टर्कीका भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण- प्रवास - कान्तिपुर समाचार

टर्कीका भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीमा गत महिना गएको विनाशकारी भूकम्पका कारण पीडित नेपाली समुदायलाई सहयोगका लागि संकलित रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीलाई हस्तान्तरण गरिएको छ । एनआरएनए मिडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको अगुवाईमा संकलन गरिएको ४ हजार १ सय १९ युरो (५ लाख ८२ हजार) एनआरएनए टर्कीका अध्यक्ष उज्जलकुमार घिसिङलाई हस्तान्तरण गरिएको हो ।

थापाको सक्रियतामा ११३ औं श्रमिक महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, महिला विभागले गरेको एक भर्चुअल कार्यक्रमका अवसरमा रकम हस्तान्तरण गरिएको हो ।

फेब्रुअरी ६ टर्की र सिरियामा गएको विनासकारी भूकम्पका कारण ५० हजार जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पका कारण टर्कीमा ४५ हजार ९ सयभन्दा बढी र सिरियामा ७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका हुन् । नेपाली श्रमिकका लागि गन्तव्य मुलुक टर्कीमा हाल करिब २ हजार नेपाली छन् । भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा नेपाली विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरु भए पनि उनीहरु सबै सुरक्षित रहेका थिए । तर भूकम्पपछि उनीहरूमध्ये कतिपय समस्यामा परेपछि एनआरएनए टर्कीले आवश्यक सहयोग गरेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

पुलिसमाथि मछिन्द्रको जित

कान्तिपुर संवाददाता

काठमाडौँ — दुईपटकको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा मंगलबार पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई २–१ ले हरायो ।

एक गोलले पछाडि रहेको स्थिति उल्टाएर मछिन्द्रले यो उत्कृष्ट जित हात पारेको हो । उसका लागि नाइजेरियाली खेलाडी आफेज ओलावाले दुई गोल गरे । उनले २० औं मिनेटमा पहिलो गोल गरेपछि ४० औं मिनेटमा दोस्रो गोल थपे ।

पुलिसले भने नवौं मिनेटमा अञ्जन राईको गोलले अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन । मछिन्द्रले लिगको चौथो चरण आइपुगेयता यो पहिलो जित आत्मसात गरेको हो । यससँगै मछिन्द्रले रेलिगेसन क्षेत्र छाडेको छ ।

उसको चार खेलबाट चार अंक भएको छ । पुलिसको भने यो लगातार चौथो हार हो र टिम शून्य अंकमा अन्तिम स्थानमा रहेको छ । खराब लयबाट गुज्रिरहेको पुलिसको लिगमा यो अहिलेसम्मकै सबैभन्दा खराब सुरुआत हो । जसकारण पूरा टिमले दबाब सामना गर्नुपरेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×