पेरिसमा नेपालीसँगै फ्रान्सेलीले मनाए फागु उत्सव- प्रवास - कान्तिपुर समाचार

पेरिसमा नेपालीसँगै फ्रान्सेलीले मनाए फागु उत्सव

कान्तिपुर संवाददाता

पेरिस — फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव धुमधामसँग मनाइएको छ । फागु पूर्णिमाको आसपासमा बर्सेनि कार्यक्रम गर्दै आएको नेपाली सांस्कृति गृहले आइतबार आयोजना गरेको कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएको हो ।

फागु कार्यक्रममा नेपालीहरुसँगै नेपालप्रेमी फ्रान्सेलीहरुले पनि फागु दलेर रमाएका थिए । फ्रान्सका विभिन्न स्थान र परिवेशबाट आएका नेपाली तथा नेपालप्रेमी फ्रान्सेलीहरू नेपाली गीत र संगीतमा रमाएर फागु खेल्न पाउँदा निकै हर्षित देखिन्थे ।

फागु खेल्ने उत्सवसँगै नेपाली सांस्कृतिक गृहले नेपाली खानाको व्यवस्थासमेत गरेकाले नेपाली खानाको स्वाद लिन पाउँदा फ्रान्सेलीहरु झन् खुशी भएका थिए ।

गृहले फ्रान्समा सन् २००३ देखि फागु पूर्णिमा मनाउँदै आएको छ । गर्मी मौसम नआइसकेकोले फ्रान्समा सभाहलभित्र यो उत्सव मनाउने चलन छ । कार्यक्रमको सुरूवात गर्दै गृहका उपाध्यक्ष हेमन्त उपाध्यले फागु पूर्णिमाको धार्मिक किंवदन्तीबारे प्रकाश पारेका थिए ।

गृहका उपाध्यक्ष उपाध्यायले कन्तिपुरसित भने, 'नेपाली धर्म, संस्कृति र पर्वहरुलाई पुस्तौंसम्म जोगाइराख्न, नेपाल र फ्रान्सबीच नागरिकस्तरमा सम्बन्ध कायम गर्न र नेपालका दोस्रो तथा तेस्रो पुस्ताका लागि नेपाली पर्वहरुप्रति आकर्षित गर्न यो पर्व मनाउन थालेका हौं ।'

कार्यक्रममा पेरिसस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख सीता बस्नेतले नेपालमा मनाइने फागु पूर्णिमा फ्रान्समा पनि धुमधामसँग मनाएर नेपालीहरुले आफ्नो संस्कृतिलाई जीवन्त राख्नुका साथै नेपाल र नेपालको संस्कृति फ्रान्सेलीलाई चिनाएर प्रशंसनीय काम गरेको बताइन् ।

प्रकाशित : फाल्गुन २२, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

उहिलेको होली पो होली

विनोद भण्डारी

विराटनगर — वर्षभरिको तिक्तता बिर्सेर एक अर्कासँग रंग साटासाट गर्ने सुन्दर पर्वका रूपमा मनाइन्छ, होली (फागु पूर्णिमा) । यो पर्व पहाडमा अघिल्लो दिन र तराईमा भोलिपल्ट उमंगका साथ मनाइन्छ ।

तराईमा विशेष गरी मारवाडी एवं मधेशी समुदाय उत्साहका साथ फागु पूर्णिमामा सहभागी हुन्छन् । तर पछिल्लो समय यो पर्व आधुनिकतातर्फ उन्मुख हुँदै गएको देखिन्छ । ‘पाँच दशक पहिले महाशिवरात्रिदेखि संगीत एवं नृत्यका साथ होलीको आरम्भ हुन्थ्यो,’ मारवाडी मारवाडी युवा मञ्चका पूर्वअध्यक्ष नन्दकिशोर राठीले भने, ‘अहिले बढीमा १० दिन मात्र मनाइन्छ ।’

