कोरियाबाट नेपालीको शव ल्याउन समस्या- प्रवास - कान्तिपुर समाचार

कोरियाबाट नेपालीको शव ल्याउन समस्या

गोकुल थोकर

सोल — दक्षिण कोरियाली राजधानी सोलनजिकैको ख्याङ्गीस्थित ह्वासाङ सीको फलाम कम्पनीमा काम गर्थे सोलुखुम्बुका रामप्रकाश मगर । फलामसम्बन्धी काम सहज हुने कुरै भएन । कम्पनी घाटामा गएको भन्दै मालिकले दुई महिनादेखि तलब पनि दिएका थिएनन् ।

दिउँसो र राति गरी उनले दुई सिफ्टमा काम गर्थे । केही दुई/तीन दिनअघि देखि आफूलाई अलि सन्चो नभएको बताएका उनी डिसेम्बर १२ मा काममा नआएपछि खोजी गरेपछि उनी सुतेकै अवस्थामा मृत भेटिएका थिए ।

‘कम्पनीका साथीहरूले खबर गरेपछि अस्पताल लगेर पोस्टमार्टम गर्दा हृदयाघातबाट मृत्यु भएको रिपोर्ट आएको प्रहरीले बताएको थियो,’ सोलुखुम्बु समाज कोरियाका अध्यक्ष राजु राईले भने, ‘मृत्युका कारण अनेक हुन सक्छन् । तर पोस्टमार्टम रिपोर्ट सबैको उस्तै छ ।’ आफन्त गुमाएको खबरले नेपालस्थित परिवारजन तथा आफन्त दुःखी हुने नै भए । त्यसमाथि शव नेपाल झिकाउने झन्झटिलो र महँगो प्रक्रियाले उनीहरूमा पीडा थपिन्छ । ‘प्रकाशका आफन्तले पनि शव नेपाल झिकाउन निवेदन दिएछन् । अन्य प्रक्रिया त अप्ठ्यारो छँदै छ । तर सबैभन्दा गाह्रो भनेको आर्थिक पाटो हो,’ सोलुखुम्बुका युगेल तेन्डुप शेर्पाले भने । ‘राम्रो कम्पनीले नेपालसम्म शव पठाउन लाग्ने सबै खर्च दिने गरेका छन् । तर अधिकांशले दिँदैनन् । हाम्रो सरकारले दिएको पैसाले पुग्दैन ।’

कोरियामा वैधानिक रूपमा बसेका नेपालीको मृत्यु भएमा शव नेपाल लैजान ५४ लाख वन (५ लाख ४० हजार रुपैयाँ) नेपाली दूतावासमार्फत दिने व्यवस्था छ । तर त्यसले आधा खर्च पनि पुग्दैन । नेपाली दूतावासले एफएस इन्टरनेसनल कम्पनीमार्फत शव नेपाल पठाउँदै आएको छ । एफएसले कोरियाबाट नेपाल शव पुर्‍याएको १ करोड २३ लाख वन (१२ लाख ३० हजार रुपैयाँ) लिन्छ ।

कोरियामा मृत्यु भएका नेपालीको शव पठाउन नेपालीहरूले सहयोग गरेर पैसा जम्मा गर्छन् । प्रकाशको शव नेपाल पठाउन पनि सोलुखुम्बु समाज र मगर संघ मिलेर एक साता आर्थिक संकलन अभियान चलाए । अभियानबाट करिब १५ लाख रुपैयाँ जम्मा भएको मगर संघ कोरियाका अध्यक्ष टेक पुनले बताए । ‘नागरिकको मृत्यु हुँदा स्वदेश पठाउन पुग्ने आर्थिक जोहो गर्न नसक्नु दुःखद हो,’ उनले भने ।

कोरियामा रहेका ६ वटा संघसंस्था तथा राजनीतिक दलका भ्रातृ संगठनले कोरियामा मृत्यु भएका नेपालीको शवलाई नेपाल सरकारले नै लैजानुपर्ने माग राख्दै गत सोमबार नेपाली दूतावासमा संयुक्त ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल (भण्डारी) ले आफूहरू यो विषयमा सकारात्मक रहेको बताइन् । ‘ज्ञापनपत्रको माग हामी सम्बन्धित निकायमा पुर्‍याउँछौं । गम्भीर विषयमा सरकारले छिट्टै निर्णय लिने हामीले आशा लिएका छौं ।’

