कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोर्चुगलमा लमजुङका व्यवसायी गुरुङको निधन

आश गुरुङ

लमजुङ — पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका एक जना लमजुङका व्यवसायीको निधन भएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको त्यहाँस्थित नेपालीले बताएका छन् ।

पोर्चुगलमा लमजुङका व्यवसायी गुरुङको निधन

पोर्चुगलमा ५ वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गर्दै आएका गुरुङको शनिबार निधन भएको व्यावसायिक साझेदार एवं लमजुङ समाज पोर्चुगलका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङले बताए । उनका अनुसार शुक्रबार राति अबेरसम्म काइसोद्रेस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किने क्रममा गुरुङको एक्कासि टाउको दु:खेको जानकारी पाएपछि परिवार, साथीभाइ साथै आपतकालीन सेवाका डाक्टरको सहयोगमा उपचारको लागि अस्पताल पुर्‍याइएको थियो ।

तत्काल एम्बुलेन्स बोलाएर उपचारको लागि मार्टिममुनिजस्थित साओजोसे अस्पतालमा लगिएको र उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ‘रेष्टुरेन्टबाट घर फर्किने क्रममा उहाँको टाउको बेस्सरी दु:खेको खबर आयो । आपतकालीन डाक्टरको टिमले उपचार गर्दा नसकेपछि एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍यायौं,’ गुरुङले भने, ‘अस्पतालमा पनि उपचार सम्भव भएन । त्यसपछि ज्यान गयो ।’ पारिवारिक स्रोतका अनुसार गुरुङ उच्च रक्तचापका बिरामी थिए ।

परिवारका साथ विगत ९ वर्षदेखि पोर्चुगलमा बस्दै आएका भक्तराजको निधनले लमजुङ समाज पोर्चुगल स्तब्ध भएको समाजका अध्यक्ष गम्भीरजंग गुरुङले बताए । उनको निधनले समाज मर्माहत भएको उनले बताए । उनका अनुसार भक्तराजको शवलाई जन्मभूमि नेपाल (लमजुङ) पठाउने तयारी गरिएको र यसका लागि आर्थिक सहयोग गरिदिन लमजुङ समाज पोर्चुगलले सबैमा आग्रह गरेको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?