१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पश्‍चिम अस्ट्रेलियामा नेपाल महोत्सव

नारायण खड्का

अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियाको पर्यटकीय सहर पर्थमा नेपाल महोत्सव सम्पन्‍न भएको छ । नेपाली कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्नका लागि पर्थको मुख्य क्षेत्र फरेस्ट चेसमा ४ वर्षपछि आयोजना गरिएको थियो ।

पश्‍चिम अस्ट्रेलियामा नेपाल महोत्सव

महोत्सवमा विहानै सयौंको संख्यामा सहभागी नेपालीले सुरु गरेको प्रभातफेरिमा नेपालीमात्र नभएर अस्ट्रेलियालीका स्थानीय बासिन्दाले समेत सहभागिता जनाएका थिए । उनीहरुले महोत्सव, नेपालका बारेमा चासो र उत्साहमात्र ब्यक्त गरेनन् कि ताली बजाएर समेत स्वागत गरेका थिए । प्रभातफेरिलाई सुरक्षाकर्मीले स्कर्टिङ गर्दै सुरक्षा प्रदान गरेका थिए ।

नेपाली परम्परागत पोशाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचान सहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार सानो नेपालकै रुपमा परिवर्तन गरिदिएको थियो ।

प्रवासी नेपालीको संगठन एनआरएनएले गर्ने यस कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने मात्र नभएर अस्ट्रेलियामा नेपालीको पहिचानलाई अझ सुदृढ र सबल बनाउन भूमिका खेलिरहेको आयोजकको भनाइ छ । आयोजक समितिका संयोजक दीपक बस्नेतले नेपाली दोस्रो पुस्ता बढिरहेका कारण कार्यक्रमले उनीहरुलाई आफ्नो कलासंस्कृति र परम्परालाई नजिकबाट चिन्‍न र बुझ्न यस्तो कार्यक्रमले सहयोग पुर्‍याउने सुनाए । कार्यक्रममा नेपालीमात्र नभएर उल्लेख्य रुपमा विदेशीको समेत सहभागिता रहेको थियो ।

यस महोत्सवलाई सफल बनाउन यहाँका सबै नेपाली समुदाय मात्र नभएर काउन्सिल, स्थानीय सरकार अस्ट्रेलियाली नेताहरुकै महत्वपूर्ण साथ रहेको आयोजक संस्थाका डेपुटी युथ कोअर्डिनेटर उत्तम अधिकारीले सुनाए । कार्यक्रममा नेपाली खाना, व्यवसायका साथै नेपाली पर्यटकीय जानकारीसहितका स्टलहरु राखिएका थिए । कार्यक्रममा पश्चिम अस्ट्रेलियाका डेपुटी प्रिमियर, अस्ट्रेलियाका लागि नेपाली राजदूत, पर्थका मेयर, एनआरएनएका प्रतिनिधिका साथै विभिन्‍न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

महोत्सव सफल बनाउन स्थानीय काउन्सिल र राज्य सरकारले समेत प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुर्‍याएको थियो । करिब एक महिना अघिदेखि नै सहरको मुख्य भागमा काउन्सिलले प्रचारप्रसारका लागि बोर्ड राखिदिएको थियो भने गाडीहरुमा समेत प्रचार सामाग्री राखेर सुरु गरिएको थियो ।

महोत्सवमा स्थानीय सांगितिक ब्याण्ड, कलाकारका साथै दीपक बज्राचार्य, रीदम ब्याण्ड र कलाकार सन्दीप क्षेत्रीले प्रस्तुति दिएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?