२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

रौद्र रेखा

निरन्तर विवाद तैपनि 'लाइमलाइट' मा
गोकर्ण गौतम

काठमाडौ — सुनसरीको इटहरीमा २०५४ सालतिर चण्डाल फिल्मको सुटिङ भइरहेको थियो, मुख्य भूमिकामा थिए, राजेश हमाल ।

रौद्र रेखा


मौका परे राजेशसँग फोटो खिच्ने, नभए कम्तीमा नजिकबाट हेर्ने लालसा बोकेर सलकपुर, मोरङकी एक किशोरी इटहरी धाइरहन्थिन् । तर, राजेशजस्ता ठूला स्टारसँग फोटो खिच्ने अवसर उनले पाइनन् । नजिकबाट हेरेरै चित्त बुझाइन् ।

भाग्य नै मान्नुपर्छ, त्यसको दुई वर्षपछि तिनै किशोरीले राजेशसँग कम्मर मर्काउने मौका पाइन्, फिल्म हिरोको 'तिम्रो मन त चक्कु छुरा...' बोलको गीतमा । चिनाइरहनु नपर्ला, ती किशोरी अरू कोही नभएर अहिलेकी चर्चित हिरोइन रेखा थापा थिइन् ।

उनी राजेशको कतिसम्म फ्यान थिइन् भने गीतमा उनको बुई चढेको दृश्य खिचिदिन निर्देशक नरेश पौड्याल र कोरियोग्राफर कमल राईसँग आग्रहसमेत गरेकी थिइन् । तर, आफ्ना 'डि्रम हिरो' राजेशप्रति रेखाको सम्मान केही वर्ष पनि टिक्न पाएन । उनले सार्वजनिक रूपमै राजेश 'असामाजिक' भएको प्रतिक्रिया दिइन् । सम्भवतः फिल्म क्षेत्रको कुनै व्यक्तिले राजेशको विषयमा गरेको सबैभन्दा तीतो टिप्पणी यही हो । यो घटनापश्चात् उनीहरूबीच बोलचाल बन्द भयो भने फिल्ममा पनि सँगै देखिएनन् । तर, उनलाई कुनै पश्चात्ताप छैन । अहिले पनि जंगिँदै भन्छिन्, "सुटिङ सेटमा देखाउने घमन्डी व्यवहार हेर्दा उहाँ (राजेश) मलाई असामाजिक नै लाग्थ्यो ।"

राजेश मात्र होइन, दर्जनभन्दा बढी फिल्मकर्मीसँग रेखाको सम्बन्ध सुमधुर छैन । हिजो जससँग अत्यन्त नजिक थिइन्, आज उनीहरू नै परमशत्रु भएका छन् । पूर्वपति छविराज ओझादेखि नायक आर्यन सिग्देल र निर्देशक श्याम भट्टराईसम्म यो सूचीमा पर्छन् । उनका डेब्यु निर्देशक नरेशकै शब्दमा भन्दा नेपाली फिल्मवृत्तमा अहिले पनि रेखा एउटा कित्ता र अरू सबै अर्को कित्तामा छन् । कसैसँग हाकाहाकी त कसैसँग शीतयुद्ध छ । करिअरजस्तै उनको असफल सम्बन्धहरूले पनि शिखर चुमिरहेको छ ।

पछिल्लो समय पूर्वपति छवि र दाइ मान्दै आएका निर्देशक श्यामसँगको झगडाका कारण उनी विवादमा फसेकी छन् । तीन वर्षअघि सम्बन्धविच्छेद गर्दाभन्दा अहिले छविसँगको लफडा उत्कर्षमा पुगेको छ ।

१९ फागुनमा रेखाले फेसबुकमा एउटा लामो स्ट्याटस लेखिन्, जसले नेपाली फिल्मवृत्तमै तहल्का मच्चायो । स्ट्याटसमा उनले छविलाई 'पशु', 'मानसिक सन्तुलन गुमाएको'जस्ता अत्यन्त तल्लो स्तरको गाली गरेकी थिइन् । छविले एक म्यागेजिनमा 'रेखाले बच्चा चाहिन' भनेर अन्तर्वार्ता दिएको झोँकमा रेखा त्यसरी बम्किएकी थिइन् ।

त्यसपछि पनि उनीहरूबीच आरोप-प्रत्यारोप रोकिएको छैन । रेखा 'चाहेको भए छविलाई सडकमा ल्याउन सक्थेँ' भनेर धम्की दिइरहेकी छन् भने छवि 'रेखालाई घाँस काट्दा काट्दै हिरोइन बनाएको हुँ' भनेर फुर्ती लगाइरहेका छन् । जबकि, सम्बन्धविच्छेद गर्नुअगाडि रेखा व्यावसायिक जीवनमा छविलाई 'गडफादर' मान्थिन् भने व्यक्तिगत जीवनमा 'ड्याडी' भनेर सम्बोधन गर्थिन् । छवि पनि रेखालाई औधी माया गरेजस्तो देखाउँथे । तर, अहिले सम्बन्ध कतिसम्म बिग्रिएको छ भने दुवै एकअर्काको नामसमेत लिन चाहँदैनन् ।

