कोरियामा लगानी सम्मेलन- प्रवास - कान्तिपुर समाचार

कोरियामा लगानी सम्मेलन

गोकुल थोकर

सोल — नेपाली राजदूतावास दक्षिण कोरियाले गैरआवासीय नेपाली संघ दक्षिण कोरियासँग मिलेर ‘नेपाल इन्भेस्टमेन्ट सेमिनार २०२३’ आयोजना गरेको छ । बुधबार सोलमा भएको कार्यक्रममा कोरियाका ५५ भन्दा बढी कोरियाली लगानीकर्ताहरुको सहभागिता रहेको थियो ।

‘कोरियाली लगानीकर्ताहरु नेपालमा उचित लगानी गर्न चाहन्छन् । हामीले उचित वातावरण मिलाइदिनुपर्‍यो । यहाँका लगानीकर्तालाई हाम्रोमा भएका सम्भावनाका विषयमा पनि जानकारी गराउनुपर्‍यो ।’ गैरआवासीय नेपाली संघका अध्यक्ष दीपक पुनले भने ।

कार्यक्रममा आएका धेरै कोरियाली लगानीकर्ताहरू पूर्वाधार विकास, पर्यटन, कृषि र हाइड्रोपावर क्षेत्रमा लगानी गर्नका लागि इच्छुक रहेका छन् ।कार्यक्रमका प्रमुख अतिथि कोरिया नेपाल पार्लियमेन्टरी फ्रेन्डसिप ग्रुपका सभापति ली साङ हेनले नेपालमा लगानीका लागि प्रशस्त ठाउँ रहेको बताए । उनले नेपाल घुम्न जाँदा नेपालबारे बुझेको भन्दै कोरियाली लगानीकर्तालाई आफूले सक्ने क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे ।

कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत ज्योती भण्डारी प्याकुरेलले नेपालमा कोरियालीहरूले अहिले पनि लगानी गरेर राम्रो गरिरहेको बताइन् । ‘नेपालका धेरै क्षेत्रमा लगानी गर्न सकिने ठाउँ छन् । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाइरहेको छ । थप सुधार गर्न परे त्यो पनि गर्नेछ‚’ कोरियाली लगानीकर्तामाझ उनले भनिन्‚ ‘कोरिया विकसित देश भएकाले यहाँ भएको पुँजी र प्रविधि नेपाललाई चाहिएको छ । यसका लागि नेपाल सरकार लगानी सुरक्षाका निम्ति पनि तयार छ ।’

अहिले दक्षिण कोरियाली लगानीकर्ताहरुले नेपालमा कोरियाली ठूलो कम्पनीमध्ये एक दोसान कम्पनीले त्रिशुली १ हाईड्रोपावरका लागि काम गरिरहेको छ । काठमाडौँ तराई फास्ट ट्य्राकमा समेत योसिन इन्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ । त्यस्तै घर निर्माणमा कोरियाली कम्पनी एसवाई ग्रुपले एसवाई प्यानल र अनलाइन मार्केटिङमा एसवाई बजार नामक एपमार्फत अनलाइन बजारको काम गरिरहेको छ ।

प्रकाशित : माघ १९, २०७९ १३:००
प्रतिक्रिया
पठाउनुहोस्

आंगिक क्याम्पसमा समुदायको भर

प्रकाश बराल

बागलुङ — बागलुङको धौलागिरि बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भए पनि यहाँको मुख्य आर्थिक भार भने समुदायको काँधमा परेको छ । सरकारी क्याम्पस भएपछि यहाँका अधिकांश संकाय समुदायको सहयोगमा सञ्चालन भएका हुन् ।

सरकारी बजेटमा चलेका संकायमा विद्यार्थी संख्या न्यून छ भने समुदायका लगानीमा चलेका संकायमा विद्यार्थी खचाखच छन् ।

आंगिकतर्फ यहाँ मानविकी र शिक्षाशास्त्र संकाय सञ्चालनमा छ । मानविकीतर्फ १ सय ११ र शिक्षाशास्त्रतर्फ ७ सय ८५ जना विद्यार्थी छन् । तर, समुदाय र विद्यार्थीको शुल्कबाट सञ्चालित बीबीएसमा १ हजार ७५ जना, विज्ञान संकायमा ८० जना, बीबीएतर्फ १ सय ५६ जना र समाजशास्त्र, मानवशास्त्रको स्नातकोत्तर तहमा २८ जना विद्यार्थी छन् । त्यस्तै स्नातकोत्तरतर्फ एमबीएसमा पनि ६८ विद्यार्थी गरी जम्मा २ हजार ३ सय ३६ विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्रा. रामप्रसाद उपाध्यायले बताए ।

