दूतावास नभएका देशमा सरकारी घुम्ती टोली खटाइने - प्रवास - कान्तिपुर समाचार

दूतावास नभएका देशमा सरकारी घुम्ती टोली खटाइने 

कान्तिपुर संवाददाता

काठमाडौँ — पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको बताइन् ।

गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको फहलमा आइतबार आयोजित अन्तर्क्रिया कार्यत्रममा परराष्ट्रमन्त्री पौड्यालले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने तयारी गरेको बताइन् ।

‘पोर्चुगलका धेरै कुराहरु सुन्यौं, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ,’ उनले भनिन्, ‘तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ, अर्कोतर्फ मन्त्रिपरिषदबाट त्यसको निर्णय हुनुपर्छ, त्यसैले तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने र त्यहाँका कागजपत्रविहीन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौं ।’

आइतबार मात्रै यसमा निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको उनको भनाइ थियो । यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष त्रयसहितको प्रतिनिधि मण्डलले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौड्याललाई आग्रह गरेको थियो । यूरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौड्यालले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताइन् ।


प्रकाशित : माघ १६, २०७९ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्

कृषि विकास बैंकको सीईओ हुनका लागि २२ जनाले दिए आवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबारसम्म २२ जनाको आवेदन परेको छ । बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको कार्यकाल सकिएपछि खाली रहेको उक्त पदमा २२ जनाको आवेदन परेको हो । उपाध्यायको कार्यकाल गत पुस १० गते देखि सकिएको थियो ।

कैलालीको धनगढीस्थित कृषि विकास बैंकको कार्यालय । तस्बिर : अर्जुन/कान्तिपुर


कृषि विकास बैंकमा ५१ प्रतिशत सरकार र बाँकी ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने म्याद तोकेको थियो । सोही सूचनाका आधारमा आइतबार साँझसम्म २२ जनाको आवेदन परेको हो ।

सीईओका लागि कृषि विकास बैंकका कार्यरत २ जना कर्मचारीसहित कुल २२ जनाको आवेदन परेको हो । यसरी आवेदन दिनेहरुमा प्रताब सुवेदी, यज्ञ प्रकाश न्यौपाने, गोविन्द गुरुङ, पूर्णप्रसाद आचार्य, कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्री गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलकराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुणकुमार ढुंगाना, प्रमोदबाबु तिवारी र रामदेव यादव रहेको बैंक स्रोतले जनाएको छ ।

परेका आवेदनबाट शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्यांकनको आधारमा पहिलो चरणमा उत्कृष्ट ५ जनालाई छनोट गर्ने, दोस्रो चरणमा तीन जना छनोट गरी अन्तरवार्ताका लागि बोलाइने बैंकले जनाएको छ । कृषि विकास बैंक सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको संयोजकत्वमा सीइओ छनोट समिति गठन भएको छ । समितिको सदस्यमा बैंकका अर्का सञ्चालक सन्जीव पौडेल र विज्ञ सदस्यमा ज्योतिचन्द्र ओझा छन् । पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट समितिले तीन जना छनोट गर्ने छ । यसरी छनोट भएका तीन जनामध्येबाट एक जनालाई बैंक सञ्चालक समितिले छनोट गर्नेछ ।

प्रकाशित : माघ १६, २०७९ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×