छविसँग त पहिल्यैदेखि सम्बन्ध राम्रो थिएन तर पछिल्लो केही समययता निकै सहयोग गररिहेका निर्देशक श्याम भट्टराईलाई पनि गुमाएकी छन् रेखाले । तीन महिनाअगाडि महेन्द्रनगरमा आफ्नै लगानीको फिल्म हिम्मतवालीको सुटिङ सेटबाट निकालेपछि सुरु भएको झगडा अझ साम्य भएको छैन । उनले सुटिङ स्पटमा श्यामले राम्रो व्यवहार नगरेको र अपेक्षा अनुसार सुटिङ नगरेको आरोप लगाएकी थिइन् । तर, उनको आरोपमा दम किन छैन भने यसअगाडि श्यामकै निर्देशनमा उनले अभिनय गरेको फिल्म लंका हिट भएको थियो । त्यसमाथि सुटिङ सेटबाटै निर्देशकलाई निकाल्नु नैतिक र व्यावसायिक रूपमा पनि उचित मानिँदैन ।

एक्सन स्टारद्वय निखिल उप्रेती र विराज भट्टसँग पनि रेखाको बोलचाल छैन । आफूले बनाएको फिल्म हिम्मतमा निखिलले उच्च पारश्रिमिक माग गरेपछि उनको सम्बन्ध बिग्रिएको थियो । सँगै स्टारडमका कारण पनि निखिलविरुद्ध उनी खनिइन् । विवाद बढ्दै गएपछि दुवैले एकअर्कासँग फिल्म नखेल्ने घोषणा गरे ।

निखिललाई ठेगान लगाउन भन्दै रेखाले अर्का एक्सन स्टार विराजसँग दोस्ती सुरु गरनि् । रेखाकै ब्यानरको किस्मत र हिम्मतमा उनीहरू सँगै देखिए । दुवै फिल्म हिट भए तर विराजसँगको सम्बन्ध पनि टिक्न सकेन । रेखा भन्थिन्, "विराजको भाग्य रेखा फिल्म्सको किस्मतले चम्काएको हो ।" तर, विराजले पहिलो फिल्म अग्निपथबाटै आफू हिट भएको दाबी गरे । त्यसपछि उनीहरूबीच पानी बाराबारको स्थिति सिर्जना भयो । अघिल्लो वर्षको दसैँमा पनि रेखा र विराज एकअर्काविरुद्ध उत्रिए । रेखा फिल्म्सको काली र विराजको दामिनी एकै दिन रिलज हुने भएपछि झगडा गर्न नयाँ बहाना मिलेको थियो । उनले विराजलाई 'मरेको कुकुरले सिकार गर्दैन' भनिन् भने विराजले 'अवधि सकिएकी हिरोइन'को संज्ञा दिए ।

निखिल र विराजसँग सम्बन्ध टुटेपछि रेखा आफ्नै फिल्म किस्मतबाट डेब्यु भएका चकलेटी हिरो आर्यन सिग्देलसँग नजिक भइन् । हिफाजतमा पनि आर्यनसँग रोमान्स गरनि् तर तेस्रो फिल्म कसले चोर्‍यो मेरो मनसम्म आइपुग्दा उनीहरू एकअर्काका शत्रुजस्ता भए । उनी आर्यनले सफलताको क्रेडिट आफूलाई दिऊन् भन्ने चाहन्थिन् तर आर्यन रेखालाई 'भाउ' दिँदैनथे । किनभने, आर्यन किस्मतका निर्माता छवि र निर्देशक उज्ज्वल पौड्याललाई 'गडफादर' मान्थे । त्यसमाथि कसले चोर्‍यो मेरो मन प्रदर्शनताका एक टेलिभिजन अन्तर्वार्तामा आर्यनले करिअरको उत्कृष्ट फिल्म मेरो एउटा साथी छ भनिदिएपछि उनी आगो भइन् । त्यसयता यी दुवैको न बोलचाल छ, न फिल्ममा सँगै काम गरेका छन् । यही रसिले हुनुपर्छ, रेखाले सविन श्रेष्ठ, किशोर बुढाथोकी, नरेन खड्काजस्ता नयाँ हिरोलाई आफ्ना फिल्ममा मौका दिइन् ।

