अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेको नेपालीको संस्था नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले समाजमा विभिन्न योगदान पुर्याएका ३४ जना नेपालीलाई सम्मानित गरेको छ । न्याभले हरेक दुई वर्षमा समाजमा उत्कृष्ट योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ ।
न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले न्याभले यस वर्ष विभिन्न १६ विधाअन्तर्गत ३४ जना व्यक्ति सम्मानित गरेको जानकारी दिए । भिक्टोरियामा रहेका नेपालीको सबैभन्दा पुरानो संस्था न्याभले खेलकुदका साथै विभिन्न सामाजिक तथा परोकारी काममा लामो समयदेखि काम गर्दै आएको छ ।
न्याभले प्रदान गर्ने लाइफटाइम एचिभमेन्ट अवार्डबाट डा. राजु अधिकारी सम्मानित भएका छन् भने न्याभ अवार्डद्वारा सनराईज चिल्ड्रेन एसोसिएसन इंक सम्मानित भएको छ ।
सामुदायिक नेतृत्वतर्फ डा. अनुपम पोखरेल र पत्रकार निरु त्रिपाठी सम्मानित भएकी छिन् । यसैगरी दिदीबहिनी समाज भिक्टोरियालाई उत्कृष्ट सामाजिक संस्थाको सम्मान मिलेको छ । व्यावसायिक नेतृत्वमा व्यवसायी भीम न्यौपाने र डा. सरोजनी मास्के, उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्वमा म्याक्सिम्याक्स एजुकेसन, एक्सपर्ट एजुकेसन र ग्रेस इन्टरनेसनललाई सम्मानित गरिएको छ । सशेन्द्र गौतम केसी र इन्द्र अधिकारीलाई उत्कृष्ट नेता तथा उत्कृष्ट स्वयंसेवकमा अमृता गुरुङ, शोभा पौडेल, मीना मल्ल ठकुरी, कृष्ण महतो र नारायण कटुवालका साथै उत्कृष्ट शिक्षा च्याम्पियन्समा ब्लु लोटस कलेज र चन्डलर आरटीओले सम्मान पाएका छन् ।
न्याभको विज्ञप्तिअनुसार एज्ड केयर क्षेत्रमा उत्कृट योगदान दिनेमा रूपमा शर्मा र अपांगताको क्षेत्रमा अमेजिङ प्यारेन्टस, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेकोमा सुनील खडकालाई सम्मान गरिएको छ । कला र भाषातर्फ सुशील चालिसे र सम्झना उप्रेती, खेलकुद र संगीतमा सागर थापा, एकेडेमिक एक्सिलेन्सअन्तर्गत भीसीएमा विविध काफ्ले, मास्टर्समा योविन तिमिल्सेना, पिएचडीमा डा. प्रमोद सुवेदी र न्याभको साझेदार संगठनका रूपमा एनएनसीआईले सम्मान प्राप्त गरे ।
फ्रेन्डस अफ नेपाल अवार्डबाट सांसद ब्रोनविन हाफपेनी, सांसद क्याथलिन म्याथ्युज वार्डका साथै भिभियन न्युगेन र इभान मुलहोल्यान्डले सम्मान पाएका छन् । भिक्टोरियास्थित वातावरण तथा ऊर्जामन्त्री लियिन डी एम्ब्रोसियो, विभिन्न राजनीतिक दलका सांसद, नेताका साथै भिक्टोरियाका अवैतनिक वाणिज्य दूत निराजन गौलीलगायत विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रकाशित : श्रावण १३, २०८१ १३:२६