कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब २ लाख रुपैयाँ पुग्यो - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा कामदारको तलब बढ्यो, मासिक न्यूनतम तलब २ लाख रुपैयाँ पुग्यो 

गोकुल थोकर

सोल, दक्षिण कोरिया — रोजगार अनुमति प्रणाली (ईपिएस)मार्फत दक्षिण कोरिया आएका कामदारको तलब बढेको छ । नयाँ वर्षसँगै यहाँ कार्यरत कामदारको तलब अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत बढेर प्रतिघन्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) प्राप्त गर्नेछन् भने मासिक न्यूनतम तलब २० लाख १० हजार ५ सय ८० (दुई लाख रुपैयाँ) पाउने छन् । 

पाँच जनाभन्दा धेरै कामदार भएको कम्पनीले एक घण्टा ओभर टाइम गरे १४ हजार ४ सय ३० (१४ सय ४०) प्राप्त गर्नेछन् । राति १० बजेदेखि बिहान ६ बजेभित्र काम गरे १९ हजार २ सय ४० (झन्डै २ हजार रुपैयाँ) पाउने छन् ।

पाँच जनाभन्दा कम कामदार भएका कम्पनीको हकमा भने यो नियम लागू हुँदैन । कोरियामा कृषि क्षेत्रमा काम गर्ने प्रायः कम्पनीको कामदार पाँच जनाभन्दा कम छन् । कम कामदार भएको कम्पनीमा ओभरटाइम गरे पनि थप पैसा पाउँदैनन् । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरूले न्यूनतम ज्याला ९ हजार ६ सय २० वनमै कामदारलाई काम लगाउने छूट छ ।

ओभरटाइमलगायतका अन्य कामदारले कोरियाली श्रम कानुनअनुसार नै पाउनु पर्ने माग कोरियाली ट्रेड युनियनहरूले राख्दै आएका छन् । कोरियाली सरकारले भने सानो पुँजी भएका कम्पनीलाई पनि यो कानुन लगाए कम्पनी बन्दहुने र लाखौं मानिस प्रभावित हुने भन्दै श्रम कानुन लागू गर्न नसक्ने जनाउँदै आएको छ ।

कोरियाली सरकारले सन् १९८६ मा न्यूनतम ज्याला निर्धारण गर्ने नियम पारित गरेको थियो । त्यसको दुई वर्षपछि सन् १९८८ देखि यो नियम लागू हुँदै आएको छ । यसअघिका राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, २०१९ मा १०.९ प्रतिशत, २०२० मा २.९ प्रतिशत ज्याला बढाइएको थियो ।

त्यस्तै सन् २०२१ मा १.५ प्रतिशत तलब बढेको थियो । यो अहिलेसम्मकै सबैभन्दा कम बढेको तलब हो । तलबवृद्धिले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार पनि लाभान्वित हुनेछन् ।

प्रकाशित : पुस १६, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

जब धर्मपुत्री ‘अयोग्य’ बनिन्

धर्मपुत्री बनाउन काठमाडौं पुर्‍याइएकी अबोध बालिकालाई दुई सातापछि बझाङ फर्काइयो, छोरी लिन आएकी विवश आमाले धारेहात लगाउँदै भनिन्, ‘घरमै राखेर भोकै मार्नुभन्दा हुनेखानेको जिम्मा लाए पेटभरि खान पाउँदी हो भनेर पठाएँ, अझ यहीं आइगई ।’
वसन्तप्रताप सिंह

बझाङ — सात वर्षदेखि कान्तिपुरमा रिपोर्टिङ गर्दै आएको छु, बझाङको जयपृथ्वी नगरपालिका, कैलाशको पिमी मेरो जन्मस्थल हो । शिक्षा र स्वास्थ्यमा पहुँच मेरा लागि कष्टसाध्य थियो । कक्षा ५ पास गरेपछि ६ पढ्न सदरमुकाम चैनपुरनजिकको सत्यवादी माध्यमिक विद्यालयमा भर्ना भएँ । 

आमरूपमा देशभर बिहान १० बजेदेखि स्कुल लाग्छ । तर, चैतदेखि असारसम्म गर्मी भनेर हाम्रोतिर भने बिहान ६ बजे नै घण्टी लाग्थ्यो । स्कुल समयमा पुग्न कहिलेकाहीँ आफू छिटो उठिन्थ्यो, कहिलेकाहीँ साथीहरूले उठाउँथे । सबै साथी जम्मा भएर स्कुलतर्फ बिहान हिँड्दा ‘टर्च लाइट’ बाल्नुपर्थ्यो ।

