जनजाति महासंघ बेलायतद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । 

नेफिन युकेले मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई काठमाडौंमा उक्त रकम हस्तान्तरण गरेको हो । नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुराले महाबिर पुनको आविष्कार केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गर्न सानो रकम हस्तान्तरण गरिएको बताए । केन्द्रले मुलुकभित्रै महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै उनले यो अभियानमा सहभागी हुन अपिल समेत गरे ।

रकम ग्रहण गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले केन्द्रले सञ्चालन गरिरहेको अभियानका विषयमा आम जनमानसलाई बुझाउन आवश्यक रहेको बताए । उनले अभियानको वास्तविकता धेरैले नबुझेको समेत बताए । 'राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गरिरहेको यो अभियानको उद्देश्यका बारेमा बुझाउन आवश्यक छ । अभियानमा धेरैले हामीलाई सहयोग गर्नुभएको छ', उनले भने, 'केहीले यस विषयमा नबुझेर नै टीकाटिप्पणी पनि गरिरहनुभएको छ । यो अभियान २/४ वर्षको प्रोजेक्ट होइन । यसको क्षेत्र बृहत् छ । यसको समय अनन्तकालसम्मको छ । यसको वास्तविकता बुझाउन आवश्यक छ ।'

महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले केन्द्रले सञ्चालन गरेको अभियान महत्वपूर्ण भएको बताए । आफ्नै प्रयासमा आफ्नै देशभित्र महाबिर पुनले सुरु गरेको अभियान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष शेर्पाले उनको उद्देश्य पूरा गराउन महासंघको पूर्ण साथ, समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नेफिनका महासचिव दिवश राईले केन्द्रले सुरु गरेको अभियानलाई सहयोग गरेकोमा नेफिन युके शाखालाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित : जेष्ठ ९, २०८० २१:५८
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ उपत्यकामा ‘सम्पदा यात्रा बस सेवा’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका सम्पदाको दृश्यावलोकन गराउने उद्देश्यसहित आजदेखि सम्पदा यात्रा बस सेवा ‘हप अन, हप अफ’ सञ्चालनमा आएको हो ।

ललितपुरको पुलचोकमा आज आयोजित एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गरे । बस सेवाको शुभारम्भ गर्दै मन्त्री किरातीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्करुपमा सञ्चालन गरिने बताए ।

मन्त्री किरातीले लामो समयदेखि सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने भनिए पनि भाडा समायोजनको अझै नसकिएको बताए । उनले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानुन धेरै पछि रहेको उल्लेख गरे ।

बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भए पनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानुन नभएका कारण अप्ठ्यारो परेको उनको भनाइ थियो । मन्त्री किरातीले उपत्यकाको पर्यटन प्रवर्द्धनका लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षणपश्चात् सेवा विस्तार गरिने उल्लेख गरे । पर्यटनमन्त्री किरातीले सम्पदा बस यात्रामा पुल्चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालयसम्म यात्रा समेत गरे ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदूषणमुक्त सहर बनाउने प्रयासअन्तर्गत ललितपुर महानगरले आगामी दिनमा कुनै पनि गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिए । उनले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणाबमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताए । नगरप्रमुख महर्जनले ललितपुर महानगरको भित्री सहरमा विद्युतीय सटल बस चलाउन साझा यातायातलाई महानगरले रु नौ करोड उपलब्ध गराएको बताए ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक दुई वटा विद्युतीय बस सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्कालका लागि बिहान ८ देखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।

प्रकाशित : जेष्ठ ९, २०८० २१:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×