हात्ती प्रजनन केन्द्र र थारू संग्रहालय घुमाइयो । सबै रमाए । उनीहरूले गैंडा, हात्ती, मयूर, मृग, चरा, गोही, बँदेललाई प्रत्यक्ष देख्न पाए । संरक्षणमा सुरक्षाका बारेमा श्रीजंग गणका प्रमुखले जानकारी गराए ।

मिस नेपालको आयोजना हिडन ट्रेजरले गर्दै आएको छ । जेठ १९ मा २२ औं संस्करणको रूपमा मिस नेपालको फाइनल प्रतिस्पर्धा हुनेछ । ‘प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका युवतीहरूको सहभागिता छ,’ हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने, ‘प्रतियोगिताका सहभागीले संरक्षणका बारेमा थाहा पाउन जरुरी छ । संरक्षणमा उनीहरूको भूमिका ठूलो रहने भएकाले सौराहा लिएर आएका हौं ।’

चार वर्षयता ‘मिस नेपाल’ विजेतालाई राष्ट्रिय प्रकृति संरक्षण कोषले संरक्षण दूत बनाएर युवामाझ उभ्याउने गरेको छ । मिस नेपालमार्फत संरक्षणमा लाग्न युवाहरूलाई उत्प्रेरित गरिन्छ । ‘प्रकृतिसँग भेट गराउँदा यसप्रति उनीहरूको माया बढ्छ,’ कक्षपतिले भने, ‘संरक्षणमा आफू मात्र नभई सबैलाई लाग्न जनचेतना जगाउँछन् ।’

उनका अनुसार, यो वर्ष प्रतियोगितामा एउटा टाइटल थपिएको छ, मिस एसिया प्यासिफिक । मिस नेपाल, मिस अर्थ, मिस इन्टरनेसनल टाइटल भने यथावत् रहनेछन् । यस पालि प्रतियोगितामा विराटनगर, चितवन, बुटवल, पोखरा, नेपालगन्ज, काठमाडौं लगायतका सुन्दरीहरूको सहभागिता छ ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?