पहिलो घण्टीमा स्कुल पुग्न कहिल्यै पाइएन । किनकि गाउँबाट ओरालोमा हुत्तिँदा पनि स्कुल पुग्न अढाई घण्टा लाग्थ्यो । धन्न, पढाइ सुरु नहुँदै विद्यार्थी जम्मा भएको निश्चित गर्न साढे ६ बजे दोस्रो घण्टी लाग्थ्यो । त्यसैले धेरैजसो हामी दोस्रो घण्टीमा पुग्थ्यौं । तर कहिलेकाहीँ ढिलो हुन्थ्यो । कहिले कुनै पनि साथी उठ्दैनथे, कहिले उनीहरूको घरमा काम पर्थ्यो । त्यस्तो बेला मेरा हजुरआमा र आमाले मलाई आधा बाटोसम्म पुर्‍याउनुहुन्थ्यो, बाटोमा उज्यालो भएपछि उहाँहरू फर्कनुहुन्थ्यो ।

यसरी शिक्षा लिएको म २०७२ देखि कान्तिपुर दैनिकमा बझाङ संवाददाताका रूपमा कार्यरत छु । गाउँको भूगोल, कृषि, शिक्षा, स्वास्थ्य, राजनीति र समग्र जनजीवनका विषयमा रिपोर्टिङ गर्दै आएको छु । साइपाल हिमाल मेरै गाउँबाट देखिन्छ, यद्यपि हिँडेर आधारशिविर पुग्न पनि ५ दिन लाग्छ । तर, साइपाल आधारशिविरमा म पाँच पटक पुगिसकेको छु, रिपोर्टिङकै लागि । आउन–जान मात्र १० दिन लाग्छ, त्यो मेरा लागि सामान्य हो ।

हिमाली वातावरण र जनजीवनका विषयमा गरेको रिपोर्टिङका आधारमा यो वर्ष मलाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पुरस्कृत गर्ने निर्णय गरेछ । काठमाडौं पुगेर पुरस्कार लिएपछि म धनगढी हुँदै बझाङ फर्कने तयारीमा थिएँ ।

गत सोमबार, बझाङ फर्किन धनगढीको टिकट काउन्टरमा उभिएको थिएँ । बझाङमा एउटा मात्र जहाज आउँछ समिट एयरको, त्यो पनि सोमबार र मंगलबार मात्र । धनगढी विमानस्थलमा समिट एयरका काउन्टर इन्चार्ज किशोर खड्काको छेउमै मूर्तिवत् थिइन्, एक बालिका । बझाङ घर भएका पूर्वपत्रकार मित्र किशोरले मलाई अनुरोध गर्दै भने, ‘चैनपुरमा यिनकी आमाले रिसिभ गर्लिन्, त्यहाँसम्म तपाईंले लगिदिनुपर्‍यो, विश्वासिलो मान्छे अरू नभेटेर तपाईंलाई गुहारेको हुँ ।’


किशोरको अनुरोध नकार्न सकिने खालको थिएन । बालिका काउन्टरको एक छेउमा चुपचाप उभिएकी थिइन् । तिनको अनुहारमा एकतमासको डर देखिन्थ्यो । बालिकातिर हेरिरहेका बेला किशोरले भने, ‘हिजो मात्रै काठमाडौंबाट कसैले ल्याइदिएको हो । तपाईंले अप्ठ्यारो मान्नु पर्दैन । यी विचरी दुःखी हुन् । प्लिज पुर्‍याइदिनुस् ।’

बझाङ मस्टा गाउँपालिकाकी ती बालिकालाई कसैले धर्मपुत्री बनाउन काठमाडौं लगेको र दुई साता राखेर फिर्ता पठाइदिएको किशोरले नै जानकारी दिए । कसैका परिवारमा सन्तान थिएनन्, त्यसैले धर्मपुत्र–पुत्रीको खोजी भएको थियो । कसैको घरमा सन्तान धेरै थिए, त्यसैले धर्मपुत्रीका रूपमा राख्न काठमाडौंको एक धनाढ्यकहाँ पठाएका रहेछन् ।

