कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लन्डनमा नेपाल फूड्सलाई चारवटा 'ग्रेट टेस्ट अवार्ड'

श्रावण १७, २०८१
लन्डनमा नेपाल फूड्सलाई चारवटा 'ग्रेट टेस्ट अवार्ड'

लन्डन — नेपाल फूड्सले आफ्नो उत्कृष्ट उत्पादन हट मोमो सस, चिली आयल विथ स्रिम्प, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्सका लागि चार प्रतिष्ठित पुरस्कार जितेको छ । नेपाल फूड्सले गिल्ड अफ फाइन फुडद्वारा प्रदान गरिने ‘ग्रेट टेस्ट २०२४’ अवार्ड जितेको हो । 

हट मोमो सस र चिली आयल विथ स्रिम्प प्रत्येकले ग्रेट टेस्टको टु स्टार रेटिङ प्राप्त गरे । साथै, चिकेन मोमो र फ्लेमिङ अकबरे स्टिक्स दुवैलाई ग्रेट टेस्टको वान स्टार प्रदान गरिएको छ ।

विशेषज्ञहरूको निर्णायक प्यानलद्वारा ती उत्पादनले नेपाल फूड्सको प्रतिष्ठा अझ बलियो बनाएको कम्पनीले जनाएको छ । निर्णायकहरूले ती उत्पादनका असाधारण स्वादका लागि प्रशंसा गरेका नेपाल फूड्सका निर्देशक विकास नेपालले जनाए । यस वर्ष, कुल १३ हजार ६७२ उत्पादनले ग्रेट टेस्ट अवार्डका लागि आवेदन दिएका थिए ।

द ग्रेट टेस्ट अवार्डमा यस वर्ष ११५ देशबाट आवेदन परेको थियो । खानाप्रेमी र खुद्रा विक्रेताहरूबीच प्रतिष्ठित यस अवार्डमा ५०० भन्दा बढी निर्णायकको प्यानलले डोरसेट र लन्डनमा खाना मूल्यांकन गरेका थिए । नेपाल फुड्सका उत्पादनहरूले उच्च प्रतिष्पर्धात्मक क्षेत्रमा आफूलाई अग्रपंक्तिमा राख्दै उत्कृष्ट प्रतिक्रिया पाएको नेपालले बताए ।

नेपाल फूड्सका निर्देशक नेपालले भने, ‘हामी हाम्रा चार उत्पादनले ग्रेट टेस्ट अवार्डस् जित्दा निकै हर्षित छौं। हामीले नेपालबाट आयात गरेका उत्पादनहरूले अवार्ड पाउनु हाम्रा लागि गौरवको कुरा पनि हो ।’

नेपाल फूड्सले विगत तीन वर्षदेखि ग्रेट टेस्ट अवार्डहरू जिते पनि चार उत्पादनका लागि एकैपटक अवार्ड पाउनु नेपाल फूड्सका लागि ठूलो सफलता रहेको नेपालले बताए ।

आफ्नो उद्देश्य नेपाललाई खानाबाट विश्वव्यापी रूपमा चिनाउनु रहेको उनी बताउँछन् । नेपाल फूड्सका उत्पादन यूके, युरोप, जापान, अमेरिका र अस्ट्रेलियामा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : श्रावण १७, २०८१ ०७:२०
x
×