एनआरएनए उपमहासचिवमा गुरूङको उम्मेदवारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — गैर आवसीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि प्रवीण गुरूङले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव रहेका गुरुङले संघमा संस्थागत स्थायित्व, एकता र विकासका एजेन्डा सार्वजनिक गर्दै उम्मेदवारी दिने भएका हुन् । 

एनआरएनए उपमहासचिवमा गुरूङको उम्मेदवारी 

वैदेशिक रोजगार, शिक्षा, पारिवारिक बसाई र विभिन्न उद्देश्यले विश्वभर छरिएर रहेका नेपालीलाई कला, संस्कृति, खेलकुद लगायतका माध्यमबाट एकजुट गराउने उद्देश्यले आफूले उपमहासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

एनआरएनएको ११ औं विश्व सम्मेलन आगामी अक्टुबर १७ देखि २० सम्म आयोजना हुँदैछ । गुरूङले महाभूकम्प, प्राकृतिक प्रकोप, कोभिड महामारी लगायतका विपदका समयमा संघको नेतृत्व गर्दै वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्री वितरण लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् १९९७ मा भारतीय सेनामा भर्ती भएर करिब आठ वर्ष सेवा गरेका गुरूङ कतारमा रहेर विभिन्न व्यवसायमा सक्रिय छन् । नेपाली कला र संस्कृति प्रवर्दन गर्ने उद्देश्यले उनले कतारको दोहास्थित पाँचतारे होटलमा नेपाली लोकदोहोरी तथा गजलसहितको रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । यसबाहेक उनी हस्पिटालिटी, रियल स्टेट, कन्स्ट्रक्सन, हाईड्रोलगायत व्यवसायमा पनि संलग्न छन् । यसअघि उनले एनआरएनए मध्यपूर्व संयोजक, उपसंयोजक, कतार उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रकाशित : भाद्र २६, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्