गोर्खा माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक

नवीन पोखरेल

लन्डन — भूपू गोर्खाका माग सम्बोधनका विषयमा छलफल गर्न सोमबार बेलायती रक्षा मन्त्रालय लन्डनमा प्राविधिक स्तरको बैठक भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरूको सहभागितामा बैठक भएको हो ।

गोर्खा माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक

बैठकमा भूपू गोर्खाहरूको पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायत सबै मागमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासकी नियोग प्रमुख रोशन खनालले जनाइन् ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयमा विभिन्न सम्बन्धित निकाय तथा पदाधिकारीहरूसँग आन्तरिक छलफल गरी आगामी बैठकमा जानकारी गराउने बताएको दूतावासले जनाएको छ ।

छलफलका क्रममा भूतपूर्व गोर्खा अवकासमा जाँदा उनीहरूका सन्तान १८ वर्षभन्दा कम उमेरका भएको भए उनीहरुलाई आवासीय अधिकार दिन र भिसा शुल्क तीन हजारबाट १५ सय पाउन्ड बनाउन बेलायती अधिकारी सहमत भएको वार्तामा सहभागी भूतपूर्व गोर्खा मध्यस्तकर्ता मेजर रि. जुदबहादुर गुरुङले जानकारी दिए ।

गुरुङले समान पेन्सनका माग दोहोर्‍याउँदै यो पूरा नभए पुनः भोक हड्ताल गर्न बाध्य हुने चेतावनी दिएको बताए । पेन्सनको विषयमा भने ब्रिटिस अधिकारीहरूले कुनै प्रतिक्रिया नदिएको उनले बताए । यस विषयमा आउँदो २२ नोभेम्बरमा हुने मन्त्रीस्तरीय वार्तामा छलफल गरिने जनाइएको छ ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ, पुष्प राणा घले, धनबहादुर गुरुङ, सइन्द्रा केसी थापा तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो ।

गोर्खा मुद्दा समाधान गर्न बेलायत र नेपाल सरकार (जीटुजी) बीच निर्णायक वार्ता अघि विभिन्न चरणमा छलफल हुँदै आएका छन् । रक्षा मन्त्रालयभित्र छलफल चलिरहँदा बाहिर सत्याग्रह संयुक्त संघर्ष समिति आवद्ध भूतपूर्व गोर्खाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

प्रकाशित : भाद्र २६, २०८० ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्