रेखाले सम्बन्ध टिकाउन नसकेको अर्का नायक हुन्, यशकुमार । बाटोमुनिको फूलमा सँगै काम गरेपछि उनको यशकुमारसँग गहिरो दोस्ती थियो । देश/विदेशमा हुने सांस्कृतिक कार्यक्रममा पनि सँगै सहभागी हुन्थे । तर, आफू अमेरकिा गएका बेला सुटुक्क काली शीर्षक दर्ता गरेर फिल्म बनाएपछि यशकुमारले चित्त दुखाए । किनभने, सुरुमा दुवैले मिलेर फिल्म बनाउने सहमति भएको थियो । तर, सहमति तोडेपछि बोलचाल नै बन्द भयो । यही रसिका कारण हुनुपर्छ, बाटोमुनिको फूलको सिक्वेलमा उनले रेखालाई नखेलाउने घोषणा गरेका छन् ।

हिरोसँग मात्र होइन, हिरोइनसँग पनि रेखाको सम्बन्ध राम्रो छैन । उनले निर्देशक नारायण पुरीलाई फिल्म ए फर अमेरिकाबाट नम्रता श्रेष्ठलाई हटाउन दबाब दिएकी थिइन् । कतिपयले नम्रताको बढ्दो लोकपि्रयता सहन नसकेर रेखाले यस्तो व्यवहार गरेको आरोप लगाउँछन् । तर, उनी स्वयं भने सेक्स भिडियो सार्वजनिक भएको हिरोइनसँग फिल्म खेल्दा आफ्नो पनि इमेज बिग्रने भएकाले नम्रतासँग फिल्म खेल्न नमानेको तर्क गर्छिन् । उनी अझै पनि नम्रतालाई 'युट्युब हिरोइन' भन्दै व्यंग्य गर्छिन् । नम्रताभन्दा अगाडि अरुणिमा लम्सालसँग उनको सम्बन्ध बिग्रिएको थियो । नरेश पौड्यालले ०५८ सालमा यस्तै रहेछ जिन्दगानीबाट अरुणिमालाई डेब्यु गराएको नै उनलाई मन परेको थिएन । अरुणिमा आफूभन्दा माथि पुग्छिन् भन्ने भय थियो उनमा । त्यसैले उनी अरुणिमासँग कहिल्यै नजिक भइनन् । अर्की नायिका झरना थापासँग पनि उनको मनमुटाव रहेको बताइन्छ ।

हिरो/हिरोइन त प्रतिस्पर्धी भएका कारण विवाद भयो होला भन्ने अनुमान लगाउन सकिन्छ । तर, निर्देशकहरूसँग पनि फिल्मको काम सकिएपछि बोलचाल बन्द भएका घटनाले उनको आलोचना गर्नेहरूलाई बल पुगेको छ । जस्तो कि, हिम्मत प्रदर्शनपछि त्यसका निर्देशक दीपक श्रेष्ठसँग उनको बोलचाल बन्द भयो । दीपकले हिम्मत-२ बनाएपछि रेखाले आक्रोश पोखेकी थिइन् । हिफाजत प्रदर्शनपछि निर्देशक ज्ञानेन्द्र देउजासँग पनि उनको सम्बन्ध बिग्रियो । लेखक मौनता श्रेष्ठसँगको दूरी पनि बढेको छ ।

आलोचकहरू के भन्छन् भने रेखा हरेक मान्छेलाई चुइगमजस्तै ठान्छिन्, गुलियो हुन्जेल चपाउने, सकिएपछि फालिदिने । संगीतकार चेतन सापकोटा रेखाले आफूलाई यस्तै व्यवहार गरेको दुखेसो पोख्नेमध्ये एक हुन् । रेखालाई एमाओवादीमा प्रवेश गराउनेदेखि पार्टीका उच्च नेताहरूसँग भेट गराउने र दोस्रो संविधानसभाको निर्वाचनमा पर्साबाट टिकट दिलाउन आफ्नो महत्त्वपूर्ण भूमिका रहेको दाबी छ उनको । रेखालाई चलचित्र विकास बोर्डका अध्यक्ष बनाउन पनि लागिपरेका चेतनले अन्त्यमा आफैँ धोका खाए । "रेखाको पक्षमा त्यति धेरै लागेँ तर उहाँचाहिँ मलाई जथाभावी भन्दै हिँड्नुहुँदो रहेछ," चेतन भन्छन्, "मसँगको सम्बन्ध त काम छउन्जेल मात्र रहेछ ।" भलै यो कुरा रेखा स्वीकार्दिनन् । आफूलाई विकास बोर्डका अध्यक्ष बनाउन होइन, बनिरहेको माहौल पनि भाँड्ने काममा चेतन लागेको आरोप छ उनको ।

