१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलियामा मनाइयो टोपी दिवस

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समयमा लोकप्रिय बन्दै आएको 'अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस' अस्ट्रेलियामा पदयात्रा तथा पर्यटन प्रवर्द्धन गर्दै मनाइएको छ । नेपाली झन्डा र परम्परागत पोसाकसहित शिरमा ढाका टोपी लगाएर दर्जनौं नेपालीले एकाबिहानै पदयात्रामा सहभागी भएका थिए ।

अस्ट्रेलियामा मनाइयो टोपी दिवस

यस राज्यमा हरेक वर्ष टोपी दिवस धुमधामसँग मनाइने गरिन्छ । यहाँस्थित प्रवासी नेपाली मञ्चले कार्यक्रमको आयोजना गरेको थियो । मञ्चले ५ वर्ष अघिदेखि नेपाली टोपी दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

आज जनवरी १ तारिख आइतबारका दिन आयोजना गरिएको कार्यक्रममा युवा मात्र नभएर नेपालबाट आफ्नो परिवार भेट्न आएका अभिभावकको समेत उल्लेख्य उपस्थिति थियो । यस राज्यको सामुन्द्रिक पर्यटकीय क्षेत्र समरटनबाट ग्लेनेग बीच हुँदै एकाबिहानै सुरु गरिएको कार्यक्रम करिब ५ किलोमिटरको पदयात्रापछि पुन: सोही स्थानमा आएर टुङ्गिएको थियो । पदयात्रालाई स्थानीयबासीले चासो मात्र राखेका थिएनन् कि केही त पदयात्रामा समेत सहभागी बनेका थिए ।


कार्यक्रमको मुख्य उद्देश्य नेपालीको पहिचानका रुपमा रहेको ढाकाटोपीलाई विश्वभरि चिनाउनु र नेपाली परम्परा, कलासंस्कृति र पहिचानलाई अस्ट्रेलियामा अझ बुझाउनु रहेको आयोजकको भनाइ छ । आयोजक संस्थाका अध्यक्ष युवराज पहाडीले आफूहरुले विगत ५ वर्षदेखि टोपी दिवस मनाउँदै आएको र यस किसिमका कार्यक्रमले आफ्नो परम्परागत कला–संस्कृतिको जर्गेना हुने मात्र नभएर नेपालीको फरक पहिचान समेत दिगो रहने बताए ।


‘हाम्रो मुख्य उद्देश्य कुनै न कुनै माध्यमबाट नेपालको कला–संस्कति, भेषभूषा र पर्यटनका बारेमा विदेशीलाई जानकारी दिने नै हो,’ उनले भने । उनले कार्यक्रमलाई स्थानीयबासीले चासोका साथ अवलोकल गरेको सुनाए । कार्यक्रममा सहभागीलाई आयोजकले ढाकाटोपी वितरण गरेको थियो भने हालै यहाँस्थित काउन्सिल निर्वाचनमा विजयी भएकी नेपाली मूलकी महिला रेणुका लामालाई समेत सम्मान गरिएको थियो ।


कार्यक्रममा दक्षिण अस्ट्रेलियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत दीपक धमला लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित : पुस १७, २०७९ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?