उनका अनुसार समय अभावले यस्तो भएको हो । ‘पहिला फुर्सद हुने भएकाले २५ दिनसम्म मनाइन्थो,’ उनले भने । आफूहरूले पाँच दशक पहिला विराटनगरमा होली पर्वमा सातासम्म डान्डिया नृत्य गरेर होली मनाउने गरेको उक्त समुदायका साहित्यकार लक्ष्मण नेवटियाले बताए । उक्त समुदायद्वारा सञ्चालित उद्योग एवं व्यापारमा कार्यरत मजदुरहरू ‘जोगिरा सरर...’ गाउँदै स्थानीय भट्टा चोकमा पुगेर होलिका दहन गर्ने गरेको उनले सम्झे ।

‘मजदुरले मालिकलाई अनिवार्य रंग दल्थे,’ ६६ वर्षीय नेवटियाले भने, ‘मनमा रिसराग हुनेसँग रंगले मिलन गराएरै छाड्थ्यो, अहिले त्यो परम्परा देखिँदैन ।’ होलीलाई विशुद्ध अबिर, रंगको महोत्सव भनिए पनि अहिले गाढा रंगको नाममा विकृति सुरु भएको स्थानीय ७२ वर्षीय ताराचन खेतानको बुझाइ छ । ‘उबेला प्रयोग गरिने अबिर शुद्ध हुन्थो, अहिले अबिरमा रंग मिसाएर दल्दा छाला नै बिग्रिन्छ,’ उनले भने, ‘अहिले रंगको नाममा हिलो पनि छ्याप्ने गरेको पाइएको छ । यो विकृति नै हो ।’

खेतानका अनुसार विगतमा होलीका नाममा मट्का फुटाउने कर्मले बेग्लै रौनक हुन्थ्यो, अहिले पनि मटका फुटाउने परम्परा छ तर विगतको जस्तो व्यवस्थित एवं उत्साहजनक छैन ।’ ‘विगतमा चोकचोकमा मटकाको प्रबन्ध हुन्थ्यो, अहिले सीमित ठाउँमा देखिन्छ,’ उनले भने, ‘मदिराले होलीलाई भाँड्दै लगेको देखिन्छ ।’ मदिराजन्य पदार्थ र उच्छृंखलताले होलीको मिठास एवं मौलिकता हराउँदै जान थालेको उनले बताए ।

स्थानीय पहाडे समुदायले मंगलबार नै रंग र भोजनको आनन्द लिंदै यस पर्वलाई बिदाइ गर्छन् । ‘उबेला अबिर पाइँदैन्थ्यो,’ विराटनगर–४ का ७७ वर्षीय हरिबहादुर कार्कीले भने, ‘गोलभेंडा, सिमी र बोडीको पातको हरियो झोलको रंग बनाई खेल्थियौं ।’ उनले अहिले रसायनयुक्त मिसावट रंगले होली खेल्दा पनि डराउनुपर्ने स्थिति रहेको बताए ।

होली मनाउँदा सावधानी अपनाउन छाला रोग विशेषज्ञले आग्रह गरेका छन् । कोशी अस्पतालका छालारोग विशेषज्ञ डा. अशित घिमिरेले अबिरमा इँटा र सीसाको धूलोसहित रसायन मिसाइएको हुनाले छाला पोल्ने, पास्ने, एलर्जी हुने, चिलाउने र रातो हुने हुनाले सकभर रंग नखेल्न सुझाव दिएका छन । ‘हरेक वर्ष होलीको भोलिपल्ट यस्तो लक्षणका बिरामी आउँछन्,’ उनले भने । मोरङ प्रहरीले होलीको अवसरमा अपरिचितलाई रंग नदल्न, मादक पदार्थ सेवन नगर्न, नशामा सवारी नचलाउन र जथाभावी भीड नगर्न सार्वजनिक अपिल गरेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७९ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×