उसो त चेतनसँग मात्र होइन, एमाओवादी पार्टीसँगै रेखाको सम्पर्क टुटेको छ । एमाओवादीले उनलाई पर्साबाट टिकट दिइसकेको थियो । तर, मतदाता सूचीमा नाम नभएका कारण चुनाव लड्न पाइनन् । तैपनि, पार्टीका लागि भोट माग्दै जनताको घरदैलो पुगिन् । तर, चुनावपश्चात् पार्टी तेस्रो स्थानमा खुम्चिएपछि आफू एमाओवादीमा नलागेको बताइन् ।

प्रचण्ड-पुत्र प्रकाश दाहालसँग बन्दै गरेको सम्बन्ध पनि तोडिएको छ । बेला-कुबेला फोन गर्ने, जिस्केर बोल्ने र इज्जत नगरेपछि रेखाको फोन नम्बर प्रकाशले ब्ल्याक लिस्टमा राखेको उनका नजिकका साथीहरू बताउँछन् । तर, रेखा भन्छिन्, "प्रकाशसँग मेरो सम्बन्ध कहिले राम्रो थियो र अहिले बिग्रने ?"

आफ्नो जति नै बचाउ गरे पनि रेखा व्यक्तिगत र व्यावसायिक सम्बन्ध टिकाउ बनाउन सक्दिनन् भन्ने प्रस्ट भइसकेको छ । खासमा उनी किन यति घमन्डी भइन् त ? सरसर्ती हेर्दा यसमा दुई कारण देखिन्छन् । पहिलो, उनी गाउँका मुखियाकी कान्छी छोरी हुन्, लाडिएर हुर्किन्, जे भन्यो, परिवारले त्यही पुर्‍याउँथ्यो । सोही कारण बच्चैदेखि उनमा अरूलाई नगन्ने स्वभाव र घमन्डीपनको विकास हुँदै गयो, जुन अहिले पनि निरन्तर छ । दोस्रो तर महत्त्वपूर्णचाहिँ, उनले पाएको सफलता नै हो । नेपाली फिल्ममा अहिलेसम्म रेखाको जति स्टारपावर अरू नायिकाको देखिएको छैन । पुरुष वर्चस्व रहेको फिल्म उद्योगमा १० वर्षदेखि प्रभुत्व कायम गर्नु चानचुने कुरा होइन । उनी जुन समय फिल्ममा प्रवेश गरनि् र सफलता पाइन्, त्यतिबेला नेपाली समाजमा बल्ल नारी चेतनाका मुद्दा उठ्दै थिए ।

सुरुका फिल्ममा छोटा लुगा लगाएर चर्चा कमाए पनि पछिल्लो समय उनी एक्सन भूमिकामा देखिन थालेकी छन् । एक्सन भूमिका हिरोले मात्र गर्न सक्छन् भन्ने मान्यता पनि तोडिन् रेखाले । छोटा कपडा र एक्सन भूमिकाको सूत्र बक्स अफिसमा हालीमुहाली जमाउन काफी भयो । अभिनय मात्र होइन, फिल्म निर्माणमा पनि सफल भइन्, जसका कारण पुरुषसँग पंगा लिन सामथ्र्य आयो उनमा । भन्छिन्, "पुरुषले गर्ने हरेक काम गर्न सक्छु भने मैले किन नगर्ने ?"

त्यसैले व्यावसायिक जीवनमा पुरुष पात्रसँग भएका विवादप्रति उनलाई कुनै पश्चात्ताप छैन । बरू अझ अगाडि बढ्न ऊर्जा मिलेको बताउँछिन् । छवि र रेखाको झगडामा जसको गल्ती भए पनि यो व्यक्तिगत मामला हो, व्यावसायिक होइन । तर, बाँकी कलाकार र निर्देशकसँगको टकरावचाहिँ व्यावसायिक झगडा नै हो ।

अचम्म के भने यति धेरै झगडा हुँदा पनि उनलाई नम्बर वान नायिका बन्नबाट कसैले रोक्न सकेन । त्यसैले हरेक झगडाका पछाडि रेखा मात्र दोषी रहेको भन्नु अपरपिक्वता ठान्छन्, रेखाको पहिलो फिल्म हिरोका निर्देशक नरेश पौड्याल । "यदि सबै झगडाकी दोषी रेखा नै हुन् भने १० वर्षदेखि कसरी नम्बर वान हिरोइन भइरहेकी छन् त ?" नरेश भन्छन्, "बरू एउटी नारीको सफलता नरुचाउने नेपाली समाजको मनोविज्ञानको सिकार भएकी हुन् उनी ।" नरेशको मूल्यांकनमा सत्यता, अर्धसत्यता या निरर्थकता जे भए पनि उनलाई रजतपटकी 'रौद्र रेखा' भने भन्न सकिन्छ ।
-नेपाल साप्ताहिक

प्रकाशित : जेष्ठ ५, २०७१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?