तर, कुपोषणले ग्रस्त बालिका सुस्तजस्तो देखिएको भन्दै धनाढ्य परिवारले उनलाई फिर्ता पठाइदिएछन् । मैले उनलाई उनकी आमासम्म पुर्‍याउने जिम्मा लिएँ । तर, अपरिचित बालिका मेरो छेउमा आउनै मानिनन् । चकलेट दिएर फकाउन खोजें, उल्टै चिच्याउन थालिन् तर स्वर निकै सानो थियो । रुँदारुँदै भास्सिएजस्तो । उनलाई जसरी हुन्छ बझाङ लगेर आफन्तको जिम्मा लगाउनैपर्ने थियो । मैले बझाङी भाषामा कुरा गर्न थालेपछि भने उनी बल्ल सहज भइन् ।

करिब २२ मिनेटको मात्र उडान थियो । त्यो बीचमा उनी मेरो काखमा निदाइन् । तर, जहाज अवतरण गर्दा उनी आफैं झस्किएर जागिन् । आमा भेट्न जाने भनेर सुनाएपछि उनको अनुहारमा एकाएक खुसी पनि देखियो ।

चैनपुर विमानस्थल उत्रिएपछि मैले बालिकाकी आफन्त पर्ने पुतली लामा दिदीलाई फोन गरें । उनले आफू आउन नभ्याउने भएकाले चैनपुर बजारसम्म ल्याइदिन अनुरोध गरिन् । पुतली दिदी पनि गाउँकी मनकारी मान्छे हुन्, उनले बजारमा होटल चलाउँछिन् । बालिकाकी आमा पनि होटलमा आएकी रहेछिन् । बच्चीलाई आमाको जिम्मा लगाएर म बिदा भएँ । उनीहरूको गाउँ जान गाडीमा पनि चार घण्टा लाग्छ ।

मेरो आफ्नो गाउँ भने अहिले गाडी जाने हुनाले एक घण्टा मात्र लाग्छ । तर म अहिले बजारमै डेरा लिएर बस्छु । डेरामा पुगेपछि पनि मेरा आँखामा तिनै बालिका नाचिरहेकी थिइन् । छटपटी भएपछि म खाना खाएर फेरि पुतली दिदीकहाँ पुगें । बच्ची र आमा होटलमै थिए ।

बालिकाको नाम मनकला रहेछ । उनकी आमाको नाम जमना । बाजुराको गौमूल गाउँपालिका कौडाकोट माइती भएकी जमनाले श्रीमान् बितेपछि बझाङको मस्टा गाउँपालिका, लटौनका जोगगिरी बोहरासँग दोस्रो बिहे गरेकी रहिछन् । पहिलो श्रीमतीबाट ६ छोरी भएपछि छोरा पाउने आसमा उनले जमनालाई बिहे गरेका रहेछन् । तर जमनाबाट पनि तीन छोरी जन्मिएका रहेछन् । तीमध्येकी माइली रहिछन् मनकला ।

छोरी मनकलालाई लिन आएकी जमना खुसी देखिइनन् । विवशताले भरिएको आफ्नो पृष्ठभूमि सुनाउँदै भनिन्, ‘छोरीको माया नलाग्ने कुन आमालाई होला ? यसकै भविष्य राम्रो होला भनेर हियापत्थर लाएर (मुटुमाथि ढुंगा राखेर) पठाएकी थिएँ । तर, लाटी रैछे भनेर फर्काइदिएछन् ।’ यति भनिनसक्दै उनले छोरीको टाउकामा धारे हात लगाउँदै गाली गरिन्, ‘यसको भाग्यमा सुख लेखेको भए पो !’


जमनाको सौतापट्टिकी एक छोरीको विवाह भइसकेको रहेछ । अरू आठ छोरीको पालनपोषण गर्न असम्भव भएकाले मन काटेर दूधे छोरीलाई अपरिचितको जिम्मा लगाउनुपरेको बताउँदै गर्दा जमना भक्कानिएर रोइन् । ‘श्रीमान् यिनीहरूलाई पाल्न भनेर खडिखान (भारतको उत्तराखण्डमा पर्ने ढुंगाखानीमा काम गर्न) गएका छन्, घरमा छकालबासा (बिहान–बेलुका) खान पुग्दैन,’ उनले भनिन्, ‘घरमै राखेर भोकै मार्नुभन्दा हुनेखानेको जिम्मा लाए पेटभरि खान पाउँदी हो भनेर पठाएँ, अझ यहीं आइगई ।’

