३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सेलिब्रिटी फेसन सो

काठमाडौं — ‘डी सेलिब्रिटी रनवे २०१६’ मा फिल्म क्षेत्रका ४५ कलाकार र्‍याम्पमा देखा परे । होटल अन्नपूर्णमा उनीहरूले क्याटवाक मात्रै गरेनन्, र्‍याम्पमै नृत्यको केही स्टेप प्रस्तुत गरे ।

सेलिब्रिटी फेसन सो

केहीले गीत पनि गाए । सामाजिक ध्येय भनिएको कार्यक्रममा कलाकर्मीले विशेषत: पार्टी वेयर प्रदर्शन गरे ।

पुनम इन्टरटेनमेन्ट र गौरी मल्लले गरेको फेसन सोको उद्घाटन अभिनेत्री भुवन चन्दले गरेकी थिइन् । कालो/सेतो रङको सारी–चोलीमा उनी अगाडि आएकी थिइन् । भुवनले नेतृत्व गरेको पहिलो सिक्वेन्समै चैत्यदेवी, वसुन्धरा भुसाल र शुभद्रा अधिकारीले रनवेमा पाइला चाले । दोस्रो चरणमा रेखा थापाले ‘बनेको छ छहराले...’ लगायत गीत गाइन् भने उनीपछि तुलसी घिमिरे आफ्नो सिग्नेचर स्टाइलमा देखा परे । कालो क्याप र खैरो ओभरकोट उनमा खुलेको थियो । 

भुवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल र निखिल उप्रेतीले सेरवानीका अनेक डिजाइन देखाए । लक्ष्मी गिरी, दीपाश्री निरौला, सञ्चिता लुइँटेल, रूपा रानालाई भने फेसनेबल लेहेंगामा उतारिएको थियो । 

तेस्रो सिक्वेन्समा गाउनमाथिको प्रयोग देख्न पाइयो । त्यसमा ऋचा शर्मा, केकी अधिकारी, बेनिशा हमाल, मलिना जोशी, सुषमा कार्की, आष्मा डीसी लगायतले पहिरन प्रदर्शन गरेका थिए । सोही सेरिजमा गौरव पहारी, आसिफ साह लगायतले कुर्ताका डिजाइन देखाए । 

दृष्टिविहीनहरूको फेसन सो ‘ब्लाइन्ड रनवे’ गर्न चन्दा संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको पुनम इन्टरटेनमेन्टकी पुनम गौतमले बताइन् । ‘अहिलेसम्म २/३ लाख रुपैयाँसम्म जम्मा हुने लक्षण देखाएको छ,’ उनले भनिन्, ‘एक वर्षभित्र दृष्टिविहीन युवायुवतीलाई र्‍याम्पमा उतार्ने लक्ष्य लिएका छौं ।’ वल्र्ड फेसन परेडसँगको सहकार्यमा यो प्रोजेक्ट सञ्चालन गरिएको हो । फिल्म क्षेत्रका नयाँ र पुरानो पुस्तालाई एकै ठाउँ देख्दा दर्शक रमाएका थिए । फेसन डिजाइनरसमेत रहेकी पुनमले यही जमघट गराउन कार्यक्रम गर्ने जोस फुरेको अवगत गराइन् । ‘नयाँले अग्रजबाटै अगाडि बढ्न सिक्ने हो,’ उनले भनिन्, ‘दुई पुस्ताबीचको ग्याप मेटाउन यस्ता कार्यक्रम आवश्यक छन् भन्ने लाग्यो ।’ कार्यक्रममा सन्दिप क्षत्रीले कमेडी प्रस्तुत गरेका थिए । समग्र व्यवस्थापन पक्ष भने कमजोर थियो । 

प्रकाशित : पुस १७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?