कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मसुर गुलाटी भर्सेस कपिल शर्मा

सुशील पौडेल

साता दिनयता समाचारको सर्वाधिक चर्चामा, गुगलको अधिक खोजीमा र युट्युबमा बढी हेरिएको पात्र हो, डाक्टर मसुर गुलाटी । भारतीय सोनी च्यानलको कमेडी शो द कपिल शर्मा शोमा डाक्टर गुलाटीबाट फेमस बनेका सुनील यतिबेला कार्यक्रम होस्ट कपिलसँगको झगडा र त्यसपछि उत्पन्न विवादका कारण चर्चाको लाइमलाइटमा छन् ।

मसुर गुलाटी भर्सेस कपिल शर्मा

अस्ट्रेलियाको शो सकेर एयर इन्डियाको प्लेनबाट मुम्बई फर्किने क्रममा रक्सीले मातेका कपिलले सुनीललाई जुत्ताले हानेको, गाली बेइज्जती गरेको खबर बाहिरिएपछि घटनाक्रमले दिनहुँ ट्वीस्ट लिइरहेको छ । कपिल र सुनीलको ट्वीटरमा नोंकझोक चलिरहेको छ । यहाँसम्म कि सुनीलले कपिलको शो छोडेर आफैंले नयाँ होस्ट गर्दैछन् भन्नेसम्मका खबर आइरहेका छन् । तर अप्रिल फुलको पूर्वसन्ध्यामा घटित सबै घटनालाई पूरा विश्वास गरिहाल्न सक्ने आधार भने बनिसकेको छैन । किनकि सुनीलले कपिललाई छोडेको यो पहिलो घटना भने हैन ।

कलर्स टीभीमा छँदै कमेडी नाइट्स विथ कपिलमा गुत्थीबाट फेमस थिए, सुनील । चर्चाको चुलीमा रहेकै बखत सुनीलले शो छोडेका थिए र पछि आए । त्यसपछि उनले फ्यानलाई भनेका थिए, ‘म फेरि आएको छु, मुख उठाएर । मलाई हेर्नुहोला’ महिलाको गेटअपमा गुत्थी बनेर देखिने सुनीलले त्यसबेला नै कपिलसँग अलग्गिनुको कारण खोल्न चाहेनन् । ‘म कपिललाई धेरै आदर गर्छु र उनले पनि मलाई माया गर्छन् । कपिलले मलाई सबैलाई भन्दा बढी रुचाउँछन्’ सुनीलले त्यसपछि कपिललाई डाक्टर गुलाटी र रिंकु भावी जस्ता असरदार क्यारेक्टर बनेर कपिल शर्मा शोसम्मै साथ दिए ।

फिल्ममा छिटफुट रोलबाट दर्शकलाई हँसाउँदै संघर्षको लामो यात्रा तय गरे पनि सुनीललाई कमेडियनका रूपमा चिनाउने काम कपिलले नै गरिदिए । त्यसअघि उनले गुटुर गु नामक साइलेन्ट कमेडी शोका २६ इपिसोड गरेर करिअर सुरु गरेका थिए । पछि मनीष पलसँग स्टार प्लसमा म्याड इन इन्डिया पनि गरे तर दर्शक रिझाउन सकेनन् र छिट्टै शो बन्द पनि गरियो ।

कपिल शर्मा शोमा भने सुनीलले आफ्नो क्षमताको रौद्र रूप नै देखाइदिए । क्यारिकेचर र स्ट्यान्ड अप कमेडीमा होस्ट कपिललाई पछिल्लो चर्चाका मामिलामा समेत उछिनेका थिए, सुनीलले । पछिल्लो पटक उनी उक्त शोमा अमिताभ बच्चनको गेटअप र क्यारिकेचरमा दर्शकलाई चकित पारेका थिए ।

प्लेनमा भएको भनिएको झगडापछि कपिलले सुरुवातमा भनेका थिए, ‘म प्राय: सुनीलसँग झगडा गर्छु । हामी राम्रो कामका लागि हेल्दी फाइट गर्ने गर्छौं ।’ त्यसो त उनले केही असमझदारी देखिए पनि समस्या आउने खालको नभएको जिकिर गरेका थिए । तर अवस्था उनले सोचेजस्तो काबुमा रहेन । सुनीलले लामो ट्वीट गर्दै भनिदिए, ‘भाइजी, तिमीले गहिरो चोट पुर्‍यायौ । तिमी जस्तै सफल र क्षमतावान् सबै हुँदैनन् । तर जब हुन्छन् नि तिमीलाई कसैले महत्त्व दिने छैनन् । त्यसैले अरूको पनि अस्तित्व स्विकार्न सिक । भगवान् जस्तो बन्न नखोज ।’ सुनीलको लामो मौनतापछिको उक्त ट्वीटपछि भने कपिलको दिनहुँजसो माफी माग्नुमै बितिरहेको छ । कपिललाई थाहा छ, सुनीलबिना उनको शोको रथ पहिले जस्तै कुद्नेवाला छैन ।

सुनीलसँगको झगडापछि यतिबेला कपिलका फ्यानमा भारी गिरावट आएको छ । मसुर गुलाटीबाट दर्शकको मन जितिरहेका सुनीललाई रक्सीको नशामा दुव्र्यवहार गरेको भन्ने घटनाले कपिललाई ब्याक फायर भइरहेको छ । पछिल्ला केही सुनीलबिनाका इपिसोडलाई युट्युबमा डिसलाइक गर्नेको लहर त देखिएको छ नै, कमेन्ट्स पनि कपिलविरुद्ध र सुनीलका पक्षमा अधिक छन् । 

तैपनि घटना अझै शंकास्पद नै छ । समाचारले पनि यकिन रूपमा झगडा भएको ठोकुवा गर्न सकिरहेका छैनन् । त्यसो त कपिलले नै फेसबुकमार्फत सुरुवातमै भनेका छन्, ‘सुनील पाजीसँग झगडा भएको बारे अचानक सुनें । सुरुमा त यो कुरा कहाँबाट कुन उद्देश्यले आइरहेको छ ? के यो साँच्चै विश्वासयोग्य ? झगडा भएको कसले देख्यो ?’ 

त्यसो त यतिबेला केही आलोचकले टीभीको टीआरपी बढाउनका लागि पनि जानाजानी यो प्रपञ्च रचिएको आरोप लगाउन थालेका छन् । प्लेनमा सार्वजनिक रूपमा यात्राका क्रममा झगडा भएको भए अन्य तेस्रो पक्ष साक्षी हुनुपर्ने वा एयर इन्डियाले झगडा गर्नेलाई कारबाही चलाउनुपर्ने राय ती आलोचकको छ ।

शंका गर्नेका लागि सन्निकटमा रहेको अप्रिल फुल पनि आधार बनिरहेको छ । पछिल्लो खबरमा त सुनील पुन: कपिल शर्मा शोमा फर्किने अड्कल पनि काटिएको छ भने केहीमा सुनीलको नयाँ शोको नामसमेत दिन थालिएको छ । जेहोस्, पछिल्लो घटनाबाट सुनीलको शक्ति प्रदर्शन राम्रै देखिएको छ । यसले कपिलसँगको शक्ति सन्तुलनमा मिस्टर गुलाटीलाई फाइदा नै होला, यदि फेरि एकसाथ देखिएको खण्डमा । 

 

प्रकाशित : चैत्र १८, २०७३ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?