चीनको यिवुमा नेपाली व्यवसायीहरूलाई विशेष स्वागत

लक्ष्मी लम्साल

बेइजिङ — नेपाली व्यवसायीहरू पूर्वी चीन प्रवेश गरेको रजत महोत्सव चच्याङ प्रान्तको यिवुमा एक अन्तर्क्रियात्मक कार्यक्रम गरी मनाइएको छ। सन् १९९८ तिर नेपाली व्यवसायीहरूले चीनको सिचुवान, छङ्तु हुँदै पहिलो पटक यिवु बजारमा पाइला टेकेका थिए। त्यतिखेर नेपाली आयातकर्ताहरूले जुत्ताचप्पल, हर्बललगायत दैनिक उपभोग्य सामग्रीहरू नेपाल लगेका थिए।

चीनको यिवुमा नेपाली व्यवसायीहरूलाई विशेष स्वागत

यही २५ वर्षको उपलक्ष्यमा बिहीबार चीन यिवु-नेपाल चेम्बर अफ कमर्सले ‘यिवु-नेपाल आर्थिक, व्यापारिक तथा लजिष्टिक सिम्पोजियम’विषयक कार्यक्रम गरेर चिनियाँ लगानीकर्ता र व्यवसायीहरूलाई नेपालको औद्योगिक वातावरणबारे जानकारी गराएको छ।

बेइजिङस्थित नेपाली दूतावासबाट कार्यक्रममा सहभागी भएका इकोनोमिक मिनिस्टर छवीन्द्र पराजुलीले सन् २०१५ मा नयाँ संविधान जारी भएसँगै नेपालको लामो राजनीतिक संक्रमण अन्त्य भएकाले नेपालमा लगानीको राम्रो वातावरण रहेको जानकारी गराए। नेपालका राजनीतिक दलहरू वैदेशिक लगानी भित्र्याएर आर्थिक रुपान्तरण गर्न प्रतिवद्ध रहेको सन्देश दिँदै पराजुलीले नेपालमा राजनीतिक स्थिरता भएकाले पूर्वी चीनका व्यवसायीहरूलाई नेपालतर्फ हेर्न स्वागत गरे। त्यस क्रममा उनले हालसम्म चीनबाट नेपालमा भएका लगानी र संभाव्य क्षेत्रहरूका बारेमा जानकारी दिएका थिए।

कार्यक्रममा यिवु वाणिज्य, नगरब्यूरोका उप निर्देशक चु स्याओथाङ, यिवु वैदेशिक मामिला कार्यालयका पार्टी सदस्य चु चिङपो, यिवु अध्यागमन प्रशासनका कार्यक्रममा याङ स्याउमिङ, यी वु मल ग्रुपका उप महाप्रबन्धक चाङ थिचन, यिवु इन्टर्नेश्नल चेम्बर अफ कमर्सका कार्यकारी उपाध्यक्ष चोङ च्यामेइ लगायत ४० भन्दा बढी कम्पनीका प्रतिनिधिहरूले कार्यक्रममा भाग लिएका थिए।

चिनियाँ लगानीकर्ताहरूले बुद्ध जन्मभूमि नेपाल भन्नाले केवल धार्मिक पर्यटन गर्ने ठाउँ मात्रै होला भन्ने सोचेकोमा लगानी गन्तव्य पनि रहेको थाहा पाएर उत्साहित भएको बताए। उनीहरूले भने, ‘बुद्धभूमि नेपाल लगानी र व्यापारका साथै दक्षिण एसियाको महत्त्वपूर्ण गन्तव्य रहेछ भन्ने कुरा थाहा पाइयो।’

यसअघि गत अप्रिलमा यिवुका उपमेयर वाङ वेइको नेतृत्वको टोलीले नेपालको भ्रमण गरी ‘यीलान्च्या’ रुटको अवधारणा अघि सारेको थियो। यसको अर्थ चिनियाँमा ‘यिवु - लान्चौ र नेपालको राजधानी काठमाडौँ (च्यातमान्तु) भन्ने हो।

सन् २०२० मा स्थापना भएदेखि नेपाल-चाइना चेम्बर अफ कमर्स तथा इण्डस्ट्री यी वु कार्यालयले हरेक वर्ष व्यापारिक वातावरणबारे अद्यावधिक गराउने ध्येयले कार्यक्रमहरू गर्दै आएको जनाएको छ। नेपाली संस्कृति, पर्यटन र व्यापारिक गतिविधिबारे जानकारी दिने क्रममा चिनियाँ व्यवसायीलाई नेपाली बजार आकर्षित गर्ने प्रयास गर्दै आइएको कार्यालयका प्रमुख दुमरूले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले यिवुबाट नेपालमा निर्यात मात्रै होइन, यिवुमा नेपाली सामान आयातका लागि हुनसक्ने संभावनाका बारेमा अभिरुचि राखेका छन्। नेपाल चेम्बर अफ कमर्स इस्ट चाइनाका मानार्थ प्रतिनिधि राजकुमार खड्का लगायत नेपाली पक्षले पूर्वी चीनको धनी सहरका लगानीकर्ता र व्यापारीहरूलाई नेपालतर्फ ध्यानाकृष्ट गराए। यिवुमा ७० भन्दा बढी नेपाली कम्पनी स्थापित छन् भने यहीँ रहने नेपाली व्यवसायीको संख्या १५० भन्दा बढी छ। नेपालतर्फ यिवु भएर आउजाउ हुने संख्या वार्षिक ६ हजार पटकभन्दा बढी छ।

यिवु सहरबाट विश्वका २ सय भन्दा बढी देशका विभिन्न स्थलतर्फ चिनियाँ सामग्रीहरू निर्यात हुने गर्दछ। नेपालका अधिकांश व्यवसायीहरू पनि यिवुमा भेला हुने गरेका छन्। चीनलाई दुःख कष्ट परेका बेला विभिन्न समयमा त्यहाँस्थित नेपालीहरूले स्वयंसेवा गरेकाले उनीहरूको नेपालप्रतिको छाप सकारात्मक छ। नेपालबाट जडीबुटी, सल, बोधिचित्त, हस्तकलाका सामग्रीहरू यिवु बजारमा पुग्ने गरेका छन्।

प्रकाशित : जेष्ठ २६, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?