
अस्ट्रेलिया — अस्ट्रेलियामा यस वर्ष तिहार धुमधामसँग मनाइएको छ । अस्ट्रेलियाका सहरी क्षेत्रका साथै ग्रामीण भेगमा रहेका नेपालीले उल्लाससहित भाइटीका लगाएका छन् ।

दुई वर्षसम्म कोरोना संक्रमणका कारण आफ्नो चाडपर्व मनाउन नपाएका नेपालीले यस वर्षको तिहारलाई धुमधामसँग मनाएका छन् ।
नेपालमा दाजुभाइ भएका चेलीले आफन्त वा अन्य कसैलाई दाजुभाइ बनाएर समेत तिहारको टीका थापे भने कसैले आफ्नै छोरीबाट समेत टीका लगाएका थिए ।
यस वर्ष अस्ट्रेलियामा सोमबार र मंगलबार दुईदिन लक्ष्मीपूजा गरिएको थियो भने ६ राज्य तथा २ टेरिटोरी रहेको अस्ट्रेलियाको सहरी क्षेत्र मात्र नभएर ग्रामीण भेग समेत दीपावलीले रंगीन बनेको थियो ।
विभिन्न राज्यमा देउसीभैलो प्रतियोगिता समेत आयोजना गरिएको थियो विभिन्न संघसंस्थाले तिहारको अवसरमा विभिन्न सामूहिक कार्यक्रम आयोजना गरिएको थियो ।
यस वर्ष यहाँ रहेका दोस्रोपुस्ताका नेपालीमा तिहारको रौनक अलग देखिएको थियो । साना बालबालिकादेखि युवाहरुले समेत तिहार धुमधामसँग मनाएका थिए । उनीहरुले आफ्ना चेलीबाट टीका थाप्नुका साथै देउसीभैलो समेत खेलेका थिए ।