उनकी एक छोरीलाई भने पुतली दिदीले आफैंसँग राखेर पढाउँदै आएकी छन् । अर्की एक छोरीलाई भने जमनाले बझाङकै एक स्वास्थ्यकर्मीको घरमा काम गर्न पठाएकी छन् । पेटभरि खान पाउली भनेर चार वर्षकी एक छोरीलाई बाबुले उत्तराखण्ड लगेर गएका छन् ।

बाँकी ५ छोरीको पनि कसैले उद्धार गरिदिए हुन्थ्यो भन्ने उनमा आशा देखिन्थ्यो । ‘मेरी छोरीहरूलाई राम्रोसँग पालनपोषण गर्ने र पढाइदिने कोही छन् भने खोजिदिनुहोला सर, यहाँ यिनीहरू भोकभोकै मर्ने हुन्,’ कुराको बिट मार्दै गर्दा उनले हात जोडिन् । काठमाडौंबाट फर्किएकी छोरीभन्दा एक वर्ष कान्छी अर्की छोरीलाई पनि कसैले धर्मपुत्री बनाएर लगे हुन्थ्यो भन्ने उनको आशय थियो ।

बालिकालाई काठमाडौं निवासी खरेल थरकी एक महिलाले धर्मपुत्री बनाएर लगेकी रहिछन् । किन लगेकी रहिछन् र किन फर्काएकी हुन् भनेर बुझ्न मैले अनितालाई फोन गरें ।

आफ्नो छोरी नभएको र श्रीमान्ले रहर गरेका कारण धर्मपुत्रीका रूपमा पाल्न ल्याएको तर बालिका सुस्त देखिएकाले फर्काइदिएको बताइन् । ‘यतै पनि त्यस्ता बच्चा भेटिएका थिए तर कुनै गरिबको बच्चा पाइयो भने झन् धर्म हुन्छ भनेर बझाङबाट ल्यायौं,’ उनले भनिन्, ‘यहाँ आएको धेरै दिनसम्म बच्ची घुलमिल हुनै सकिन । राम्रोसँग नबोल्ने । डाक्टरलाई चेक गराउँदा कुपोषित रहेको र उमेरअनुसार शारीरिक विकास नभएको भने । पछि दुःख पाउनुभन्दा फर्काइदिऊँ भन्ने सल्लाह भएर फर्काएका हौं ।’

उनले आफ्नो सात कक्षामा पढ्ने १३ वर्षको छोरा रहेको बताउँदै आफ्नो स्वास्थ्य अवस्थाका कारण अर्को बच्चा नजन्माउने बरु धर्मपुत्रीका रूपमा कसैको छोरी स्विकार्ने सल्लाह भएको जानकारी दिइन् । बालिका ल्याउँदा कुनै कानुनी प्रक्रिया नअपनाएको तर बालिकाकी आमाले आवश्यक परे धर्मपुत्रीका रूपमा छोरीका नाममा कागज बनाइदिने भनेपछि काठमाडौं ल्याएको बताइन् ।

गरिबीको चरम स्वरूप अनि आफ्नै सन्तान अरूलाई जिम्मा लगाउन तयार आमाहरूको विवशताको तीतो यथार्थले मलाई घोचिरहेको थियो । मैले तत्कालै मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरालाई फोन लगाएँ । यसरी पठाइएका बालबालिकाको कुनै आधिकारिक तथ्यांक पालिकामा नभए पनि विभिन्न कारणले बालबालिका अपरिचितको जिम्मा लगाउने गरेको बारे आफूले थाहा पाएको उनले बताए । ‘पालिकामा त यसको कुनै रेकर्ड छैन, अरूको जिम्मा लगाइएका बालबालिका १५/१६ जना होलान्, अझै बढी पनि हुन सक्छन् ।’ न्यून आय भएर पालनपोषण गर्न नसक्ने, सहरमा पठाएपछि ठूलो मान्छे बन्छ भन्ने आशाले र धेरै सन्तान हुर्काउन नसक्नेले अपरिचितलाई छोराछोरी जिम्मा लगाइरहेको उनले बताए ।

मैले जिल्लाकै अरू तीन पालिका प्रमुखसँग पनि यस विषयमा कुरा गरें । उनीहरूले यस्तो चलन जिल्लामा सामान्य जस्तै भएको र यसलाई रोक्ने पालिकाको दायित्वतर्फ ख्यालै नगरेको बताए । सबैको साझा जवाफ थियो, ‘धेरै बालबच्चा यसरी जिल्लाबाहिर पठाइएका छन् तर कति छन्, हामीसँग रेकर्ड छैन ।’