आर्थिक भारतर्फ आर्थिक वर्ष २०७८/०७९ मा मात्रै विद्यार्थीको शुल्कबाट २ करोड ८० लाख, सटर भाडाबाट ३४ लाख, धरौटी आम्दानीबाट ४४ लाख, परीक्षा शुल्कबाट १३ लाख र सांसद कोषबाट भवन निर्माणका लागि ३२ लाख आम्दानी गरेको क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट तलबस्वरुप ४ करोड ६३ लाख ३६ हजार रुपैयाँ मात्र आएको देखिएको हो । ‘समुदाय र विद्यार्थीको शुल्क नभए क्याम्पस चल्नै सक्दैन,’ क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. दिनबहादुर थापाले भने, ‘त्रिविले स्वायत्ततामा लगेपछि समुदायको सहयोगले नै क्याम्पसहरू चलाउन सकिएको हो ।’ शिक्षण शुल्क महँगो भएको गुनासो आए पनि आफ्नै खर्चमा सञ्चालन गर्नु पर्दाको परिणति भएको बुझ्नुपर्ने उनले बताए ।

यहाँ ७३ जना प्राध्यापक र २६ जना कर्मचारी गरी ९९ जना कार्यरत छन् । तीमध्ये ६१ ज्ना प्राध्यापक मात्रै पूर्णकालीन छन् । २३ जना प्राध्यापकलाई आन्तरिक स्रोतबाट करार गरिएको छ । तेह्र वर्षअघि सुरु भएको विज्ञान संकाय, ४ वर्षअघि सुरु भएको बीबीएलगायत शाखामा पढाउने अधिकांश प्राध्यापक आन्तरिक स्रोतबाट राखिएको हो । मानविकीतर्फ इतिहास, राजनीतिशास्त्रलगायत विषयमा भने यहाँ प्राध्यापक भएर पनि पढाइ हुने गरेको छैन, जसका कारण व्ययभार धेरै र आवश्यकताको स्थानमा लगानी कम देखिएको थापाले बताए ।

क्याम्पसले बुधबार ६०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव उद्घाटन गर्न आएका शिक्षा संकायका डिन प्रा. चित्रबहादुर बुढाथोकीले पनि समुदायको लगानीले मात्रै शिक्षण संस्था अगाडि बढ्न सकेको बताए । उनले त्रिविको आर्थिक अवस्थाले सबै चाहना पूरा गर्न नसकिएको स्विकारे ।

उत्तीर्ण दरमा सुधार

त्रिविका अधिकांश क्याम्पसमा उत्तीर्णदर २५ प्रतिशत भएकोमा यहाँ ३५ प्रतिशत देखिएको छ । उत्तीर्ण भएकाहरू पनि अधिकांश समुदायका लगानीमा सञ्चालित संकायमा बढी छ ।

यहाँको बीबीएमा चार वर्षदेखि गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा आउने गरेको छ । शतप्रतिशत उत्तीर्ण र उत्कृष्ट अंक ल्याउने विद्यार्थीसमेत धौलागिरि बहुमुखी क्याम्पसकै छन् । गत वर्षको परीक्षामा यहाँकी प्रतीक्षा गौतम गण्डकी प्रदेशमा उत्कृष्ट भएकी थिइन् ।

गुणस्तर सुधार गर्न स्वतन्त्र विद्यार्थी युनियनले चार वर्षदेखि नै त्रैमासिक परीक्षा, आन्तरिक मूल्यांकन र अतिरिक्त क्रियाकलापमा काम गरेको थियो । ‘त्रिविको परीक्षा कुरेर बस्दा डेढ वर्षमा पनि एउटा परीक्षा भेटिँदैन, त्यसैले हामीले त्रैमासिक परीक्षामार्फत विद्यार्थीको गुणस्तर बढाउन पहल गरेका थियौं, त्यसले केही सुधार भएको छ,’ स्ववियु सभापति मनबहादुर थापाले भने, ‘यति नगरेको भए क्याम्पसको शैक्षिक अवस्था चिन्ताजनक हुन्थ्यो ।’ नियमित परीक्षा सञ्चालनका लागि विद्यार्थीबाटै शुल्क उठाएर स्ववियुको समन्वयमा क्याम्पस प्रशासनले परीक्षा सञ्चालन गर्दा गुणस्तर सुधार भएको थापाले पनि स्विकारे ।

प्रकाशित : माघ १९, २०७९ १२:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×