जापानमा नेपाली भाषा पाठशाला- प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा नेपाली भाषा पाठशाला

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको नागोया सहरमा धादिङका रेशम उप्रेतीको पहलमा नेपालीलाई मध्यनजर गर्दै नेपाली तथा जापानी भाषा कक्षा सञ्चालन भइरहेको छ । भाषा कक्षामात्र नभई नेपाली भाषा संस्कृति जोगाउने खालका साँस्कृतिक कार्यक्रम, शैक्षिक परामर्श कक्षा, जापानी भाषाको कारणले कुनै पनि नेपाली सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले सामाजिक परामर्श सञ्चालन भइरहेका छन् ।

शैक्षिक तथा रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेको जापानमा नेपालीको संख्या दिनानुदिन बढ्ने क्रम जारी छ । नेपालीको संख्या बढेसँगै जापानमै बच्चा जन्माउने वा नेपालबाट जापान आउने क्रम बढ्दो छ ।

नेपालबाट बीचमा जापान आएका बच्चा जति नै मिहिनेत गरे पनि भाषाको कारणले आफूले चाहेअनुसारको क्षमता देखाउन सकिराखेका हुँदैनन् । अभिभावकले पनि भनेअनुसारको मार्गनिर्देशन गर्न सकिरहेका हुँदैनन् । फरक विषयवस्तु र फरक भाषाको कारण ५–७ वर्ष जापानमा बसेर पढे पनि उनीहरुको भाषाको अवस्था भने १, २ कक्षामा पढ्ने जापानीज वा सो भन्दा बढी नदेखिएको धेरै उदाहरण छन् । तर नेपाली भाषा भने उनीहरु बिस्तारै बिर्सिंदै गइरहेका हुन्छन् । त्यसैगरी जापानमा जन्मेका बालबच्चाहरु अवश्य नै नेपाली भाषामा दख्खल हुँदैनन् ।

यतिसम्म कि आमाबुवा जापानी भाषा बोल्न, बुझ्न सक्दैनन् र बच्चाहरु नेपाली भाषा बुझ्न र बोल्न पूर्ण रूपमा सक्दैनन् । जापानमा यस्ता समस्याहरु धेरै लामो समयदेखि ब्राजिल, फिलिपिन्स र चाइनीजहरुले वर्षौंदेखि भोग्दै आएका थिए भने केही वर्षअघिदेखि नेपाल र नेपालीले भोग्दै आएका छन् । आफ्नो देशको भाषा पनि राम्ररी बोल्न, लेख्न नसक्ने वा बिर्संदै जाने र अरु देशको भाषा पनि विद्यालय वा अन्य काम गर्नका लागि पूर्ण रूपमा नआउने समस्यालाई अंग्रेजीमा ‘डबल लिमिटेड’ भनिन्छ ।

अहिले जापानमा नेपाललगायत अन्य मूलका बालबच्चाहरुमा ‘डबल लिमिटेड’ समस्या टड्कारो रूपमा देखिन थालेको छ । जापानमा जन्मेका बच्चाहरु ठूलो वा जान्ने–बुझ्ने भइसकेपछि आफू कुन देशको नागरिक हो ? आफ्नो परिचय के हो ? जस्ता संकटबाट गुज्रँदैछन् । जापानी समुदायले उनीहरूलाई विदेशीका रूपमा व्यवहार गर्ने र ती बच्चाहरु जापानमा नै हुर्के सबैथोक जापानमै गरेकोले उनीहरुले नेपाल वा नेपाली हुँ भन्ने कुरा गर्दैनन् । त्यसपछि उनीहरुले आफूले आफैलाई सोध्छन् ‘म को हुँ ? र म कहाँको हुँ ?’ यी र यस्तै समस्या जापानमा रहेका नेपाली बच्चाबच्चीले सामना गर्दै आइरहेका छन् ।

