धर्म सन्तानलाई नेपालसँग जोड्दै दूतावास- प्रवास - कान्तिपुर समाचार

धर्म सन्तानलाई नेपालसँग जोड्दै दूतावास

कान्तिपुर संवाददाता

काठमाडौँ — स्पेनस्थित नेपाली दूतावासले त्यहाँ पुगेका धर्म सन्तानहरुलाई नेपालसँग जोडेको छ । म्याड्रिडमा रहेको नेपाली दूतावासले ‘नेपाल–इस्पाः कनेक्टिङ कल्चर एन्ड हार्ट्स’ अर्थात् ‘नेपाल–स्पेनः संस्कृति र हृदयलाई जोड्दै’ कार्यक्रम गरेर नेपालबाट धर्मपुत्र वा धर्मपुत्री बनाएर स्पेन पुर्‍याइएकालाई नेपालसँग जोड्ने काम गरेको हो ।

स्पेनमा बसोबास गर्ने नेपालबाट गएका दुई दर्जनभन्दा बढी धर्म सन्तानहरु आफ्नो सांस्कृतिकसँग जोड्न र नेपालसँगको भावनात्मक सम्बन्धलाई बलियो बनाउँदै एक साथ ल्याउनको दूतावास कार्यक्रम गरेको जनाएको छ । कार्यक्रम फागुन २७ मा भएको थियो ।

उक्त कार्यक्रमको सुरुवात उपस्थित सबै धर्म सन्तानलाई नेपाली शैलीमा खाँदा लगाएर स्वागत गरिएको थियो । त्यसपछि स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सहभागी सबैप्रति आभार प्रकट गरिन् । उनले सांस्कृतिक आदान–प्रदानको महत्त्व तथा स्पेन र नेपालका लागि काम गर्ने सहभागीहरूको दृढतामा जोड दिइन् ।

राजदूत पराजुलीले धर्म सन्तानहरुलाई स्पेनी परिवारले स्वतन्त्र र सक्षम व्यक्ति बनाउन खेलेको भूमिलाई लिएर मा कृतज्ञता व्यक्ति गरिन् । ‘यस घटनाले उनीहरु (स्पेनी परिवार) को नेपाल र जनतासँगको सम्बन्धलाई बलियो बनाएको छ,’ उनले भनिन् । उक्त कार्यक्रममा राजदूत पराजुलीले नेपाल–इस्पा समूहलाई मान्यता दिने र आगामी दिनहरूमा विभिन्न गतिविधिहरू सञ्चालन गर्न सहयोग गर्ने बताइन् । साथै, उनले सातामा एक पटक अनलाइन नेपाली भाषा कक्षा सञ्चालन गर्ने पनि जानकारी दिइन् । उनले व्यापार, लगानी, संस्कृति, खेलकुद, प्रविधि र सामाजिक कार्य जस्ता क्षेत्रमा काम गर्न १० सदस्यीय नेपाल–इस्पा समिति गठन गर्ने घोषणा गरिन् ।

कार्यक्रममा सहभागी धर्म सन्तानहरुले नेपालबारे आ–आफ्ना भावना, नेपाली संस्कृति र परम्परासँगको सम्बन्ध कायम राख्नका चुनौती र फाइदाका बारेमा बताएका थिए । सहभागीहरुले नेपाली गीत गाएर नाच्ने र पहिलो पटक नेपालमा प्रसिद्ध रहेका खानाहरू मोमो, सेलरोटी, दाल भात लगायत खाएर रमाइलो गरेका थिए ।

दूतावासले नेपालबाट हातले बुनेका सामग्रीहरुलाई मायाको चिनोको रुपमा सहभागीहरूलाई प्रदान गर्दै धन्यवाद दिएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्

बेखर्ची बिरामीलाई सहयोग जुटाउन बीच सडकमै राखियो

कान्तिपुर संवाददाता

राजविराज — सप्तरीको राजविराजको मुख्य सडक अन्तर्गत नेता चोकदेखि दक्षिणमा एक बिरामीलाई बीच सडकमै राखेर उपचार खर्च जुटाउन थालिएको छ । दाङको तुलसीपुर घर भएका राजकुमार विकलाई उपचार खर्च जुटाउन स्थानीय अभियन्ताले उनलाई सडकमै राखेर उपचार खर्च जुटाउन थालेका हुन् ।

खुट्टामा धेरै दिनदेखिको चोट पाकेको अवस्थामा रहेका उनी स्वास्थ्य समस्याबाट समेत पीडित रहेको उनका भाइ गणेश विकले बताए । 'कामको सिलसिलामा दुई महिनाअघि यहाँ आउनु भएको थियो, भाइ गणेशले भने, 'हिजो उहाँ बिरामी परेको खबर आएकोले लिन आएको हुँ ।'

अस्पताल लैजान आफूहरूसँग पैसा नभएको भन्दै उनले बिहान स्थानीय अभियन्ताहरूलाई खबर गरेका थिए । भाइले घर लैजान समेत भाडा नभएको बताएपछि आफूहरूले सहयोग जुटाउन सडकमा राख्नुपरेको अभियन्ताहरूले बताएका छन् ।

दुई महिनाअघिदेखि कामको सिलसिलामा राजविराज आएको भाइ गणेशले बताए । केही पैसा जम्मा भए घर लगेरै उपचार थाल्ने उनले बताए । 'यहाँ हल्का उपचार गरेर बरु घर लैजान पाए । ऋणपान गरेर घरतिरै उपचार गर्नुहुन्थ्यो ।एम्बुलेन्समा लैजान पनि पैसा छैन,' उनले भने । सोमबार उपचारका लागि अस्पताल लगेपनि पैसा नभएका कारण दाइलाई त्यत्तिकै फर्काउनुपरेको उनले बताए ।

स्थानीय अभियन्ताहरूले उनको घाउमा सामान्य मलमपट्टि गरेर उपचार खर्च जुटाउन सडकमा राखेको बताएका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १२:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×