सेल्फी र तन्नेरी पुस्ता

कान्तिपुर संवाददाता

काठमाडौं — क्यानभास अघिल्तिर शून्य शून्य टोलाइरहेका बेला जेनी घलेको दिमागमा एउटा दृश्य आयो– सेल्फी खिच्ने पछिल्लो पुस्ताको लत । उनी आफैं पनि सेल्फीका प्रेमी हुन् ।

‘साथी भाइ भेट्यो त सेल्फी नहानी मनै मान्दैन,’ उनले भनिन्, ‘अनि यही बानीलाई चित्रमा किन नउतार्ने भन्ने लाग्यो ।’ दृश्य त उनले क्यानभासमा उतारिन् । तर, गम्भीर बहसको विषय उठाउँदै । सेल्फी कल्चरसँगै पछिल्लो पुस्ता कतै एक्लिँदै त गइरहेको छैन ? व्यंग्यात्मक प्रस्तुति भए पनि उनको चित्रले यतातिर सोच्न बाध्य बनाउँछ ।

जेनीले जस्तै यति बेला राजधानीमा युवा कलाकारले समसामयिक विषयवस्तुमाथि कलात्मक अभिव्यक्ति दिएका छन् । बबरमहलस्थित सिद्र्धाथ आर्ट ग्यालरी र नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी जारी छ । ‘द सोलस अफ आर्ट’ शीर्षकमा गरिएको प्रदर्शनीमा चित्रसँगै प्रतिस्थापनकला पनि देख्न पाइन्छ । जेनीले ‘इचिङ’ माध्यमबाट सेल्फी दुनियाँ देखाएकी छन् ।

अनिल शाहीको प्रतिस्थापन कला साधारण तर गहकिलो लाग्छ । दराजका सिसा फुटेका छन् । त्यसभित्र चाहिँ ब्यानर, पोस्टर, खादा लगायत वस्तु राखेका छन् । बाटोमा जे देखे त्यही संकलन गरेर ल्याएको उनले बताए ।

सिसाचाहिँ किन फुटाएको ? ‘एना पनि त कुरूप हुन्छ नि,’ उनले दार्शनिक लाग्ने जवाफ दिए, ‘ऐनाको निश्चित रूप हुँदैन । जे अगाडि उभिन्छ आकृति बनाउँछ । यही भावलाई प्रस्ट्याउन चाहेको हुँ ।’

मुना बडेल चित्रको विषयवस्तु खोज्दै टाढा गइनन् । हजुर आमाले आफ्ना जवानीका दिन सम्झँदै कुनै बेला उनलाई सुनाएकी थिइन्– ‘बैंसमा म निकै राम्री थिएँ, अहिले पो बूढी भएँ ।’ यसैलाई उनले क्यानभासमा उतारेकी छन् ।

सन्ध्या सिलवालले चाहिँ नेपाली कागजमा कला पस्किएकी छन् । मिक्स मिडियाको माध्यम अपनाएकी उनले मानव जीवन चक्रलाई माकुरा र नवाजत शिशुको प्रतिबिम्बमा कलात्मक ढंगले उतारेकी छन् । जीवन सुवालले भूकम्पको प्रभाव कोरेका छन् ।

नेपाल आर्ट काउन्सिलमा चाहिँ ३१ जना कलाकारका सिर्जना छन् । कृष्णगोपाल श्रेष्ठले भूकम्पपछिको शून्य सहरको अवस्थालाई आवाजविहीन घण्टाको आकृतिमार्फत् अभिव्यक्त गरेका छन् । अर्को चित्रमा उनले भूकम्पले क्षति पुर्‍याएको सांस्कृतिक सम्पदाहरूलाई उतारेका छन् ।

अशुराम खाइजू, विजेन्द्र श्रेष्ठ, डंकनदास चौधरी, दिल्लीराज घिमिरे, गजेन्द्र श्रेष्ठ, गणेशकुमार जिसी, हरिप्रसाद वैद्य, कृष्ण लामा, कैलाश श्रेष्ठ, सुनीता महर्जन लगायतका चित्र प्रदर्शनीमा छन् । भूकम्पपीडित कलाकारलाई बंगलादेशका कलाकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट यी चित्रहरू कोरिएका हुन् ।

काठमाडौं कन्टेम्प्ररी आर्टस् सेन्टर र बिन्दु स्पेस अफ आर्टिस्टले गरेको प्रदर्शनी मार्च २९ सम्म चल्नेछ ।

प्रकाशित : चैत्र ७, २०७२ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

चरीमायालाई सम्मान

कान्तिपुर संवाददाता

काठमाडौं — चेलीबेटी बेचविखनविरुद्धकी अभियानकर्ता चरीमाया तामाङलाई हङकङमा सम्मान मिलेको छ । चेतनामूलक सामाजिक योगदानका लागि उनलाई तामाङ घेदुङ हङकङले सम्मान गरेको हो ।

शक्ति समूहकी संस्थापक सदस्य चरीमायालाई नगदसहित सम्मान गरिएको हङकङ घेदुङका अध्यक्ष प्रेम लामा मोक्तानले जनाए ।

हङकङको जोर्डनस्थित कंगन रेस्टुरेन्टमा सम्पन्न सम्मान तथा भेटघाट समारोहमा नेपाली महिला संघ हङकङकी अध्यक्ष रिता गुरुङ, एनआरएन हङकङका अध्यक्ष ललित सुब्बा, हङकङ च्याम्बर अफ कमर्सका अध्यक्ष दसुराम पराजुली, उपाध्यक्ष कमल पौडेल, जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापा, घेदुङ उपाध्यक्ष भावेश घिसिङ, सचिव विश्वनाथ घिसिङ लगायतले चरिमायाको योगदानको प्रशंसा गरे ।

चरीमायाले आफ्नो संघर्षका कथा सुनाउँदा कार्यक्रमका सहभागीहरू भावुक बनेका थिए । कुनै समय आफैं मुम्बईको कोठीमा बेचिएकी चरीमाया सन् १९९६ मा उद्धार भएर काठमाडौं आएकी थिइन् । यसपछि उनी शक्ति समूह नामक संस्था खोलेर बेचविखनविरुद्धको अभियानमा लागिन् । यही अभियानकै लागि अमेरिकी सरकारले चरीमायालाई चार वबर्षअघि ‘आधुनिक दासताविरुद्धको नायक’ अवार्ड दिएको थियो ।

‘उहाँको मनछुने कथाले हामी सबैलाई भावुक बनायो,’ हङकङ घेदुङ अध्यक्ष प्रेम लामा मोक्तानले भने, ‘चेलीबेटी बेचविखनविरुद्धको अभियानमा उहाँले निकै ठूलो योगदान पुर्‍याउनुभएको रहेछ ।’ कार्यक्रममा घेदुङ कोषाध्यक्ष किरण स्याङ्बोको पहलमा आर्थिक संकलन गरी चरीमायालाई सम्मान स्वरूप हस्तान्तरणसमेत गरिएको मोक्तानले जनाए ।

प्रकाशित : चैत्र ७, २०७२ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×