अमेरिकामा पासपोर्टका लागि शुल्क तिर्ने सेवाग्राही थप मारमा


काठमाडौँ — वासिङटनस्थित नेपाली दूतावासले चलाएको जनसेवा शिविर अन्तर्गत गत डिसेम्बर दोस्रो सातामा अमेरिकाको टेक्सस राज्यमा नेपाली सेवाग्राहीबाट उठेको रकम लुटिएकोबारे अनुसन्धान र तथ्यसत्य सार्वजनिक नभएको भन्दै टेक्ससस्थित नेपाली समुदायले विरोध जनाएको छ ।


दूतावासको उक्त घुम्ती टोलीले ९ सय २८ जना टेक्ससवासी नेपालीलाई सेवा दिएको र त्यसबापत झण्डै २ लाख डलरको मनी अर्डर र ब्यासियर चेक संकलन गरेको थियो ।
उक्त घटनापछि नेपाली दूतावासले जारी गरेको सूचनामा पहिले पठाएको मनी अर्डर रद्ध गराउँदै शीघ्र अर्को मनी अर्डर पठाउन निर्देश दिएकोमा आपत्ति जनाउँदै टेक्सासस्थित नेपाली समाजका प्रतिनिधले आधुनिक युगमा पनि मनी अर्डरबाटै काम गर्ने दूतावासको कार्यशैलीलाई अव्यवहारिक भनेका छन् ।
नेपाली समाज(टेक्सस)का अध्यक्ष राजेन्द्र वाग्ले, ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, नेपलीज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष रविन श्रेष्ठ, सृजनशील नेपाली समाज(ह्युस्टन)का अध्यक्ष कृष्ण न्यौपाने र एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले जारी गरेको विज्ञप्तिमा दूतावासले गरेको लापर्बाहीमा सेवाग्राहीलाई थप दुःख दिन र अनावश्यक नियमन गर्न नमिल्ने जनाइएको छ ।
‘बुझाउनुपर्ने राजश्व कार्डबाट वा अनलाइन तिर्न सकिने सुरक्षित उपाय अपनाउनुपर्छ । मनी अर्डरबाट शुल्क लिने प्रक्रिया खारेज गरिनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘दूतावासमा सम्पर्क गर्दा फोन नउठ्ने र कुनै जवाफ पाउन नसकिने सधैँको स्थितिको अन्त्य हुनु जरुरी छ ।’