अस्ट्रेलियामा होलीको उमंग [तस्बिरहरू]- प्रवास - कान्तिपुर समाचार

अस्ट्रेलियामा होलीको उमंग [तस्बिरहरू]

नारायण खड्का

काठमाडौँ — रंगहरूको पर्वको रुपमा चिनिने होली यस वर्ष अस्ट्रेलियामा रहेका नेपालीले पनि उल्लासका साथ मनाएका छन् । सिड्नी, एडिलेड, मेलबर्न, तास्मानिया लगायत विभिन्न राज्य तथा सहरमा रहेका नेपालीले होलीलाई विशेष उल्लासका साथ मनाएका छन् ।

नेपालीको कलासंस्कृति, परम्परा तथा पहिचानलाई चिनाउने उद्देश्यले आइतबार आयोजना गरिएको रंगको पर्वमा यस वर्ष नेपालीसँगै अस्ट्रेलियालीले समेत उत्साह र चासोका साथ सहभागिता जनाएका थिए । विभिन्न राज्यमा आयोजना गरिएको होली पर्व विभिन्न रंग एकआपसमा दलेर मनाइएको थियो भने नेपाली खानाका परिकार तथा नृत्य र संगीतले अलग रौनक थपेको थियो ।


दक्षिण अस्ट्रेलियामा एडिलेड नेपालले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका कलाकारले महोत्सवमा उर्जा थपिदिएका थिए । दिउँसोदेखि चलेको र झण्डै २ हजार सहभागी रहेको पर्व साँझसम्म चलेको थियो । कार्यक्रममा दक्षिण अस्ट्रेलियाका सांसदले समेत रंग दलेर होलीको शुभकामना दिएका थिए ।


पर्वमा रंगहरुका साथै नेपाली मम:, सेलरोटी, चटपटे लगायत खानेकुराले सहभागीलाई नेपालको झल्को दिलाएको थियो । कार्यक्रममा युवा मात्र नभएर नेपालबाट आएका अभिभावक, बालबालिकाले समेत उत्तिकै मनोरञ्जन लिएका थिए । ‘हाम्रो मुख्य उद्देश्य नै हाम्रो संस्कृति र परम्परालाई यहाँ प्रवर्द्धन गर्ने र आफ्नो पर्वलाई यहाँ हुर्किरहेको दोस्रो पुस्तालाई चिनाउने हो,’ आयोजक नेपाल एडिलेडका पुस्कर कोइरालाले कान्तिपुरसँग भने ।


पानी परिरहेको भए पनि सहभागीहरूले त्यसको कुनै वास्ता गरिरहेका थिएनन् । कार्यक्रममा गायिका एलिना चौहानले ‘धोकेबाज हौ तिमी’ बोलको गीत गाउँदा दर्शकहरूबाट वान्समोर पाएकी थिइन् । गायकहरु समीर आचार्य, निहारिका ज्ञवाली, सुदिन पोखरेल, विक्रम बरालले होलीको माहोललाई संगीतमय बनाइदिएका थिए । यसका साथै स्थानीय कलाकार तथा ब्याण्डले समेत कार्यक्रममा सांगीतिक रंग भरिदिएका थिए । कार्यक्रममा सहभागी हुन आएका अभिभावकहरु समेत विभिन्न रंगमा रंगिएर आधुनिक संगीतमा नाचिरहेका थिए ।




प्रकाशित : फाल्गुन २१, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन : चन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी नेताहरूलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । उनले माओवादीलाई हत्यारा र अपराधी भन्नेलाई 'ठेगान लगाउने' चेतावनी पनि दिएका छन् । 

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा आइतबार चन्दले माओवादी आन्दोलनप्रति पछिल्लो समय निर्माण गर्न खोजिएका भाष्य ठीक नभएको बताए ।

'अपराधी जो बनाउन खोजिएको छ र व्याख्या गर्न खोजिएको छ नि ती जनयुद्धमा भेटिएको भए त्यहाँ नै सिद्धिने थिए । यहाँ झुटलाई सत्य र सत्यलाई झुट बनाउन खोजिँदैछ,' उनले भने, 'यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । माओवादीलाई अपराधी बनाउन खोज्यो भने इतिहास दोहोरिन्छ । यो कुराको हेक्का राख्नुपर्छ ।'

चन्दले सबै माओवादी एकजुट भएमा २०६० सालको मा‌ओवादी बन्ने बताए । उनले थपे, 'दोहोरिन्छ इतिहास । इतिहास दोहोरिने भनेको माओवादी एकीकृत बन्छ । फेरि जनमुक्ति सेना गठन हुन्छ ।' विगतमा शासन गर्नेहरूलाई ल्याएर जनताले मुक्ति नपाउने र त्यसो हुन नदिइने उनको भनाइ थियो ।

'आज यो सारा देश माओवादीले बिगार्‍यो, भत्कायो भन्छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू, बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ ? उहाँको कुरा तर मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने तागत हामीसँग छ,' चन्दले भने, 'को हो हत्यारा नेपालमा ? अढाइ सय वर्षसम्म नेपालीलाई टाउकादेखि खुट्टासम्म चुसेर अर्बौं सम्पत्ति जोड्ने अपराधी हुन् कि जनताको अधिकारका लागि लड्ने अपराधी हुन् ?'

जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो उनीहरूलाई अपराधीको व्यवहार गरिएको भन्दै उनले आपत्ति जनाएका थिए । सम्मान्नित हुनुपर्ने मान्छे अपराधीजस्तो कठघरामा उभ्याइएको तर दण्डित गर्नुपर्ने मान्छेको हालिमुहाली चलिरहेको उनको गुनासो थियो ।

यस्तै माओवादी सशस्त्र विद्रोहका क्रममा महिला, किसानमाथि भएका राज्यको दमनबारे कोही नबोल्ने भन्दै चन्दले असन्तुष्टि जनाए ।

विगतमा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाइएको तर अहिले राजतन्त्र ल्याउँछौं भनेर सडकमा निस्किनेलाई केही नगरिएकोप्रति पनि चन्दको आपत्ति थियो । यस क्रममा चन्दले सबै माओवादीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै आह्वान गरेका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७९ १७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×