आकाश नेतृत्वको प्यानल घोषणा

नेपाल चलचित्र निर्माता संघ

काठमाडौं — नेपाल चलचित्र निर्माता संघलाई ‘सही दिशा दिन’ निर्माता आकाश अधिकारी अध्यक्षसहित प्रस्तावित १७ सदस्यीय कार्य समितिका लागि बिहीबार उम्मेदवारी घोषणा भएको छ ।

आकाश नेतृत्वको प्यानल घोषणा

पुस २ मा हुन लागेको निर्माता संघको १४ औं साधारणसभाले नयाँ नेतृत्वसहितको कार्यसमिति चयन गर्दै छ । यसका लागि आकाश अध्यक्ष रहने गरी महासचिवमा छविराज ओझा, कोषाध्यक्ष सुशील पोखरेल र सचिवमा गोविन्द शाहीसहित सदस्यहरूमा करिश्मा मानन्धर, दीपकराज गिरी, चेतन सापकोटा, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, योगेश घिमिरे, भानुप्रताप, निकिता पौडेल र रौनकविक्रम कँडेलले साझा प्यानल बनाई उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई उपाध्यक्ष र दुई मनोनीत सदस्य भने निर्णय हुन बाँकी रहेको बताइएको छ ।
‘निर्माता भनेको फगत व्यापार गर्नका लागि मात्रै फिल्म उद्योगमा प्रवेश गरेको हुँदैन, ऊ बौद्धिक लगानीकर्ता पनि हो भन्ने पुष्टि गर्नका लागि पनि यो हाम्रो उम्मेदवारी हो,’ आकाशले प्यानल घोषणापछि भने, ‘व्यवस्थित फिल्म प्रदर्शनी, विदेशी लगानी भित्र्याउन चलचित्र नीतिलाई अझ प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई दबाब दिन पनि यो टिमले नेतृत्व खोजेको हो ।’

आकाशले आफूले नेतृत्व पाएको खण्डमा बक्सअफिस लागू गराउनेसँगै निर्माताले पाउने सेयर प्रतिशतमा समेत नयाँ अवधारणासहित अघि बढ्ने बताए । ‘हामी पहिलो बैठकबाटै सेयरका बारेमा नयाँ निर्णय गर्दै छौं,’ उनले थपे ।

उक्त नेतृत्वप्रति ऐक्यबद्धता जनाउन चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका हालका निर्माता संघ अध्यक्ष राजकुमार राई, प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, कलाकार संघ अध्यक्ष रामकेशर बोगटीलगायत उपस्थित भएका थिए ।

‘निर्माता संघको नेतृत्व आपसी समझदारीमा छानौं, निर्वाचन नै गर्नुपर्छ जस्तो लाग्दैन,’ करिश्मा मानन्धर भनिन् ।

हालै मात्र प्रदर्शनको ७५ औं दिने सफलता चाखिसकेको ‘छक्का पञ्जा’ का निर्माता दीपकराजले फिल्मले ग्रस कलेक्सन धेरै गरे पनि आफ्नो खल्तीमा परेको रकमले चकित भएको टिप्पणी गरेका थिए । उनले भने, ‘४ करोड ३० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको ठाउँमा हामीले एक करोड रुपैयाँ मात्रै पायौं । ‘छक्का पञ्जा’ को सेयर देखेपछि पनि अब केही गर्नै पर्छ भन्ने लागेर संघमा आउन खोजेको हुँ । नत्र यसअघि म कुनै क्लबको सदस्यसमेत भएको छैन ।’ 

उता, निश्चलले पनि निर्माताले जोखिम मोलेर ठूलो लगानीमा फिल्म बनाए पनि सेयर बाँडफाँड भने नियमसम्मत हुन नसकेको जिकिर गरे । उनले थपे, ‘कि हलवालाले पनि फिल्म नचल्दा हुने जोखिमको हिस्सा उठाओस् । हैन भने कति निर्माताहरू कमाइन्छ भनेर हाम फालेर निर्माणमा आउँछन् । तर अगाडि कत्रो खाल्डो छ भन्ने देखिरहेका छैनन् ।’ अर्का निर्देशक/निर्माता दीपेन्द्रले आफ्नो लागि आफैं केही गरौं भन्ने नारासहित उम्मेदवारी दिएको भन्दै काम गर्न नसके पद ओगटेर नबस्ने बताए ।

प्रकाशित : मंसिर १८, २०७३ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?