यो समस्या प्रत्यक्ष रूपमा देखेको र लामो समय जापानको नागोया सहरमा बसेर त्यहींको विश्वविद्यालयबाट विद्यावारिधि सकेपछि अहिले सरकारी विद्यालयमा अध्यापन गराइरहेका धादिङका रेशम उप्रेतीले यस्तो समस्यालाई समाधान गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली तथा जापानीज भाषा कक्षा सञ्चालन गरिरहेका छन् ।

उप्रेतीले चलाएको भाषा स्कुलका कारण हप्तामा ३ पटकभन्दा बढी विद्यालय नगएका बच्चाहरु पाँचै दिन विद्यालय गएको, बोल्ने, खेल्ने साथी नभएकै कारण ‘होम सिक’ भई पढ्न नसकेका बच्चाहरु आफ्ना पढाइमा फर्केका बताउँछन् उप्रेती । उनी भन्छन्, ‘अहिले मैले चलाएको नेपाली भाषा पाठशाला तथा जापानी भाषा कक्षामा २४ जना नेपाली तथा जापानीज पढ्ने विद्यार्थी छन् ।’ ३५ जनाभन्दा बढी स्वयम्सेवक शिक्षक छन् । यो संख्या बिस्तारै बढ्दै जाने उनले बताए । उप्रेती लगायत कुनै पनि स्वयंसेवक शिक्षकले पारिश्रमिक लिने छैनन् । कुनै पनि विद्यार्थीबाट शुल्क लिने गरिँदैन । सबै पाठ्यसामग्री तथा कक्षाकोठाको व्यवस्थापन ‘मेइजी सामुदायिक केन्द्र’ ले गर्छ ।

नेपाली भाषा, संस्कृति नेपाली बच्चाहरुलाई सिकाउने र जापानी समुदायसम्म पुऱ्याउने उद्देश्यले गत जुलाई ६ मा नेपाली र जापानीजबीच बहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । यस्ता कार्यक्रम तथा भाषा कक्षा जापानका विभिन्न ठाउँमा गर्नसके नेपाली भाषा संस्कृतिको जर्गेना हुने र विदेसिएका नेपालीबीच मिलन हुने उप्रेतीले बताए । भाषा कक्षामा सबै नेपाली विद्यार्थी हुने भएकाले एक अर्काबीच साथी बन्ने सम्भावना हुने भन्दै आफैंले थालेको कामबाट खुसी भएको उप्रेतीले बताए ।

प्रकाशित : कार्तिक २२, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

समस्यामा परेको देउराली सहकारीले ठूला बचतकर्तालाई दिन थाल्यो जग्गा

कान्तिपुर संवाददाता

काठमाडौँ — तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ठूला बचतकर्तालाई जग्गा दिन थालेको छ । वित्तीय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम नगद फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विवादका बीच सहकारीले सेयर सदस्यहरुको भेला गरेर नगद फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।

प्रतिबद्धताअनुसार जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए । ‘जनताले रातदिन मेहनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व हो’ उनले भने ‘अरु बचतकर्ताले पनि क्रमिक रुपमा बचत पाउँछन् ।’ सहकारी समस्यामा परेपछि केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयूक्त नाममा दर्ता रहेको ‘गृहम विल्डर्स एण्ड कन्सल्ट्यान्स’को नाममा केही दिनअघि नवलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउराली सहकारीले जनाएको छ ।

सहकारीका अनुसार साना बचतकर्ताहरुलाई भने आलोपालो प्रतिव्यक्ति दैनिक ५ हजारका दरले संस्थाका ३ वटै शाखाबाट बचत फिर्ता दिइँदै आएको छ । एक विज्ञप्ति जारी गर्दै सहकारीले भनेको छ ‘तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेका छौं । हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पूर्ण बचतकर्ताहरुलाई बचत रकम फिर्ता हुनेमा विश्वास दिन चाहन्छौं ।’ धैर्यता र संयमता अपनाउन सहकारीले आम बचतकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित : कार्तिक २२, २०७९ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×