२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

२०१६ का चर्चित हलिउड–बलिउड फिल्म

एजेन्सी

काठमाडौं — अंग्रेजी क्यालेन्डरमा वर्ष २०१६ ले बिदा लिँदै छ । तर यस वर्ष हलिउडका केही फिल्मले भने दर्शकबाट छिट्टै बिदा लिने छैनन् ।

२०१६ का चर्चित हलिउड–बलिउड फिल्म

समीक्षात्मक रूपमा र बक्सअफिस कलेक्सनका आधारमा केही फिल्मले यस वर्ष चर्चा बटुलिरहे । दुई महिनापछि हुने ओस्कार अवार्डमा वर्ष २०१६ मा उत्कृष्ट हुन सक्ने अडलसहितका फिल्मका सूची बन्न थालिसकेका छन् । जसमा केही फिल्म धेरैको उत्कृष्ट सूचीको रोजाइमा परेका छन् ।

सनडान्स फिल्म फेस्टिभलबाट प्रिमियर गरिएको केन्नेथ लोनर्गानको फिल्म ‘म्यान्चेस्टर बाई द सी’ लाई धेरैले ओस्कारमा बेस्ट फिल्मको दाबेदार मानेका छन् । अमेरिकन फिल्म इन्स्टिच्युटले क्यासी एफ्लेक स्टारर यस फिल्मलाई वर्षका उत्कृष्ट दस फिल्मको सूचीमा समेटेको छ । गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्मसँगै निर्देशक, अभिनेता, स्क्रिनप्ले र सहअभिनेत्रीमा मनोनीत भएकोले पनि ‘म्यान्चेस्टर बाइ द सी’ को चर्चा चुलिएको हो । तीन ओस्कार जित्न सफल म्युजिकल ड्रामा ‘हीपलास’ निर्देशन गरेकै डामेन चाजेलीको ‘ला ला ल्यान्ड’ ओस्कार दौडमा अर्को बलियो प्रतिस्पर्धी फिल्म हो । एम्मा स्टोन र रायन गोस्लिङ अभिनीत फिल्मलाई भेनिस फिल्म फेस्टिभलमा गतिलो समीक्षा मिलेको थियो । फिल्ममा उदयीमान अभिनेत्री र ज्याज म्युजिसियनबीचको लभस्टोरी केन्द्रित छ ।

नटाली पोर्टम्यान स्टारर बायोपिक ‘ज्याकी’ यस वर्ष रिलिज गरिएको अर्को उत्कृष्ट फिल्ममध्ये एक हो । पूर्व अमेरिकी राष्ट्रपति जोन एफ केनेडीकी पत्नी ज्याकीको जीवनीमा आधारित उक्त फिल्मले उनको पति जोनको हत्या हुनु अघि र पछिको अवस्थालाई समेट्न खोजेको छ । एमी अदाम्सको अभिनयकै कारण फिल्म ‘अराइभल’ अर्को हेर्नुपर्ने फिल्मको सूचीमा परेको छ । साई–फाई फिल्ममा अचानक एलियन पृथ्वीमा आएपछिको अवस्था चित्रण गरिएको छ । अदाम्सले फिल्ममा एक डाक्टरको भूमिका निर्वाह गरेकी छन् । निर्देशक अल्बर्टो बारबेराले यस वर्ष ‘द ब्लाइन्ड क्राइस्ट’ मार्फत धमाका मच्चाउने आशा लिइएको छ । फिल्मको प्रिमियर नहुँदै चर्चा चुलिएको छ । 

‘द जंगल बुक’ ले २०१६ मा गतिलै चर्चा बटुल्यो भने ‘रग वन : अ स्टार वार्स स्टोरी’ पनि वर्षको उत्कृष्ट फिल्ममा अटाएको छ । इपिक स्पेस ओपेराले अमेरिकी बक्सअफिसमा मात्रै ३४ करोड डलर कमाइ गरी आमदर्शकमा समेत रुचाइएको फिल्ममा परेको छ, जब कि फिल्म २० करोड डलरमा बनेको हो । चर्चा कमाउने पंक्तिमा सुपरहिरो फिल्म ‘डेडपुल’ पनि अघि देखियो । मार्भल कमिक्स क्यारेक्टरमा आधारित फिल्ममा डेडपुललाई एन्टी हिरोको रूपमा देखाइएको छ । जसले आफ्ना लागि खतरा बनेका मान्छेलाई नै आक्रमणको तारो बनाएको कथालाई फिल्मले उतारेको छ ।

उता, बलिउडमा पनि २०१६ मा केही फिल्मले राम्रै चर्चा पाए । अक्षयकुमार अभिनीत ‘एयरलिफ्ट’ ले यसको सुरुवात गर्‍यो । राजाकृष्ण मेनन निर्देशित फिल्मले सद्दाम हुसेनमाथि अमेरिकी आक्रमणका बेला कुवेत छोड्न बाध्य भारतीयहरूलाई एक व्यापारीले गरेको उद्दारलाई दर्साइएको छ । फिल्मले समीक्षक र बक्सअफिस दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो । त्यसैगरी २२ वर्षीया एयर होस्टेस निरजा भनोटको जीवनीमा आधारित फिल्म ‘निरजा’ ले आतंककारीबाट हाइज्याक्ड भएको प्लेनबाट यात्रुलाई निरजाले आफ्नो ज्यान फालेर कसरी बचाइन् भन्ने देखाइएको छ । यस फिल्मबाट खासगरी निरजाको भूमिकामा देखिएकी सोनम कपुरले राम्रो स्यावासी बटुलिन् ।

आलिया भट्ट २०१६ मा पनि चम्किइन् । उनी अभिनीत ‘उडता पञ्जाब’ र ‘डियर जिन्दगी’ ले दर्शकबाट राम्रो साथ पाए । ‘रमन राघव २’ बाट फेरि एकपटक नवाजुद्दिन सिद्दिकीले आफू अभिनयकै लागि जन्मेको सिद्ध गरे । महिला सशक्तिकरण उन्मूख फिल्म ‘पिंक’ लाई जति विषयगत हिसाबले सराहाना गरियो, उति यसका लिडमा रहेका अभिनेता अमिताभ बच्चनको कामका लागि गरियो । ‘पाच्र्ड’ बाट राधिका अप्टेले पनि प्रशंसा बटुलिन् । यस फिल्ममा पनि मरुभूमिजस्तै लाग्ने गाउँका चार महिलाले दैत्यरूपी पुरुषबाट भोग्नुपरेका आततायी घटनाको फेहरिस्त पस्केको छ । समीक्षकले अत्यधिक प्रशंसा गरेको यस फिल्ममा दिइएका केही इन्टिमेट सिनका कारण पनि चर्चा बढेको थियो । त्यसबाहेक ‘एम एस धोनी’, ‘ए दिल है मुस्किल’, ‘कपुर एन्ड सन्स’, ‘अलिगढ’ पनि वर्षभर चर्चामा रहिरहे भने वर्षको अन्त्यमा आमीर खानले ‘दंगल’ मच्चाइरहेका छन् ।

प्रकाशित : पुस १७, २०७३ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?