हजारौं युवतीको प्रस्ताव

प्रभास अब दक्षिण भारतका मात्रै सुपरस्टार रहेनन् । ‘बाहुबली’ ले उनलाई सिंगो भारत र अन्तर्राष्ट्रिय स्तरमै ख्याति दिलाइसकेको छ । एकै दिनमा एक सय करोड कमाएको ‘बाहुबली २ : द कन्क्लुजन’ नेपालमा पनि लोभलाग्दो ढंगले चलिरहेको छ । फिल्म हेर्नेको ओइरो घटेको छैन ।

हजारौं युवतीको प्रस्ताव

एसएस राजामौली निर्देशित उक्त फिल्मका मुख्य अभिनेता प्रभास भने यतिखेर अमेरिकामा छन् । फिल्मको सक्सेस पार्टी मनाएर विदेश हिँडेका प्रभास अहिले युवतीहरूमाझ यति लोकप्रिय भएका छन्, उनलाई हजारौंको संख्यामा विवाहको प्रस्ताव आउन थालेको छ । टाइम्स अफ इन्डियाका अनुसार, उनले ६ हजार जनाको प्रस्ताव अस्वीकार गरिसकेका छन् । बाहुबलीका रूपमा उनको प्रस्तुति र रूप(रंग व्यापक रुचाइएको छ ।

‘म सबैप्रति आभारी छु,’ प्रभासले भनेका छन्, ‘तपाईंहरूको माया र समर्थनले यो सबै सम्भव भएको हो ।’

दर्शक र फिल्म समीक्षक दुवैले प्रभासको कामको तारिफ गरेका छन् । अमेरिका जानुअघिसम्म उनलाई बधाई दिनेको लस्कर थियो । फोन, म्यासेज र इमेल सबै व्यस्त रहन्थे । बैंककको म्याडम टुसाड म्युजियममा ‘संरक्षित’ हुने उनी पहिलो दक्षिण भारतीय सुपरस्टार पनि बनेका छन् । त्यहाँ रजनीकान्त र कमल हासनको समेत वाक्स स्टयाचु बनाइएको छैन ।

एक दशकको अभिनय यात्रामै यत्ति ठूलो स्टारडम कमाउन सफल प्रभास अरू ‘हिरो’ हरूभन्दा अलि फरक छन् । उनको कामगराइ र आनीबानी विशेष प्रकारको छ । उनी एक चोटिमा एउटा मात्रै फिल्म खेल्छन् । ‘बाहुबली’ १ र २ का लागि उनले पाँच वर्षको समय छुट्टयाएका थिए भने, ६ सय दिन सुटिङ गरेका थिए । यो अवधिमा उनले अन्य फिल्म साइन गरेनन् । निर्देशक राजामौलीसँगको यो उनको तेस्रो सहकार्य थियो । उनीहरूले सन् २००५ मा ‘छत्रपति’ मा एकसाथ काम गरेका थिए ।

बाहुबलीको रूपमा देखा पर्न प्रभासले कडा प्रशिक्षण पनि गरेका थिए । खानपानमा विशेष ध्यान दिनुका साथै २२ किलो तौल बढाएका थिए । उनी ८२ बाट १ सय ५ किलो पुगेका थिए । हरेक दिन ४० वटा अन्डा खान्थे ।

प्रभास पढन्ते अभिनेताका रूपमा पनि चिनिन्छन् । जतिसुकै व्यस्त भए पनि उनी पुस्तक पढ्न छोडदैनन् । घरमा राम्रो पुस्तकालय बनाएका छन् । उनलाई खेलकुदमा रुचि छ । जिम जानुभन्दा भलिबल खेल्नु र रक क्लाइम्बिङ गर्नु उचित ठान्छन् ।

भारतका कम विवादास्पद अभिनेतामध्येमा पर्ने प्रभास लजालु स्वभावका छन् । उनी आफूलाई लो प्रोफाइलमा राख्न मन पराउँछन् । एक हजार करोड व्यापारको ऐतिहासिक कीर्तिमान राखिसकेको ‘बाहुबली २’ को सफलतापछि पनि उनी आफूलाई महान् वा स्टार कलाकार नभनिदिन आग्रह गर्दै हिँडिरहेका छन् । प्रभासको घरभरि चरा नै चरा देखिन्छन् । उनी प्रकृतिप्रेमी हुन् । अजय देवगणसँगको फिल्म ‘एक्सन ज्याक्सन’ बाट बलिउडमा डेब्यु गरेका उनलाई यतिखेर बलिउडबाट मनग्गे प्रस्ताव आइरहेका छन् ।

चेन्नईमा जन्मिएका उनको असली नाम वेंकटा सत्यनारायणा प्रभास राजु उप्पल्लापती हो । उनका बाबु यु सूर्यनारायण राजु फिल्म निर्माता हुन् भने काका कृष्णम राजु प्रख्यात तेलगु कलाकार हुन् ।

इन्जिनियरिङमा स्नातक प्रभास सन् २००२ देखि फिल्म क्षेत्रमा लागेका थिए । राजकुमार हिरानी र रोबर्ट डे निरोका फिल्म साह्रै मन पराउने उनले ‘मुन्ना भाइ एमबीबीएस’ र ‘थ्री इडियट्स’ २० पटकभन्दा बढी हेरेको बताउने गरेका छन् ।

प्रकाशित : वैशाख २६, २०७४ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?