एनआरएनए उपाध्यक्षमा कार्कीले उम्मेदवारी दिने

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी अक्टोबरमा सम्पन्न हुने निर्वाचनमा संयुक्त राष्ट्र इमिरेट्स (यूएई) का सुदीप कार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कार्की यसअघि राष्ट्रिय समन्वय परिषद यूएईको अध्यक्ष हुँदै पटक-पटक आईसीसी सदस्य बनेका थिए ।
सन् २००२ मा मजदुरी गर्न यूएई पुगेका कार्की हाल रियल स्टेट कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा छन् ।
मध्यपूर्वका एनआरएनएमा म्यानपावर व्यवसायीहरूको हाबी हुन लागेको भन्दै कार्कीले चिन्ता व्यक्त गरेका छन् । श्रमिकको मुद्दा उठाउन श्रमिक नै हुनुपर्ने उनको जोड छ । 'वैदेशिक रोजगारीका श्रमिकहरूको समस्याको कारक म्यानपावर व्यवसायीहरू नै हुन्, उनीहरूलाई नै वैदेशिक रोजगारीको मुद्दा उठाउने जिम्मा दिइयो भने कसरी वैदेशिक रोजगारी सुरक्षित र मर्यादित बन्छ ?,' उनले प्रश्न गरे, 'म सामान्य श्रमिक हुँ र श्रमिकको मुद्दा मैले बोक्नु पर्छ, यसकारण पनि यो क्षेत्रबाट मेरो उपस्थिति अपरिहार्य छ ।'
अमेरिका, युरोप र एसियाका अलग-अलग भौगोलिक अवस्थामा रहेका नेपालीहरूको मुद्दा नै बेग्लै रहेको बताउँदै कार्कीले उनीहरूको समस्या नजिकबाट बुझ्ने मौका पाएको र समाधानका उपायहरू निकालेको दाबी गरेका छन् ।
प्रकाशित : आश्विन १०, २०८० १४:२५