प्रधानमन्त्री दाहालको स्वागतका लागि नेपाली दूतावास वरपर सफाइ


नयाँदिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा दिल्लीमा रहेका नेपाली उत्साही देखिएका छन् । प्रधानमन्त्री दाहालको स्वागतका लागि दिल्लीमा रहेका नेपालीले आइतबार दिल्लीस्थित नेपाली दूतावासको बाहिरी क्षेत्रको सरसफाइ गरेका छन् ।


अखिल भारत नेपाली एकता मञ्चको समन्वयमा भएको सफाइ कार्यका लागि दिल्लीको व्यस्त मण्डी हाउसको बारहखम्बा रोडमा बिहान दर्जनौं युवायुवती कुचो र बेल्चा लिएर सडकमा उत्रिएका थिए । प्रधानमन्त्री दाहालको तस्बिर अंकित टिसर्ट लगाएका समूहले सडकको सफाइ गर्न थालेपछि बाटो हिँड्ने धेरैको ध्यान तानिएको थियो । नेपालका प्रधानमन्त्री भारत आउन थालेको सन्देश जनस्तरमा प्रवाहित भएको मञ्चका उपमहासचिव आरबी खड्काले बताए।
प्रधानमन्त्री दाहाल जेठ १७ गते तीन दिने भारत भ्रमणमा आउँदै छन् । सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा नेपाली दूतावासमा रात्रिभोज राखिएको छ । दूतावासमा भारतका विशिष्ट पाहुनाहरूसँगै दिल्लीमा रहेका नेपालीहरूको उपस्थिति रहनेछ । 'आफ्नो घर आफै सफा राखौं' भन्ने उद्देश्य राखेर दूतावास वरिपरि सफाइ गरिएको खड्काले बताए ।
