१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

“धनपति” मा देखियो खगेन्द्रको लुक्स

काठमाडौं — ‘वधशाला’ बाट डेब्यु गरेका भए पनि खगेन्द्र लामिछानेलाई उचाइमा भने दुई फिल्मले पुर्‍यायो । ‘टलकजंग भर्सेस टुल्के’ मा टुल्केको मुख्य चरित्रमा देखिएका खगेन्द्र लगत्तै ‘पशुपतिप्रसाद’ मा पनि शीर्ष भूमिकामा दर्शकसमक्ष आए । फिल्मसँगै उनको कामको पनि चौतर्फी प्रशंसा भयो । एक सामान्य युवकको भूमिकालाई पनि उनले उचाइ दिए ।

“धनपति” मा देखियो खगेन्द्रको लुक्स

यति बेला फिल्म ‘धनपति’ मा पनि केन्द्रीय भूमिकामा नै देखिन लागेका खगेन्द्रकै कारण पनि प्रतीक्षित बनेको छ । दीपेन्द्र के खनालको निर्देशन रहेको उक्त फिल्मको आइतबार फस्टलुक पोष्टर सार्वजनिक भएको छ । जसमा खगेन्द्र साइकलमा सवार छन् भने उनको साइकलको अगाडि एक बच्ची र पछाडि क्यारिअरमा युवती बसेका छन् । फिल्ममा बच्ची खगेन्द्रकी छोरीको भूमिकामा रहेकी छन् भने युवती सुरक्षा पन्त पत्नीको भूमिकामा छिन् । खगेन्द्र ढाका टोपी र सामान्य लवाइमा पनि परिवारसँग खुसी देखिन्छन् ।

आफूप्रतिको दर्शक अपेक्षालाई सम्बोधन गर्दै खगेन्द्रले भनेका छन्, ‘‘पशुपति प्रसाद’ हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई म स्वभाविक रूपमा लिन्छु । मलाई विश्वास छ, दर्शकको त्यो अपेक्षालाई ‘धनपति’ ले पूरा गर्नेछ ।’ राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ धनपति द्वन्द्वको चपेटामा परी तराईबाट राजधानी आएर जीवन संघर्ष गरिरहेको हुन्छ । सामान्य एक रेस्टुरेन्टमा काम गर्दै परिवार पालिरहेको धनपतिलाई आइपर्ने राष्ट्रिय समस्याले कसरी बाटो बदल्न बाध्य पार्छ भन्ने फिल्ममा देखाउन खोजिएको छ । 

फिल्मको पटकथा खगेन्द्र स्वयंले लेखेका हुन् ।

‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दु:ख गरेर बनाएको फिल्म हो यो’ निर्देशक दीपेन्द्रले भनेका छन्, ‘दर्शकले फिल्म हेर्दा वास्तविक ठाउँमै गएर खिचिएका दृश्य देखेपछि कसरी गरे होलान् भनेर आश्चर्य मान्नुहुनेछ ।’ त्यसो त फिल्मका पूर्वनिर्धारित सिनेमाटोग्राफर नीरज कँडेल दुर्घटनामा परेपछि अन्तिम समयमा निर्देशक खनाल स्वयंले फिल्म खिचेका थिए । असार २३ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘धनपति’ मा खगेन्द्र, सुरक्षासहित आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । 

टुकी आट्र्सले दीपेन्द्र के खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको ‘धनपति’ मा रोजिना सिटौला निर्माताका रूपमा रहेकी छन् । आधासुरको संगीत, दीर्घ खडकाको सम्पादन रहेको फिल्मको आइतबार नै मोसन पोस्टर पनि रिलिज गरिएको छ ।

प्रकाशित : वैशाख २५, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?