सेप्टेम्बर दोस्रो साता दक्षिण कोरिया भ्रमणमा रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरि पुष्करलाई कोरियास्थित नेपालीहरूले समस्या समाधान गर्न माग राखेका थिए । दुवै जनाले कोरियामा ज्यान गुमाउने नेपालीको शव सरकारले नै लैजाने निर्णय गरिने आवश्सन दिएका थिए । ‘हामीले भनिरहेका छौं । कहिलेसम्म कोरियामा रहेका नेपालीले चन्दा उठाएर शवलाई नेपाल पठाइरहने ?’ आन्सानमा काम गरिरहेका बीबी स्याङ्तानले भने, ‘हाम्रो माग कतैबाट सुनिँदैन ।’

दूतावासले भने पटकपटक कोरियामा भएको समस्याबारे वैदेशिक रोजगार बोर्डमा जानकारी दिएको जनाएको छ । ‘कोरियामा ५४ लाख वनले हुँदैन भनेर पटकपटक भनेका छौं,’ दूतावासका द्वितीय सचिव सूर्य रानाले भने, ‘अन्य देशमा कामदारको मृत्यु भएमा रोजगारदाता कम्पनीले शव नेपालसम्म पुर्‍याउने खर्च दिन्छन् । तर यहाँ दिइँदैन । यसबारे हामीले सम्बन्धित निकायमा जानकारी गराएका हौं । कार्यान्वयन भएको छैन,’ उनले भने ।

प्रकाशित : पुस १५, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

‘साराङ हे यो सोन ओप्पा’

कोरियाली खेलाडीहरू कतारमा विश्वकप खेलिरहँदा मध्यरातमा राजधानी सोलमा भेला भएका हजारौं युवाहरूले आफ्ना खेलाडीलाई यसरी प्रेम र समर्थन व्यक्त गरे ।
गोकुल थोकर

दक्षिण कोरिया — शुक्रबार राति दक्षिण कोरियाो राजधानी सोल तुसारोले छपक्कै थियो । तापक्रम माइनस ८ डिग्री सेल्सियसभन्दा बढी छ । चिसो यति धेरै कि मानिसहरुले स्वास फेर्दा मुखबाट चुरोट पिएको जस्तै बाफ निस्कन्थ्यो ।

ख्वाङ्ह्वामुन दरबार स्क्वायरअघि फुटबल हेर्न भेला भएका युवाहरूका आँखी भौंमा तुसारो नै जमेको थियो । कोरियाली मौसम विभागले शनिबार बिहान ४ बजेपछि हिउँ पर्ने पूर्वानुमान गरेको छ । सोलको चिसोलाई च्यालेन्ज गर्दै विश्वकप फुटबल हेर्न हजारौं युवाहरू रातो ज्याकेट र टाउकोमा पिलपिल बल्ने रातो बत्ती बोकेर भेला भए ।

झन्डै एक महिनाअघि सोलकै इथेवनमा हलोविन रमाइलोका लागि लाखौ मानिस जम्मा हुँदा निस्सासिएर १ सय ५८ जनाको मृत्यु भयो । अहिले एकै ठाउँमा धेरै मानिस जम्मा हुन परे कडा सुरक्षा नियम पालना गर्नुपर्छ । छेउमै प्रहरी छन् । दमकल, एम्बुलेन्स छन् । दरबार स्क्वायरमा केटी टेलिकम (कोरियाको ठूलो टेलिकममध्ये एक)ले हाई रिजोलुसनमा खेलको प्रत्यक्ष प्रशारण देखाउने व्यवस्था गरेको छ । मानिस धेरै हुने भएकाले दरबार स्क्वायरमा तीन वटा पर्दा राखिएका छन् ।

कोरियाली समय अनुसार रातको ठीक १२ बजे खेल सुरु भयो । खेल सुरु भएको पाँच मिनेटमा पोर्चुगलले गोल हानेपछि युवाहरू निराश देखिए । कोरियाली टिमका अहिलेका सबैभन्दा ठूला स्टार टोटनह्यामबाट खेल्ने सोन होङमिन नै हुन् । केही समयअघि क्लबका लागि खेल्दा उनी घाइते भएका थिए । त्यसैले अहिले कतार विश्वकपमा उनी मास्क लगाएर खेलेका छन् । उनको खुट्टामा बल पुग्दा कोरियाली समर्थकहरू दरबार स्क्वायर नै थर्किने गरी केही होला कि भनेर चिच्याउँछन्, ‘साराङ हे यो सोन ओप्पा’ (माया गर्छु सोन दाइ) ।

