कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

लन्डन दूतावासमा विशेष समारोहबीच नेपालको संविधान दिवस मनाइयो

कान्तिपुर संवाददाता

लन्डन — लन्डनस्थित नेपाली राजदूतावासले बुधबार नेपालको संविधान दिवसका अवसरमा विशेष समारोह आयोजना गरेको छ ।

लन्डन दूतावासमा विशेष समारोहबीच नेपालको संविधान दिवस मनाइयो

दूतावास परिसरमा आयोजित समारोहमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले वर्तमान संविधानको महत्व, यसका मुख्य विशेषता र नेपालको परराष्ट्र नीतिबारे प्रकाश पारे । उनले विगत दशकमा नेपालले विभिन्न क्षेत्रमा गरेको प्रगतिबारे जानकारी दिँदै अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तर उकास्नेलगायत संविधानका महत्त्वपूर्ण उद्देश्यहरू हासिल गर्न अहिले सरकारको प्रयास केन्द्रित रहेको बताए ।

उनले नेपाल संसारमै दोस्रो सबैभन्दा बढी शान्ति स्थापक सैन्य पठाउने मुलुक भएको बताउँदै क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्‍याउँदै आएको योगदानको चर्चा गरे । राजदूत आचार्यले ब्रिटिस गोर्खाहरूको आधारभूत जगमा नेपाल र बेलायतबीच द्विपक्षीय सम्बन्ध ऐतिहासिक रहेको समेत प्रकाश पारे ।

उनले यो सम्बन्धले अहिले राजनीतिक, आर्थिक, व्यावसायिक, लगानी, शैक्षिक, जनताबीचको अन्तरसम्बन्ध र नेपाली डायस्पोराको बढ्दो उपस्थितिलगायत क्षेत्रलाई समेटेको पनि बताए । सन् १९२३ मा नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको र यस वर्ष सन्धि एक सय वर्ष पुगेको भन्दै राजदूत आचार्यले दुई देश बीचको कूटनीतिक सम्बन्धमा आगामी वर्षहरुमा अरु बहुआयामिक बन्दै जाने विश्वास समेत व्यक्त गरे । उनले यसै वर्ष सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको ७० औं वर्ष पूरा भएको स्मरण पनि गरेका थिए ।

समारोहमा प्रमुख अतिथि बेलायतको परराष्ट्र, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडिओ) की राज्यमन्त्री एनी मारी ट्रेभल्यानले संविधान दिवसको अवसरमा नेपाल सरकार र जनतालाई बधाई दिइन् । उनले गत मार्च महिनामा नेपाल भ्रमण गरेको र उक्त अवसरमा पाएको न्यानो आतिथ्य आफ्ना लागि सधैं स्मरणीय रहने बताइन् ।

मन्त्री ट्रेभल्यानले नेपाल–बेलायत सम्बन्धको गहिराइ र हार्दिकताको प्रशंसा गर्दै दुई देशबीच व्यापार, लगानी, जलवायु परिवर्तन जस्ता विश्वव्यापी सरोकारका विषयमा थप सहकार्यको सम्भावना रहेको पनि औंल्याइन् ।

मन्त्री ट्रेभल्यानले नेपाल–बेलायत मैत्री सन्धिको एक शताब्दी पूरा भएको र बेलायती टोलीको नेतृत्वमा सगरमाथाको पहिलो आरोहणको ७०औं वार्षिकोत्सवलगायत नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका महत्वपूर्ण कोसेढुंगाहरूप्रति खुशी व्यक्त गरेकी थिइन् । उनले दुई देशका जनताबीचको सम्बन्ध विस्तारमा बेलायती गोर्खाहरूले गरेको योगदानको प्रशंसा गरिन् ।

सो अवसरमा बालकलाकारहरुले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने पाहुनाहरुलाई नेपाली परिकार खुवाइएको थियो ।

नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त समारोहमा बेलायती संसद सदस्यहरु, उच्च सरकारी अधिकारीहरु, नेपाल मन पराउने बेलायती, राजदूतहरु, बेलायतमा रहेका उच्चायुक्तहरु र बेलायतस्थित नेपाली समुदायका नेता तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रकाशित : आश्विन ४, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?