१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘एल्बम ननिकाले हराइन्छ’

सजना बराल

काठमाडौं — गायक रामकृष्ण ढकालले गएको भदौ ३० मै आफ्नो नयाँ एल्बम ‘आवरण’ लोकार्पण गर्ने तय गरेका थिए ।

 ‘एल्बम ननिकाले हराइन्छ’

कतिपय इष्टमित्र र सञ्चारमाध्यमलाई निम्तो पत्र पठाइसकेका थिए । आफ्ना तर्फको तयारी पनि लगभग सकिएको थियो । तर, निश्चित मितिमा कार्यक्रम भएन । उनले निम्तालु सबैलाई असोज १५ मा मात्रै होटल सोल्टीमा जमघट भइदिन आग्रह गर्दै अन्तिम घडीमा म्यासेज पठाए ।

असोज १५, ढकालको ४० औं जन्मदिन । यही मितिमा उनले जीवनको पन्ध्रौं एल्बम श्रोतामाझ ल्याउन लागेका छन् ।

‘जिन्दगीभर जेका लागि मरिमेटिएको छ, त्यसमै कम्प्रोमाइज गरे केमा चाहिँ नगर्ने ?’ केही दिनअघि कान्तिपुरसँगको भेटमा उनले आफ्ना कुरा राखे, ‘रुघाखोकी लाग्लाजस्तो भयो । एल्बमको कभरमा पनि एक/दुइटा मसिना त्रुटि भेट्टाएपछि तुरुन्त कार्यक्रम गर्न ठीक लागेन ।’ अन्तत: घटस्थापनाका दिन उनले सानदार प्रस्तुतिसहित एल्बम सार्वजनिक गर्ने अर्को मिति तय गरे ।

अघिल्लो एल्बम ‘बाँचुन्जेलीलाई’ मा भारतकी वरिष्ठ गायिका लता मङगेस्करसँग युगल गाएका ढकाल यस पालि पनि भारतीय गायिकासँगै सुनिइरहेका छन् । केही महिनाअघि युटयुबमा राखिएको ‘तिमी आएनौ...’ गीतमा उनलाई सञ्जीवनीले साथ दिएकी छन् । थुप्रै नेपाली फिल्मका गीतमा स्वर दिएका यी दुवै सुरकर्मीले पहिलो पटक एकसाथ गाएका हुन् ।
‘विदेशीहरूसँग गाउँदा आफ्नो स्तर र कमजोरी थाहा पाइन्छ,’ उनले भने, ‘श्रोताले पनि नौलोपन महसुस गर्लान् ।’

नयाँ/नौलोकै प्रसंगमा ढकालले ‘आवरण’ मा भिन्न प्रयोग गर्न खोजेको उल्लेख गरे । उनका अनुसार एल्बममा पूर्वीय आधुनिक शैलीका गीतमा थोरै पश्चिमा ताल मिसाइएको छ । शास्त्रीय लयलाई सुगम भाकामा फयुजन गराएर बेग्लै झङ्कार तयार पारिएको छ । ‘मेरो पुरानो शैलीलाई कायम राख्दै संगीत र संयोजनको प्याटर्न बदलेको छु,’ उनले भने, ‘यसो गर्दा पुराना र नयाँ दुवैथरी श्रोतालाई सम्बोधन हुन्छ भन्ने लागेको छ ।’

ढकालसँगै र उनीपछि संगीतमा लागेर राम्रो स्तर निर्माण गरेका थुप्रै संगीतकर्मी अहिले यो क्षेत्रमा सक्रिय रूपमा लागेका छैनन् । केहीले फाट्टफुट्ट एल्बम निकाले पनि पहिलेको जस्तो चर्चा उनीहरूले पुन: हासिल गरेको देखिन्न । तर, ढकाल अपवादमा पर्छन् । उनी वर्षौंदेखि अथक रूपमा संगीतकर्ममा लागिरहेका छन् । प्रत्येक चोटि एल्बम र गीत निकाल्दा श्रोताको सद्भाव पाउन छोडेका छैनन् । ‘हुन त मैले एल्बम ननिकाले पनि हुन्थ्यो,’ उनले भने, ‘बेलाबेलामा म्युजिक भिडियो रिलिज गरिदिए पुग्छ अब । तर, म यस्तो गर्दिनँ । मेरा लागि एल्बम सांगीतिक दस्तावेज हो । अहिले हामीले एल्बम ननिकाल्दा इतिहासले त यो बेलाको प्रमाण नै भेटदैन ।’

संगीतलाई लुगाको फेसनझैं मान्ने उनले ट्रेन्ड परिवर्तनको समयरेखा निकाल्न पनि एल्बम नभई नहुने बताए । उनको नयाँ एल्बममा ११ गीत छन् जसलाई विन्ध्यावासिनी म्युजिकले बजार व्यवस्थापन गर्दै छ ।

प्रकाशित : आश्विन १२, २०७३ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?