कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनमा नेपालको द्वन्द्व, शिक्षा र शान्तिका विषयमा चर्चा

काठमाडौँ — लन्डनमा नेपालको द्वन्द्व, शिक्षा र शान्तिका विषयमा चर्चा भएको छ ।  मंगलबार साँझ लन्डनको युनिभर्सिटी कलेज लन्डनमा आयोजित पुस्तक विमोचन समारोहमा वुद्धिजीवीहरूले उल्लेखित विषयमा चर्चा गरेका हुन् ।

लन्डनमा नेपालको द्वन्द्व, शिक्षा र शान्तिका विषयमा चर्चा

युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का प्राध्यापक डा. तेजेन्द्र फेरालीले आफ्नो पुस्तक 'कन्फ्लिक्ट, एडुकेसन एन्ड पिस इन नेपाल : रिबिल्डिङ एडुकेसन फर पिस डेभलेपमेन्ट' मा सन् १९९६ देखि २००६ सम्म नेपालमा भएको दशक लामो माओवादी द्वन्द्वका कारण शिक्षा क्षेत्रमा परेको प्रभावलाई विश्लेषण गर्ने प्रयत्न गरेको बताए ।

'धेरै सीमान्तिकृत समूहले शिक्षाबाट लाभ लिन सकेनन् । राज्यले नै ‘एक भाषा, एक संस्कृति’ लाई बढावा दिए पछि नेपाली भाषा र उच्च जातीय अहंकारविरुद्ध प्रतिरोध बढेको थियो,' उनले भने ।

नाइजेरियामा बोको हराम लडाकुले शैक्षिक संस्थाहरुमा गरेको आक्रमणको उदाहरण दिँदै प्राध्यापक फेरालीले द्वन्द्वमा बालबालिकाको सुरक्षाका लागि शिक्षकको गहन जिम्मेवारी रहने धारणा राखे । 'जहाँ जोखिम उच्च हुन्छ, अस्थायी विद्यालय बन्द गर्न पनि सोच्नुपर्छ । जस्तो कोभिडका बेला वैकल्पिक पठनपाठनको व्यवस्था गरिएको थियो,' उनले भने ।

नेपालमा द्वन्द्वका बेला विद्यालयहरूलाई माओवादीहरूले आफ्नो राजनीतिक तथा सामाजिक प्रयोगको थलोको रूपमा हेरेका थिए। द्वन्द्वका कारण सयौं विद्यार्थी र शिक्षक पीडित बनेका थिए भने कतिपयले सक्रियतापूर्वक आन्दोलनमा भाग लिएका थिए।

माओवादी युद्ध र मधेस आन्दोलनले नेपाली समाजमा उपल्लो भनिने जातले 'डोमिनेट' गरिरहेको सामाजिक राजनीतिक प्रणालीलाई परिवर्तन गरि ऐतिहासिक रुूपमै सीमान्तिकृतहरुको आवाजलाई प्रस्फुटन गरेको पनि फेरालीले सुनाए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लेखक डा. फेरालीले आफ्नो किताबमा द्वन्द्वको इतिहासमात्र नहेरी शिक्षाको आयाम र द्वन्द्व अनि यसको कारण पनि खोतलेको बताए । 'त्यसो भनिरहँदा नेपालमा मानव विकास र आर्थिक समृद्धि पनि एकसाथ गइरहेको छ,' राजदूत आचार्यले भने, 'नेपाल हरेक नागरिकको शिक्षाको अधिकारका लागि कटिवद्ध छ । हामीले खुद भर्ना र लैंगिक समानताको हकमा धेरै प्रगति पनि गरेका छौं । तर, माध्यमिक शिक्षा र अन्तर प्रादेशिक स्तरमा भने धेरै चुनौती छन् ।'

द्वन्द्वपछिको एक दशकमा नेपालले धेरै क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै राजदूत आचार्यले यसमा सरोकारवाला र अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा सहभागिताका लागि धन्यवादसमेत दिए । नेपालको उद्देश्य शान्ति प्रवर्धन र सबैको समृद्धि रहेको पनि उनले बताए ।

पुस्तक समीक्षा गर्दै यूसीएलस्थित इन्सटिच्यूट अफ एजुकेसनकी फ्याकल्टी सदस्य डा. उमा प्रधानले पुस्तकले नेपालको शिक्षामा सामाजिक, राजनीतिक प्रभावलाई फराकिलो ढंगले उजागर गरेको बताइन् । उनले माओवादी द्वन्द्वका बेला विद्यालयहरुलाई हिंसाको मुख्य तारो बनाइएको पनि स्मरण गरिन् । विद्यालय कसरी बन्द गरिएका थिए र विद्यार्थीहरुलाई द्वन्द्वमा सामेल गराउन प्रेरित गरिएको थियो भन्ने पनि पुस्तकले समेटेको प्रधानले बताइन् ।

कार्यक्रममा सोआस लन्डन विश्वविद्यालयमा नेपाल तथा हिमालय अध्ययनका प्राध्यापक माइकल हट र युनिभर्सिटी अफ ससेक्सका प्राध्यापक मारियो नोभेलीले मन्तव्य राख्दै पुस्तक आंशिक व्यक्तिगत र आंशिक बौद्धिक भएको धारणा राखे ।

प्रकाशित : पुस २९, २०७९ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?