बेलायतको रसमोर काउन्सिलमा पूर्वगोर्खा धनबहादुर विजयी

कान्तिपुर संवाददाता

लन्डन — उत्पीडितहरुको पक्षमा सक्रिय भूतपूर्व गोर्खा धनबहादुर सार्की काउन्सिलरमा विजयी भएका छन् । विगत दुई दशकदेखि बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्कीले नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट काउन्सिलर जितेका हुन् ।

यसअघि कञ्जरभेटिभ पार्टीले जितेको उक्त क्षेत्रमा पहिलोपटक लेबर पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी विजयी भए ।

सार्कीले ६ सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कञ्जरभेटिभ पार्टी उम्मेदवारले ४ सय १४ मत पाइन् ।

रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार बनेका उनी पहिलो नेपाली मूलका व्यक्ति हुन् । उनी विगत ५ वर्षदेखि लेबर पार्टीमा आबद्ध छन् ।

विजयी भएपछि सार्कीले आफ्नो वडाको विकास निर्माण र स्थानीय जनतालाई सेवा सुविधा प्रदान गर्न आफ्नो कार्यकाल खर्चने बताएका छन् । साथै नेपाली समुदायको हितमा लागिरहने उनको प्रतिबद्धता छ ।

सार्की नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष पनि हुन् । कोभिड महामारीका बेला सातै प्रदेशका विपन्नलाई खाधान्न राहत वितरण गर्न भूमिका खेलेका सार्की हाल व्यवसाय पनि गर्छन् ।

उनी लामो समयदेखि एनआरएनए अभियानमा सामेल थिए । एनआरएनए यूके सदस्यमा भारी मतले निर्वाचित भएका उनी उपाध्यक्षमा भने पराजय भोगेका थिए ।

प्रकाशित : वैशाख २७, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा पेस्तोलसहित तीन पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले पेस्तोलसहित तीन युवकलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको किङ क्रस क्लबबाट बर्दियाका सुमन रिजाललाई अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डीएसपी रामबहादुर घर्तीमगरका अनुसार रिजालसहित पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिकाका वडा नम्बर–९ का २९ वर्षीय धर्म पुनमगर, र बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय सागर शाह छन् ।

डीएसपी घर्तीमगरले स्थानीय किङ क्रस क्लब डान्स बारमा मंगलबार राति झगडा भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको उक्त अटोमेटिक पेस्तोल र गोलीसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०८० २१:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×