बेलायत — बेलायतमा ‘साहित्यलाई पाककलासँग पस्किने’ अभियान सुरु भएको छ । साहित्यसँग नेपाली खानाको संरक्षण, संवर्द्धन गर्न विदेशमा उक्त कार्यक्रम संचालन गरेको साहित्यकार डा संगीता स्वच्छाले बताइन् । बेलायतमा रहेका नेपालीको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा गुरखावुडककइन फेल्ब्रिजका सुरज पाण्डेले अभियानले विदेशमा नेपाली साहित्यलाई प्रचारप्रसार गर्न मद्दत पुगेको बताए ।
‘पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै उत्साहित छौं, ‘साहित्यलाई पाककलासँग पस्किने’ यसले साहित्यलाई मात्र प्रवर्द्धन गर्दैन, हाम्रो पाककला प्रतिको प्रेमसमेत झल्काउँछ,’ उनले भने, ‘नेपाली खाना बेलायतमा पहिले नै लोकप्रिय छ, र अब हामी ग्राहकहरूलाई यी पुस्तक हस्ताक्षर कार्यक्रमहरूको माध्यमबाट नेपाली खाना र साहित्यको स्वादसँगै दिन्छौं।’ किताबका अनुवादक जयन्त शर्माले भने, ‘यो अभियानले मलाई निकै उत्साहित बनाएको छ, नेपाली साहित्यलाई विश्वमा पुर्याउने हाम्रो सहकार्य यसरी अगाडि बढेको देखेर म रोमाञ्चित छु।'
साहित्यकार संगीता स्वेच्छाले विदेशमा नेपाली साहित्यको विभिन्न माध्यमद्वारा प्रचारप्रसार गर्न पाउँदा गौरव महसुस गर्न पाएको बताइन् । ‘थोरै भए पनि ‘रोजेज ओडिसी’ कथाहरूमार्फत नेपालीमाझ पस्किन पाएको छु, पुस्तक हस्ताक्षर कार्यक्रमले निकै उत्साहित भएकी छु,’ उनले भनिन् ।
बुकहिल इन्टरनेशनलबाट प्रकाशित स्वेच्छाको कथासंग्रह, ‘रोजेज ओडिसी’ यसअघि नै बेलायतमा विमोचित भएको हो । उक्त पुस्तक गैर–नेपाली पाठकहरूमाझ लोकप्रिय हुँदै गइरहेको छ । बेलायतभरि विभिन्न स्थानमा साहित्यकार स्वेच्छाले पुस्तकको हस्ताक्षर कार्यक्रम सम्पन्न गरिसकेको बताइन् । ‘यो यात्रा जारी रहन्छ, विदेशीमा रहेर पनि म नेपाली साहित्य स्वाद विभिन्न माध्यमद्वारा दिन्छु,’ उनले भनिन् ।