मुलुकी देवानी संहिता २०७४ ले धर्मपुत्र वा धर्मपुत्री राख्नका लागि निश्चित मापदण्ड तय गर्दै अदालती कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरेको छ । आमाबाबुको लिखित सहमतिमा अदालतमा निवेदन दिएपछि मात्रै प्रक्रिया पूरा गरेर धर्मपुत्र वा धर्मपुत्री लिन पाउने व्यवस्था छ ।

बझाङमा यो प्रक्रिया पालना हुन्छ त ? कति आमा जमनाजस्तै बिनाप्रमाण सन्तानलाई अपरिचितको हातमा थमाउन बाध्य होलान् ? यी प्रश्नको जवाफ खोज्न म जिल्ला अदालतको प्रशासन शाखाका कर्मचारी अक्कल रावलकहाँ पुगें । उनले हालसम्म कानुनी प्रक्रिया पूरा गरेर एक जनाले मात्रै धर्मपुत्र लिएको अभिलेख अदालतमा रहेको सुनाए ।

संयुक्त राष्ट्रसंघद्वारा सन् १९८९ मा पारित र इतिहासको सबैभन्दा व्यापक मानवअधिकार सन्धि भनिएको बाल अधिकारसम्बन्धी महासन्धिको नेपाल पक्षराष्ट्र हो । जब प्रत्येक सरकार र नागरिकले बाल अधिकार सम्बन्धित

आफ्नो सम्पूर्ण कर्तव्यको पालना गर्छन् र प्रत्येक बालबालिकाले ती अधिकार दाबी गर्न सक्छन् तब मात्र बाल अधिकार पूर्ण रूपमा सुनिश्चित हुनेछ भन्दै महासन्धिले बालबालिकाको विकास तथा कल्याणका लागि प्राकृतिक वातावरणका रूपमा रहेको परिवारलाई आवश्यक संरक्षण तथा सहयोग प्रदान गरिनुपर्छ भन्ने कुरालाई जोड दिएको छ । नेपालको संविधानले बालबालिकाको हक सुनिश्चित गरेको छ ।

बाल अधिकार ऐन, २०७५ लगायत बालबालिकाको हकका लागि थुप्रै कानुनी व्यवस्था छन्, जसमा बालबालिकाको गैरकानुनी ओसारपसारलगायत उनीहरूको व्यक्तित्व विकासबारे उल्लेख छ । महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले जुन बहानामा लिए पनि बालबालिकाको ओसारपसार अवैध रहेको बताइन् । यसरी अरूको आश्रयमा परेका बालबालिकालाई क्षमताभन्दा बढी काम लगाउने, खानामा विभेद गर्ने आफूले थाहा पाएको बताइन् । ‘स्थानीय सरकारले यस्तो विषयमा चासो देखाएर खोजबिन गर्नुपर्ने हो । तर यहाँ कसैलाई चासो छैन,’ उनले भनिन् ।

मैले जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल, दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापा र बित्थडचिर गाउँपालिकाका अध्यक्ष अमर महरसँग पनि यो विषयमा कुरा गरें । उनीहरू सबैले यस्तो चलन जिल्लामा सामान्यजस्तै भएको र यसलाई रोक्ने पालिकाको दायित्वतर्फ ख्याल नगरेको बताए । सबैको साझा जवाफ थियो, ‘धेरै बालबच्चा यसरी जिल्लाबाहिर पठाइएका छन् तर कति छन्, हामीसँग रेकर्ड छैन ।’ गरिबीको चपेटामा परेका उनीहरू सबैले सहरमा पठाएपछि बच्चा टाठोबाठो हुन्छन् भन्ने ठान्ने गरेको बताए ।

नगरप्रमुख बजालले नगरपालिकाले यस्ता बालबालिकाको तथ्यांक संकलन गर्ने तयारी गरिरहेको बताए भने दुर्गाथलीका अध्यक्ष थापाले पढाउन नसक्ने बालबालिकालाई शिक्षा दिने जिम्मा पालिकाले लिने गरी अनाथ आश्रम सञ्चालन गरिरहेको बताए । सबैको एउटै भनाइ थियो । ‘त्यसरी पठाउँदा पालिकासँग कुनै सल्लाह गर्दैनन्, समस्या भएको भए हामीलाई भन्दा केही सहयोग गर्न सकिन्थ्यो ।’

प्रकाशित : पुस १६, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×