१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

गायकमा दीप गायिकामा रिमा

काठमाडौ — गायक दीप श्रेष्ठ 'बादलहरू हो...' र गायिका रिमा गुरुङ होडा 'तिमी छैनौ र...' गीतबाट म्युजिक खबर अवार्डका लागि सुगम संगीतमा उत्कृष्ट गायक-गायिका दरिएका छन् । संगीतका २८ विधामा आइतबार प्रदान गरिएका अवार्डमा 'बादलहरू हो...' संगृहीत 'यात्रा २' ले उत्कृष्ट एल्बमको अवार्ड पायो । गत वर्षदेखि दिन थालिएको म्युजिक खबर अवार्डको दोस्रो संस्करणमा सुगमका संगीतकारमा राजु सिंह, गीतकारमा भावेश भुमरी ('तिमी छैनौ र...') एक नम्बरमा परे ।

गजलमा 'कहर पुरानो...' का लागि मधु साश्रुले अवार्ड जिते । नवप्रतिभातर्फ अमिर शेष (गायक) र काव्या आचार्य (गायिका) उत्कृष्ट ठहरिए । अन्जु पन्त र योगेन गुरुङले 'यहाँ सँगसँगै आयौं...' बाट उत्कृष्ट युगल गायनमा अवार्ड जित्दा फिल्म पाश्र्व गायक/गायिकाको अवार्ड भने शिव परियार र दुर्गा परियारको खातामा गयो । फिल्मी गीतकारमा नरेश भट्टराईले 'बाँध न बाँध...' बोल गीतका लागि अवार्ड चुमे । फिल्मी संगीतकारमा सुरेश अधिकारी, संगीत संयोजकमा अमुल कार्की ढली र ध्वनि मिश्रणमा श्यामश्वेत रसाइली उत्कृष्ट भए । पप गायनमा 'दिनदशा...' गायक शोभित बस्याल र 'बारुले कम्मर...' गायिका माण्डवी त्रिपाठीलाई अवार्ड दिइयो । गीतकार केएल पीडितले 'मागेको छ माटोले...' बाट उत्कृष्ट राष्ट्रिय भावमा अन्य प्रतिस्पर्धीलाई उछिने । लोकदोहोरीतर्फ रामजी खाँड (गायक), मुना थापामगर (गायिका) अब्बल मानिए । भाका र शब्दका लागि क्रमशः राजन ठकुरी (हातमा लाग्यो शून्य) र शिव हमाल (कसलाई सोध्ने होला) ले अवार्ड लगे । उत्कृष्ट लोक दोहोरी 'प्रीतिको फूल...' बन्दा बालकुमार श्रेष्ठले लोकदोहोरी प्रतिभाको अवार्ड जिते । म्युजिक भिडियोसमेत लोकदोहोरी र सुगम गरी छुट्टयाइएको थियो । लोकतर्फ शंकर बीसी र अन्जु निरौलाले मोडलमा र निर्देशनमा प्रकाश भट्ट उत्कृष्ट बने । सुगमतर्फ दिवश उप्रेती र सविना कार्की मोडलमा तथा प्रदीप निरौला निर्देशनमा उत्कृष्ट मानिए । निर्देशक समाजका नवनिर्वाचित अध्यक्ष दिनेश डिसीले सञ्चालन गरेको कार्यक्रममा प्रमोद खरेल, निशा सुनार र दुर्गा परियारले एकल प्रस्तुति दिएका थिए । 'गाला रातै...' जोडी प्रह्लाद तिमिल्सिना र मिलन अमात्यले पनि गाएर माहौल तताएका थिए ।









प्रकाशित : वैशाख १६, २०७० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?