कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बेलायतको गोर्खा कप उपाधि एलजी लायनलाई

लन्डन — बेलायतस्थित नेपाली समुदायकै ठूलो फुटबल प्रतियोगिता गोर्खाकपको २१ औं संस्करण एलजी लायनले जितेको छ । तमुधिं यूकेद्वारा आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा आयोजित प्रतियोगितामा एलजी लायनले ३-१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो ।

बेलायतको गोर्खा कप उपाधि एलजी लायनलाई

उपाधिसँगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो ।

भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कपमा यसपटक मेन (मुख्य समूह) मा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिस्पर्धा भएको थियो ।

भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गरयो भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।

महिलातर्फ ‘म खेल्छु एफसी’ वीनर र रन्डरबोल्ट्स एफसी रनरअप बने । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो ।

त्यसैगरी खेलमा बेस्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए भने टप स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । एलजी लायनका सोम गुरुङ बेस्ट म्यानेजर बने । लेडिजतर्फ बेस्ट प्लेयर भइन् सुष्मिता शाही ।

गोर्खा कपमा फुटबलबाहेक ठेलो प्रतियोगिता पनि गरिएको थियो जसमा मेनतर्फ निरज गुरुङ प्रथम भएर २०० पाउन्ड पाए भने भेट्रानतर्फ प्रथम गोकुल गुरुङ विजेता बनेर २०० पाउन्ड पुरस्कार पाए ।

यस अवसरमा पारासुट डिस्प्ले, सयपत्री कल्चरल ग्रुपको आकर्षक नाच प्रस्तुति र गायक धिराज राईले बुद्ध वाज बर्न इन नेपाल गीत गाएका थिए ।

इभेन्टमा हस्तकला, नेपाली पोशाक, खाना, च्यारिटी गरी झण्डै ८२ वटा स्टल थिए । फाइनलअघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले बृहत कार्यक्रम गरेकामा खुसी व्यक्त गरे । आफ्नो बरोमा बढ्दो नेपाली जनसंख्याले बेलायती समाज थप मजबुत बनेको पनि उनले बताए ।

विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्द्धनसमेत गरेको बताइन् ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्त्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्द्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे ।

आयोजक तमुधिं यूकेले १० प्रतिशत आम्दानी टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने बताएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?