कोरियाली युवतीहरू दाइलाई ‘ओप्पा’ भन्छन् । अनि मन परेकी केटी वा प्रमिकाले पनि ‘ओप्पा’ नै भन्छन् । त्यसैले कसले भनेको त्यस अनुसार अर्थ लाग्छ । सोन कोरियाली युवतीका लागि आइडल ‘ओप्पा’ हुन् । उनी फुटबलर मात्रै होइनन् । स्टार हुन् । कोरियाका अधिकांश ठूला कम्पनीका उनी ब्रान्ड एम्बास्डर छन् ।

कोरियाले भन्दा पोर्चुगलकै खेलाडीको खेल राम्रो भएपछि केही युवा निराश देखिन्छन् । भित्रैदेखि स्वास तान्छन् उनीहरू, स्स्स्स्स । यो स्टाइल कोरियालीले दु:ख देखाउँदा व्यक्त गर्ने तरिका हो । फेरि युवाहरु हात हल्लाउँदै बीटीएसका गीत गाउँछन् । संसारभर चर्चित कोरियाली संगीतिक ब्यान्ड छ बीटीएस । त्यही ब्यान्डका गायक जन जङकुकले यही फिफा वर्ल्डकपका लागि गीत गाएका छन् । उनले विश्वकपको उद्घाटनका बेला पनि यो गीत गाएका थिए ।

'लुक हु वी आर, वी आर द ड्रिमर

वी मेक इट ह्यापन्, कज वी बिलिभ इट ।' अर्थात् (हेर्नुस् हामी को हौं ? हामी हौं स्वपन्द्रष्टा । सपनालाई हामी विपना बनाउँछौं ।विपनामा हामी विश्वास गर्छौं)

खेलको २७ मिनेटमा सोलदेखि ३ सय किलोमिटर दक्षिणमा पर्ने उल्सान हुन्डाइ क्लबबाट खेल्ने किम योङग्वानले गोल गरेपछि एकाएक महोल तातियो । किम कोरियाकै आई लिगको खेल खेल्छन् । शक्तिशाली देशहरुलाई हराउँदै शुक्रबार नै छिमेकी देश जापान नक आउट चरण पुगिसकेको छ । कोरियालीहरू जापानलाई भने खासै मन पराउँदैनन् । सन् १९१० देखि दोस्रो विश्व युद्धसम्म कोरियालाई उपनिवेश बनाएको रिस अहिले पनि उनीहरूमा देखिन्छ ।

‘उरी दो उल्लाखाएदे ओनुल’ हामी पनि माथि जानुपर्छ आज । झिनो स्वरमा भनेकाथे उनले । शायद उनैलाई विस्वास थिएन होला ।

खेलको निर्धारित समय सकिएर इन्जुरी सयममा कोरियाका उनै स्टार फुटबलर सोनले अर्का प्रिमियर लिग नै खेल्ने ह्वाङ् हि चाङलाई पास दिए । अन्तत: कोरियाले पोर्चुगललाई दुई गोल हान्यो । पोर्चुगलले एक मात्रै । अनि त कोरियाली समर्थकहरू भने खुसियालीमा दरबार स्क्वायर नै थर्काउने गरी चिच्याए । सोलको चिसो मौसम फेरि तात्तियो । खुसीले धेरैका आँखा रसाए ।

कोरिया पोर्चुगलको खेल सकिए पनि अर्को चरणमा कुन टोली पुग्छ टुङ्गो लागेको थिएन । उरुग्वे र घानाको खेल सकिएकै थिएन । एक छिन समय रोकियो । दरबार स्क्वायर शान्त भयो । पर्दामा कोरियाली खेलाडीले अर्को चरण पुगेकोमा खुसियाली मनाए । यता दरबार स्क्वायरका सबै कोरियाली चिच्याउन थाले ।

१२ वर्षपछि कोरिया नकआउट चरणमा पुग्यो । यसअघि पछिल्लो पटक सन् २०१० मा समूह चरण पार गरेको थियो भने सन् २००२ मा जापानसँगै कोरियाले आयोजना गरेको फिफा वर्ल्डकपमा सेमिफाइनल पुगेको थियो ।

प्रकाशित : मंसिर १७, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×