राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता- प्रवास - कान्तिपुर समाचार

राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उद्योग तथा लगानीसम्बन्धी निजी सल्लाहकारबीच सलमान एफ. रहमानबीच आइतबार ढाकामा भेटवार्ता भएको छ ।

उनीहरुबीच नेपाल र बंगलादेशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने तथा उर्जा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

राजदूत भण्डारीले पछिल्लो समय बंगलादेशसँग आर्थिक सम्बन्ध बढाउन र उर्जा सम्बन्धलाई अघि बढाउनका लागि भन्दै एकपछि अर्को भेटवार्ता गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

सरकारी निकायका वेबसाइट एकै डिजाइनका बनाउने काम अन्तिम चरणमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एकै डिजाइनको बन्ने सरकारी वेबसाइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारी निकायहरुको नाममा तयार हुने वेबपेजहरु एउटै स्टाण्डर्ड ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । गत वर्ष सरकारले आफ्ना मातहतका सबै साइट एकै डिजाइनमा बनाउने निर्णय गर्दै सरकारी निकायको वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका, २०६८ खारेज गरी ‘सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्‌बाट पास गरेको थियो ।

सञ्चार तथा सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार गरेको 'टेम्प्लेट'लाई पछिल्लो विकसित प्रविधि प्रयोग गर्दै उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायले आफू अनुकुल प्रयोगमा ल्याउन सक्नेगरी नयाँ 'टेम्प्लेट' निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो । हाल सरकारी निकायहरुले कार्यालयपिच्छे निजी क्षेत्रको परामर्श सेवामार्फत वेबसाइट डिजाइन गर्ने गरेका छन् । यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाहृय स्रोतको परामर्श सेवा लिएर वेबसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो ।

अहिले निर्माण भएका कतिपय कार्यालयका वेबसाइटहरु पुरानो सोर्स कोड, प्रविधि तथा टेम्प्लेट प्रयोग भइ निर्माण भएका कारण एकै प्रकारका नयाँ वेबसाइट निर्माण सुरु गरेको थियो । एउटै स्टाण्डर्डको ढाँचामा वेबपेज निर्माणले भविष्यमा वेबपेजहरुको सुरक्षा निरीक्षण (सेक्युरिटी इन्स्पेक्सन) तथा प्रणाली अपडेट गर्न समेत सहज हुने छ । साइबर सुरक्षामा देखिने जोखिमलाई एउटै प्रणालीबाट हल गर्न सकिने तथा वेब डेभलपमेन्टको क्षेत्रमा विकास हुने नयाँ प्रविधिलाई समेत एउटै प्लेटफर्मबाट अपडेट गर्न सहज हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रको दाबी छ ।

नयाँ बन्ने टेम्प्लेटमा मास्टर हेडबाहेक अरु डिजाइनलाई सम्बन्धित कार्यालयहरुले सिस्टममा उपलब्ध डिजाइन (ड्रयाग एण्ड ड्रप टेक्नोलोजी) प्रयोग गरी आफ्नो आवश्यकता अनुसार परिमार्जन गरी प्रयोगमा ल्याउन सक्नेछन् । पछिल्लो समयमा सरकारी वेबपेजहरुमा अनाधिकृत प्रवेश गरी आक्रमण गर्ने क्रम बढ्दो छ । नयाँ डिजाइनको साइट सुरक्षित र प्रयोगकर्ता मैत्री बनाइने केन्द्रले दाबी गरेको छ ।

प्रकाशित : फाल्गुन १४, २०७९ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×