१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी लामा विजयी

नारायण खड्का

अस्ट्रेलिया — दक्षिण अस्ट्रेलियामा भएको स्थानीय निर्वाचनमा नेपाली मूलकी रेनुका लामा काउन्सलर पदमा निर्वाचित बनेकी छन् । लामा यस राज्यमा काउन्सलर पदमा जित हासिल गर्ने नेपाली मूलकी पहिलो महिला बनेकी छन् ।

अष्ट्रेलियाको स्थानीय निर्वाचनमा नेपाली मूलकी लामा विजयी

यसअघि न्यु साउथ वेल्स राज्यमा नेपाली मूलकी भद्र वाईबा पहिलोपटक काउन्सलर पदमा विजयी बनेकी थिइन् । हरेक ४ वर्षमा हुने स्थानीय निर्वाचनमा लामा दक्षिण अस्ट्रेलिया राज्यको मारियन काउन्सिलको वारिपरिङ्गा क्षेत्रबाट काउन्सलर पदमा उम्मेदवार बनेकी थिइन् । प्रवासी नेपालीहरूको संगठन एनआरएनएको दक्षिण अस्ट्रेलिया संयोजकसमेत रहेकी उनले आफ्नो जितले यस राज्यमा नेपालीको उपस्थितिलाई अझ सुदृढ बनाएको बताइन् ।

उनले आफू यस क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेको र यस क्षेत्रका समस्यालाई राम्रोसँग पहिचान गरेका कारण सबैको हितमा काम गर्नसक्ने सुनाइन् । आफूले एनआरएनए संयोजकका रुपमा र अन्य समयमा समेत सबै समुदायका लागि काम गरिरहेका कारण काउन्सिल निर्वाचनमा सफलता पाएको उनको भनाइ छ ।

‘जित-हार भनेको निर्वाचनको सामान्य प्रक्रिया भए पनि नेपाली मूलको उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेर निर्वाचित हुन पाउनु मेरो र यहाँका नेपाली समुदायका लागि गर्वको विषय हो ।’ उनले कान्तिपुरसित भनिन् । उनले स्थानीय समुदायले विश्वास गरेर काउन्सलर बनाएकोमा खुसी व्यक्त गर्दै सबै बहुसांस्कृतिक समुदायका लागि काम गर्ने सुनाइन् ।

यस राज्यको स्थानीय निर्वाचन यही महिनाको १० तारिखमा समाप्त भएको थियो । यहाँको स्थानीय निर्वाचन हुलाक मार्फत् हुने गरेको छ । जसका लागि मतदातालाई केही साता पहिलेदेखि नै मतपत्र वितरण गरिएको थियो । स्थानीय निर्वाचनमा मतदान गर्न संसदीय निर्वाचनजस्तो अनिवार्य नगरिएको भए पनि मतदाताले उल्लेख्य रुपमा सहभागीता जनाउने गरेका छन् । लामा उम्मेदवार बनेको क्षेत्रमा उनीसहित अन्य ५ जनाले उम्मेदवारी दिएका थिए भने यस क्षेत्रबाट दुई काउन्सलर चुनिने प्रावधान छ ।

प्रकाशित : कार्तिक २७, २०७९ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?